बिचौलियाको आरोपमा दाङका मालपोत कार्यालयबाट १६ जना पक्राउ


दाङ — प्रहरीले दाङको तुलसीपुर र लमहीबाट १६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बिचौलियाको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । मालपोत कार्यालय तुलसीपुरबाट १० र मालपोत कार्यालय लमहीबाट ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा लेखापढी व्यवसायी र सेवाग्राही छन् । कार्यालयभित्र पसेर विभिन्न फाँटमा कागजपत्र खोतल्ने काम गरिरहेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
लेखापढी व्यवसायीले भने कानुनबमोजिम इजाजत लिएर काम गरिरहेका लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले दुःख दिएको गुनासो गरेका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन लमहीका सचिव हिमलाल सुवेदीले प्रेस विज्ञप्ति जारी गरी कानुनअनुसार कामको सिलसिलामा कार्यालयमा गएका लेखापढी व्यवसायीलाई पक्राउ गरिएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका छन् ।
लेखापढी गर्न पाउने हकलाई प्रहरीले निस्तेज पार्न खोजेको उल्लेख गर्दै उनले पक्राउ गरेकालाई बिनासर्त तत्काल रिहा नगरे सम्पूर्ण भूसेवा बन्द गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।








प्रतिकृया दिनुहोस्