July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

बैशाख २ देखि रूपन्देहीमा आर्थिक गणना

Advertisement

भैरहवा– रुपन्देहीमा दोस्रो राष्ट्रिय आर्थिक गणना हुँदैछ । आगामी वैशाख २ गतेबाट गणना सुरु हुने भएको हो । जिल्लास्थित आर्थिक गणना कार्यालयद्वारा बिहीबार भैरहवामा आयोजित सचेतना गोष्ठीमार्फत् यस्तो जानकारी गराइएको हो ।

Advertisement

कार्यालय प्रमुख विपिनकुमार पंजियारले गत चैत १ गतेदेखि असार मसान्तसम्म गणना अवधि निर्धारण गरिएको बताए । उनका अनुसार रुपन्देहीमा भने वैशाख २ गतेदेखि असार ७ गतेसम्म गणकहरू फिल्डमा परिचालन हुनेछन् । यस अवधिमा जिल्लाभर १ सय ६ जना गणक खटाइने उनले बताए ।

आर्थिक गणनाको मुख्य उद्देश्य राज्यको नीति निर्माणका लागि यथार्थपरक तथ्यांक संकलन गर्नु रहेको उनले बताए । ‘सम्बन्धित सबै निकाय, उद्योगी तथा व्यवसायीलाई सही र पूर्ण विवरण उपलब्ध गराउन आग्रह छ,’ उनले भने ।

रुपन्देहीका १६ स्थानीय तहलाई दुई क्षेत्रमा विभाजन गरेर गणना सञ्चालन गरिने छ । तिलोत्तमा, देवदह नगरपालिका र बुटवल उपमहानगरपालिकालाई ‘ख’ क्षेत्रमा राखिएको छ । अन्य पालिकालाई ‘क’ क्षेत्रमा राखेर छुट्टाछुट्टै कार्यालय स्थापना गरिएको पंजियारले बताए । गणना अधिकारी नन्दलाल कुर्मीले आर्थिक गणना सम्बन्धी विस्तृत प्रस्तुतीकरण गर्दै आर्थिक गतिविधिलाई १८ क्षेत्रमा वर्गीकरण गरेर तथ्यांक संकलन गरिने जनाए ।

पालिका र वडा स्तरमा सहजीकरण समिति गठन गरीएको उनले बताए । जसमा पालिका प्रमुख, अध्यक्ष तथा वडा अध्यक्ष संयोजक रहने व्यवस्था छ । तथ्यांक ऐन २०७९ को दफा १० अनुसार संकलित विवरण पूर्ण रूपमा गोप्य राखिने भएकाले व्यवसायीहरूले निर्धक्क भएर तथ्यांक उपलब्ध गराउन सक्ने उनले जनाए ।

कार्यक्रमका सहभागीले खुला सीमा व्यवस्थापन, भारतीय तथा विदेशी कामदारको विवरण, उद्योग–व्यवसाय दर्ता र अन्तरदेशीय व्यापार सम्बन्धी विषयमा जिज्ञासा राख्दै सुझाव समेत दिएका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले व्यवसायीले डर र आशंका नमानेर तथ्यांक उपलब्ध गराउनुपर्ने बताए । आर्थिक गणनाले मुलुकको अर्थतन्त्रलाई थप सुदृढ बनाउन मद्दत गर्ने विश्वास उनले व्यक्त गरे ।

जिल्ला आर्थिक गणना समन्वय समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले रुपन्देही औद्योगिक र व्यापारिक हिसाबले महत्वपूर्ण जिल्ला भएकाले यस गणनाबाट जिल्लाको वास्तविक अवस्था बुझ्न सहज हुने बताए । मुलुकमा पहिलो पटक आर्थिक गणना २०७५ सालमा गरिएको थियो ।