August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

चैत्र २५ देखि मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता, तयारी पूरा

Advertisement

दाङ– लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता चैत्र २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परिषद्का सदस्य सचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेल मैदान, व्यवस्थापन, आवास तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको जानकारी दिए ।

Advertisement

प्रतियोगितामा प्रत्येक जिल्लाबाट महिला र पुरुष टिम सहभागी हुनेछन् । प्रत्येक टिममा १० जना खेलाडी र एक जना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने नकआउट प्रणालीमा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचर्याले गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगिताका विजेताले नगद १ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्वितीय हुने टिमले ६५ हजार, तृतीयले ३५ हजार र सान्त्वनाले १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही ५ हजार नगदसहित पुरस्कार प्रदान गरिनेछ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिताले प्रदेशस्तरमा भलिबल खेलको विकास र खेलाडीको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

गत बर्ष पुरुष तर्फ गुल्मी र महिलातर्फ पाल्पा प्रथम भएका थिए । यसपाली पुरुष र महिलाको प्रतियोगिता एकैसाथ हुन थालेको हो । अघिल्लो बर्ष पुरुषको अर्घाखाँची सन्धिखर्कमा र महिलाको दाङको घोराहीमा भएको थियो ।