August 8, 2026, Saturday
२०८३ श्रावण २३ शनिबार

पाल्पाको अमरनारायण मन्दिर अस्तव्यस्त

Advertisement

पाल्पा–सदरमुकाम तानसेन नगरपालिका–२, अमरनारायण मन्दिर अस्तव्यस्त बनेको छ । मर्मत र संरक्षण नहुँदा मन्दिरको फुलबारी पनि १० वर्षदेखि लथालिङग बनेको छ । फूलबारीमा करिब ४ करोड खर्च गरेर निर्माण गरिएका भौतिक संरचना काम नलाग्ने बनेका छन् । करोडौं खर्च गरेर निर्माण गरिएका भौतिक संरचना छियाछिया भएका छन् । आवश्यकता भन्दा धेरै संरचना निर्माण गरेकाले समस्या भएको हो ।

Advertisement

नगरपालिकाले स्थानीयलाई संरचनाप्रति जिम्मेवार नबनाउ“दा संरक्षण हुन नसकेको सर्वसाधरणको भनाई छ । जिर्णोद्वार, परिसर सौन्दर्यकरणका काम थाल्ने बेलामैं स्थानीयले नगरपालिका समक्ष लगत इष्टिमेट भन्दा फरक काम भएको गुनासो गरेका थिए । यसले मन्दिर क्षेत्रको ऐतिहासिक र पुरातात्विक अस्तित्व संकटमा परेको स्थानीयको गुनासो छ ।

विश्व बैंकको ऋण सहयोगमा २०७० सालमा करिब ४ करोड खर्च गरेर अमरनारायण फुलबारी क्षेत्रको सौन्दर्यकरण गरिएको थियोे । मन्दिर, त्यसको परिसर, पौवा लगायत निर्माणका काम भएका थिए । नगरपालिकाले अहिलेसम्म ऋण तिर्न सकेको छैन । ८० लाख भन्दाबढी तिर्न बाँकी छ । मन्दिरबाट आम्दानी शुन्य छ । मन्दिर क्षेत्रमा पार्क, बाल उद्यान, विवाह मण्डप, पुरातात्विक पर्खाल मर्मत, पौवा, ‘सौभिनियर’ पसल, सार्वजनिक शौचालय, शिवमन्दिर, नागपोखरी मर्मत लगायतका काम गर्नुपर्ने लगत इष्टिमेटमा उल्लेख थियो । उक्त स्टीमेट अनुसार काम नभएको स्थानीयको गुनासो छ ।

नगरपालिकाले सरसफाइका लागि दैनिक काम गर्ने कर्मचारी व्यवस्थापन गर्न नमानेकाले अहिलेको अवस्था आएको वडाध्यक्ष महेश्वर श्रेष्ठले बताए । ‘अमरनारायण फुलबारी सौन्दर्यकरण गरियो, तर अलपत्र छ,’ उनले भने, ‘फुलबारी सञ्चालन गर्न नगरपालिकासंग धेरै पटक माग गरियो तर हाम्रो वडाको बजेटबाट अपुग भएकाले संचालन गर्न सकेका छैनौं ।’ याहाँ काम भइरहेको बेलामै निर्माण कम्पनी र नगरपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको थियो । त्यसले पनि वर्षौसम्म काम पूरासमेत हुन सकेन ।

निर्माण व्यवसायीले धरौटी फिर्ता पाएका छैनन । ढिला गरी काम सम्पन्न भए पनि फुलबारीको पुनः मर्मत लगायत कार्यमा नगरपालिकाको ध्यान पुगेको छैन । २०७४ र २०७९ मा तानसेन नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको ध्यान अमरनारायण फुलबारीमा पुगेन । ऐतिहासिक ढुंगे पर्खाल, अन्य संरचना निर्माणमा लापरवाही भएको स्थानीयले गुनासो नगरपालिका समक्ष राखेका थिए । निर्माण व्यवसायीलाई धरौटी फिर्ता दिने काम बाहेक काम गर्न नगरपालिकाले ध्यान नदिएको स्थानीय बताउछन् ।

नगरपालिकाका प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठका अनुसार निर्माणपछि एक पटक मर्मत गरिएको थियो । अहिले पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । ‘सरकारी स्रोत खर्च गरेर मर्मत गरेको संरचना हो,’ उनले भने, ‘नगरपालिका वा अन्य स्रोत जुटाएर भए पनि मर्मतको काम अगाडि बढाइने छ ।’ यसलाई मर्मत सम्हारसहित पुनःजागृत गर्दा नगरको सौन्दर्यकरण हुने उनले बताए ।