August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

भैरहवामा चैत्र ३० गते ‘रैथाने सडक खाना महोत्सव’

Advertisement

भैैरहवा– आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै भैरहवामा नयाँ वर्ष–२०८३ को पूर्वसन्ध्यामा रैथाने सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रूपन्देहीको आयोजनामा ‘सिद्धार्थ रैथाने सडक खाना महोत्सव’ हुन लागेको हो । यो महोत्सव संगठनको पाँचौं शृङ्खला हो । आइतवार भैरहवामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाले यस पटकको खाना महोत्सव लोपोन्मुख स्थानीय रैथाने खानालाई लक्षित गर्दै आयोजना गरिएको जानकारी दिएको छ ।

Advertisement

संगठका अध्यक्ष राजेश महोत्रा क्षेत्रीले लोपोन्मुख अवस्थामा पुगेका विभिन्न समुदायका स्थानीय रैथाने खानाका परिकारको संरक्षण गर्ने र आन्तरिक तथा बाह्य पर्यटक माझ चिनाउने उद्देश्यले रैथाने सडक खाना महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवले यस क्षेत्रको पर्यटन विकास र आर्थिक चलायमान बनाउन सहयोग पुग्ने जनाए ।

महोत्सव आउँदो चैत ३० गते भैरहवाको रंगशाला रोडमा साँझ ७ बजेदेखि राति १२ बजेसम्म संचालन हुने छ । महोत्सवमा थारु, मगर, नेवारी, गुरुङ लगायत मधेशी समुदायका विभिन्न रैथाने खानाका परिकार उपलब्ध हुने छन् । रैथाने खानाको साथमा भैरहवा र आसपास क्षेत्रका विभिन्न ठूला तारे होटलहरुको खानाको परिकारका स्टल पनि महोत्सवमा रहने छ ।

‘विभिन्न जाती तथा समुदायमा आधारित रैथाने खानाका परिकारहरु लोपोन्मुख अवस्थामा पुगेकाले महोत्सवमा पहिलो प्राथमिकतामा रैथाने खानाको स्टललाई दिइएको छ’, महोत्रा क्षेत्रीले भने, ‘महोत्सवमा उपलब्ध हुने सवै खालका खाना बिशेष छुटका साथ सहुलियत दरमा उपलब्ध हुने छन् ।’

सुलभ मूल्यमा परिकार उपलब्ध गराउनका लागि सवै स्टलमा खानाको मूल्यसूचि अनिबार्य रुपमा राख्नु पर्ने र यस वारेमा अनुगमन गर्न समिति गठन गरिएको छ । आयोजकका अनुसार, महोत्सवमा भारतीय र स्वदेशी गरी २५ देखि ३० हजार सहभागी हुने र १ करोड रुपैयाँ भन्दा धेरैको कारोवार हुने अनुमान गरिएको छ । ८० वटा खानाको स्टल रहने उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार सहितको सांस्कृतिक कार्यक्रम पनि समावेश छ ।

यो खाना महोत्सवले भैरहवाको व्यवसाय प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको पुनर्उत्थान गर्ने अपेक्षा राखिएको संगठनका महासचिव बालबहादुर घिमिरे (सुनिल)ले बताए । सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली, होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन लुम्बिनी प्रदेशका महासचिव गणेश बेल्बासे, चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिमबहादुर खत्री, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष अध्यक्ष चन्द्रबहादुर थापा, सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष राजन रसाइली, संगठनका बरिष्ठ उपाध्यक्ष लीलाधर भट्टराई लगायतले बोल्दै उक्त महोत्सव सफल पार्न लागिपर्ने जनाए ।