भैरहवामा ‘टूर प्याकेज डेभलपमेन्ट तालिम’ सुरु, पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास


भैरहवा– रुपन्देहीको भैरहवामा ‘टूर प्याकेज डेभलपमेन्ट तालिम’ सुरु भएको छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को आयोजना, नेपाल पर्यटन बोर्ड र युनडीपीको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
लुम्बिनी क्षेत्रको पर्यटकीय विकासका लागि आगामी दिनमा टूर प्याकेज कसरी बनाउने र प्याकेज बनाउँदा कस्ता कुराहरुमा ध्यान दिने भन्ने बारे तालिमा सहभागीलाई सिकाइने छ । ४ दिन सम्म चल्ने उक्त तालिमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँनले तालिमबाट सिकेका कुराहरु सदुपयोग गर्न आग्रह गरे ।
रुपन्देही मात्रै नभई मुलुकमा नै पर्यटनको उच्च सम्भावना रहेकाले यसको सही सदुपयोग गरी आर्थिक उपार्जन गर्नुपर्नेमा खाँनले जोड दिए । उनले पर्यटन क्षेत्रको विकास गर्दा रोजगारी सिर्जना हुने र अन्ततः मुलुकको समृद्धि हुने बताए । प्रदेशका गन्तव्यहरुलाई समेटेर प्रभावकारी टूर प्याकेज बनाउनुपर्नेमा उनको जोड छ ।
तालिमबाट प्रत्क्षय रुपमा लाभ लिएर आफ्नो जीवनको लाइफलाइन बनाउन सके भोलीका दिनमा बिदेशिनु नपर्ने बताए । पर्यटन क्षेत्रमा थुप्रै लगानीकर्ताहरुको लगानी रहेकाले रुपन्देहीमा अवसर नै अवसर र सम्भावना रहेको खानले जनाए ।
नाट्टा केन्द्रीय सदस्य विजय रिजालले लुम्बिनीबाट दक्ष जनशक्ति निर्माण गरी पर्यटकीय प्याकेजको विकास गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । नाट्टा लुम्बिनीका पूर्वअध्यक्ष सागर अधिकारीले तालिमले भोलिका दिनमा पर्यटक क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रमा पहिलोपटक टूर प्याकेट केन्द्रित कार्यक्रम गरिएको जनाउँदै सिके र बुझेका कुराहरुलाई व्यवहारमा उतार्दा समग्र पर्यटन क्षेत्र लभान्वित हुने बताए । तालिम पछि लुम्बिनीको पर्यटन क्षेत्रमा नयां आायाम थपिने अधिकारीको विश्वास छ ।
नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रबहादुर थापाले लुम्बिनी क्षेत्रमा टूर प्याकेज भएन भन्ने गुनासो बढीरहेका बेला यस तालिमबाट क्षमता अभिबृद्धि भई टूर प्याकेज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले तालिममा सहभागीहरुलाई टूर प्याकेज कसरी बनाउने, कस्ता विशेषताहरु समेट्ने लगायतका समग्र विषयमा जानकारी प्रदान गरिने जनाए ।
अध्यक्ष थापाका अनुसार तालिममा रुपन्देही, कपिलवस्तु र पाल्पा गरी तीन जिल्लाका ३० जना सहभागी छन् । यो तालिममा सहभागीलाई नेपालको टुर प्राक्टिस, पर्यटन क्षेत्र, टुर प्याकेज बनाउने तरिका, विदेशी पर्यटकको आवश्यकता, सरकारी नीति, विदेशी नीति, गन्तव्यको पहिचान लगायतका विषयमा जानकारी दिइनेछ । सहभागीलाई पर्यटन विज्ञ विनय शाक्य र बरुण ज्ञवालीले प्रशिक्षण दिनेछन् ।








प्रतिकृया दिनुहोस्