July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि तीन तहका सरकारविरुद्ध लडेका बख्रेल

Advertisement

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा वर्षाैदेखिको समस्या बन्दै आएको छ, फोहोरमैला व्यवस्थापन । नगरमा फोहोरमैला व्यवस्थापन अव्यवस्थित बन्दा सबै क्षेत्र मर्कामा छन् । स्वयं सिद्धार्थनगरका जनप्रतिनिधि र कर्मचारीको पनि टाउको दुखाई भइरहेको छ । नगरपालिकाले फोहोर पहिला वडा नम्बर १ को मेउडिहवास्थित डण्डा खोला छेउमा डम्प गर्दै आएको थियो । तर, स्थानीयको विरोधले गर्दा अहिले फोहोरलाई सोही वडाको डण्डा खोला छेउमा डम्प गरिएको छ ।

Advertisement

सिद्धार्थ राजमार्गको सडक छेउ रहेकाले त्यहाँ बसोबास गर्ने स्थानीय, ओहोरदोहोर गर्ने पर्यटक र आमसर्वसाधारण सबैले निकै दुर्गन्ध भोग्नु परेको छ । फोहोरमैलाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई छ । तर नगरमा बढ्दो राजनीति खिचातानीका कारणले गर्दा उचित व्यवस्थापन हुन सकेको छैन् । खोला छेउमा अनियन्त्रित डम्पिङ साइटका कारण फैलिएको तीव्र दुर्गन्ध र प्रदूषणले गर्दा स्थानीय बासिन्दालाई निकै समस्या भएको छ । भारतको सिमानाबाट गौतम बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्ने बाटोमै पर्ने भएकाले पर्यटकमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।

मानव स्वास्थ्यमा असर पार्ने उक्त फोहोरको थुप्रो (डम्पिङ साइट) हटाउन तथा सञ्चालनमा रोक लगाउन माग गर्दै अधिवक्ता विवेक बख्रेल र कानून विषयकी छात्रा अन्जली सिलवालले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । अधिवक्ताद्वयले संघ, लुम्बिनी प्रदेश, सिद्धार्थनगर नगरपालिका र सिद्धार्थनगर–१ तथा नेपाल सरकारविरुद्ध परमादेश मागसहित रिट दर्ता गरेका हुन् । रिट दर्ता पछि पेशी सुनुवाइका क्रममा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

उक्त रिटमा सिद्धार्थनगर अन्तर्गत पर्ने डम्पिङ साइट अनियन्त्रित रहेको दाबी गरिएको छ । उक्त क्षेत्रबाट डम्पिङ साइट हटाउन तथा सञ्चालनमा रोक लगाउन माग गरिएको छ । नगरपालिकाका बासिन्दाले फोहोरको दुुर्घन्धले गर्दा घरभित्रै बस्न पनि सकस भएको उल्लेख गर्दै समस्या समाधानका लागि नगरपालिकामा पटक–पटक निवेदन दिएका छन् । यही विषयमा पटकपटक स्थानीयले आन्दोलन समेत गरिसकेका छन् । उनीहरुको आन्दोलनले सार्थकता पाउन सकेको छैन । नगरपालिका गम्भीर नहुँदा जनस्वास्थमा प्रत्यक्ष असर गरिरहेको स्थानीयको गुनासो छ ।

काभ्रेपालनचोकको पाँचखाल–३ मा जन्मिएका विवेक जेनजी उमेर समूहका कानुन व्यवसायी हुन् । उनको सानैदेखि अन्याय नसहने बानी थियो । उनी काठमाडौंमा बसिरहेका छन् । कक्षा ३ सम्म काभ्रेपालनचोकमै पढेका उनको परिवार त्यहाँबाट बसाइँ सरेर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका आएको हो । अहिले लुम्बिनीमै बसोबास छ । ‘बाल्यकाल पाँचखालमा बित्यो,’ उनले भने, ‘बाँकी उमेर रुपन्देहीमै बिताउने हो ।’ गाउँकै विद्यालयबाट कक्षा १० उत्तीर्ण उनी उच्च शिक्षा हासिल गर्न भैरहवा आएका थिए । यहाँ कोठा भाडा लिएर बसेका थिए ।

