July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

पत्रकार, विद्यार्थी, साहित्यकार, कर्मचारी र खेलाडी नगदसहित सम्मानित

Advertisement

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले विभिन्न विधामा योगदान पुर्याउने तथा उत्कृष्टता हासिल गर्ने व्यक्तिलाई सम्मान गरेको छ । नगरपालिकाको प्रशासनिक भवन उद्घाटनको अवसरमा सोमबार आयोजित कार्यक्रममा पत्रकार, विद्यार्थी, साहित्यकार, कर्मचारी र खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

Advertisement

पालिकाले भाषाको क्षेत्रमा योगदान गरेको भन्दै नगरका पूर्व उप–प्रमुख एवं बरिष्ठ साहित्यकार बुँद रानालाई सम्मान गरेको छ । त्यस्तै साहित्यतर्फ विजयगोविन्द श्रेष्ठ र संस्कृततर्फ संस्कृत विद प्रा.डा गितु गिरीलाई सम्मान गरिएको छ । कलातर्फ वाँसुकी शमशेर जबरालाइ नगदसहित सम्मान गरिएको थियो । उनहीरुलाई जनही २० हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको हो ।

यस्तै, पत्रकारिता मार्फत् नगरको विकासमा योगदान पुर्याएको भन्दै ७ जना पत्रकारलाई सम्मान गरिएको छ । पालिकाले स्थापना गरेको अक्षय कोष व्यवस्थापन कार्यविधि २०७६ अनुसार वर्ष २०८० को पुरस्कारबाट लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, पूर्वअध्यक्ष तथा सल्लाहकार दीपेश पछाई र शारदा मल्ललाई सम्मान गरिएको छ ।

यस्तै, वर्ष २०८१ को पुरस्कारबाट पत्रकार शम्भु पन्त, शारदा मल्ल, मोहमद हविव तथा स्वर्गीय मनोरन्जन शर्मालाई मरोपराणन्त समान गरिएको छ । पन्त र मल्ल प्रेस क्लबका सल्लाहकार हुन् भने हविव कार्यसमिति सदस्य हुन् । स्वर्गीय शर्माको पुरस्कार धर्मपत्नी सरिता सापकोटाले ग्रहण गरेकी थिइन् । उक्त पुरस्कारको राशी २० हजार छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा स्थापित सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकारलाई सम्मानित गरिएको छ । पत्रकार पुनहरि बेल्बासे र शशि पन्थीलाई नगद बीस हजारसहित समान गरिएको हो । उक्त पुरस्कारको राशी पनि २० हजार नै छ । पन्थी प्रेस क्लबका सचिव हुन् भने बेल्वासे निवर्तमान सहकोषाध्यक्ष हुन् ।

यस्तै, खेलकुद तथा खेलाडी अक्षयकोषबाट ७ खेलाडीहरुलाई सम्मान गरिएको छ । फुटबलतर्फ किसन थापा, तेक्वान्दोतर्फ सुमन पौडल र मोहम्मद रफिक, हक्कीतर्फ विजयसिंह ज्ञवाली, क्रिकेटतर्फ शुसान्त थापा र आरिफ खानलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । यस्तै, कार्यक्रममा अवकास प्राप्त तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।