August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

दाङमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु, खेल पर्यटन विकासमा मुख्यमन्त्रीको जोड

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

Advertisement

प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङको घोराहीमा बुधबारबाट सुरु भएको मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको योगदानले प्रदेशको शिर उँचो बनाएको बताए । उनले खेलकुदले अनुशासन सिकाउने, व्यक्तिलाई आत्मअनुशासित बनाउने र राष्ट्रप्रति बफादार नागरिक तयार पार्ने माध्यम भएको उल्लेख गरे ।

खेलकुदमार्फत युवालाई सही मार्गमा ल्याउन सकिने धारणा उनको छ । उनले खेलकुदको माध्यमबाट आर्थिक गतिविधि बढ्ने र स्वास्थ्य प्रवर्द्धनमा टेवा पुग्ने बताए । ‘स्वास्थ्यका निम्ति खेल, राष्ट्रका निम्ति खेल’ भन्ने भावनासहित सधैं स्वस्थ, अनुशासित र खुशी जीवनतर्फ अग्रसर हुन उनले आग्रह गरे । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भलिबल प्रतियोगिताको उद्घाटन गरिएको हो ।

प्रतियोगितामा प्रदेशका प्रत्येक जिल्लाबाट महिला तथा पुरुष टोली सहभागी भएका छन् । प्रत्येक टोलीमा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टोलीले ६५ हजार, तृतीयले ३५ हजार र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।

गत वर्ष पुरुषतर्फ गुल्मी र महिलातर्फ पाल्पा प्रथम भएका थिए । यस वर्ष पुरुष र महिला दुवै प्रतियोगिता एकैसाथ सञ्चालन गरिएको हो । अघिल्लो वर्ष पुरुष प्रतियोगिता अर्घाखाँचीको सन्धिखर्कमा र महिला प्रतियोगिता दाङको घोराहीमा आयोजना गरिएको थियो ।