भलवारीको सेन्ट जोसेफ साइन्स स्कुलबाट उच्च माध्यामिक तह उत्तीर्ण गरेका छन् । लगत्तै भैरहवा बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भए । उनले विज्ञान विषय छनोट गरे । उनको इच्छा बीएस्सी पढ्ने थिएन । त्यसैले कानुन अध्ययन गर्न सन् २०१८ मा काठमाडौं गएका थिए । काठमाडौं पुगेर कानुनको ब्रिज कोर्स अध्ययन गरे । प्रवेश परीक्षा उत्तीर्ण गरेपछि चक्रवती हावी ल कलेजमा भर्ना भए । सन् २०२४ सालमा कानुनको अध्ययन पूरा गरेर वर्षदिनमै लाइसेन्स निकाले । त्यसपछि उनले काठमाडौं महानगरपालिकाभित्र सडक व्यवसायीलाई उचित स्थानमा सारेर व्यवसाय गर्न पाउनु पर्छ भनेर पहिलो मुद्दा दर्ता गराए ।

नागरिकलाई अभद्र व्यवहार गरी कुटपिट गरेर सामान नष्ट गर्न नमिल्ने भन्दैं काठमाडौं महानगरबिरुद्ध मुद्दा हालेका थिए । माग अनुसार अदालतले महानगरलाई उचित ठाउँ खोजेर अध्ययन गरी मिल्ने अनुसार व्यवस्था गर्नु भनेर आदेश गरेको बिबेकले बताए । निजी विद्यालयले नेपाली भाषामा कुराकानी गरे वापत विद्यार्थीबाट जरिवाना अशुल्ने गरेको भन्दैं दोस्रो मुद्दा हालेका थिए । उनको मुद्दामा फैसला सुनाउँदैं उच्च अदालतले हरेक विधार्थीले आफ्नो मातृभाषा प्रयोग गर्न पाउने मौलिक अधिकार रहेको जनाएको थियो । यी लगायत अहिलेम्म ५ वटा मुद्दामा बहस पैरवी गरिसकेका छन् ।

सिद्धार्थनगरले यसअघि फोहोर व्यवस्थापन गर्न भन्दै ओमसतियामा ६ विघा जमिन किनेको छ । तर, त्यहाा राजनीतिक खिचातानी हुँदा र स्थानीयको विरोधले व्यवस्थापन हुन सकेन । त्यसबेला एशियाली विकास बैंकले उपलब्ध गराएको ३२ करोड बढी रकम फ्रिज भएको थियो । अहिले खोला छेउमा फोहोर डम्प गर्दा दुर्गन्ध फैलिँदो छ । फोहोरकै कारण जलचर र थलचरसँगै मानवीय संकटको जोखिम बढीरहेको बख्रेल बताउँछन् ।

राजमार्ग छेउ भएकाले ओहोरदोहोर गर्ने यात्रु र सर्वसाधरणले पनि नाक थुनेर हिंड्नुपर्ने बाध्यता छ । नजिकै नुन गोदाम, सशस्त्र प्रहरीको बीओपी र करोडौं खर्चेर बनाइएको पर्यटकीय गेट छ । तर, फोहोरले पर्यटक अडिनै मुस्किल पर्ने गरेको छ । यस्तै, नजिकै रहेको प्रतीमान–नीमा मेमोरियल हेल्थ इन्सिच्युटका विद्यार्थी फोहोरको गन्धले आकुलब्याकुल छन् । बस्तीका बासिन्दालाई उस्तै सास्ती छ । बख्रेलले यी सबै कारण देखाउँदै फोहोर तत्काल व्यवस्थापन गर्न माग गरेका छन् ।