भन्सार कार्यालय प्रमुख नहुँदा समस्या


बर्दिया—बर्दिया भन्सार कार्यालय प्रमुख धनबहादुर शाही नेपालगन्ज सरुवा भएको ६ महिना बितिसक्दा पनि नयाँ प्रमुख नआएपछि भन्सार कार्यालयका कामकाज प्रभावित भएका छन् ।
राजापुर मूल भन्सार कार्यालय अन्तर्गत २ छोटी सहित ३ वटा भन्सार कार्यालय सञ्चालनमा छन् । राजापुर मूल भन्सार, ताराताल र गुलरिया छोटी भन्सार सञ्चालनमा छन् । जिल्ला भर १६ जना हाल स्थायी दरबन्दीमा नायब सुब्बा ६ र कार्यालय सहयोगी ४ जना कार्यरत रहेको भन्सारका सूचना अधिकारी प्रमोद कुमार मेहताले बताए । मुद्दा लगायतका विषयमा निर्णय गर्दा नेपालगन्जबाट अधिकृत बोलाउनु परेको उनले बताए ।
तारातालस्थित छोटी भन्सार कार्यालय दुई जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । दुई जना कार्यालय सहयोगी भए पनि बेला–बेलामा पालैपालो बिदा लिएर जाने गरेका छन् । दुई वर्षदेखि ती कार्यालय सहयोगीको जिम्मामा कार्यालयका कामकाज हुने गरेको छ । यहाँ नासुको दरबन्दी भए पनि आवश्यक काम परेको समयमा गुलरियाबाट कर्मचारी खटिने गरेको सूचना अधिकारी मेहताले बताए ।
भारतीय सीमा निशानगढाबाट यहाँ सामान आउने गरे पनि करिब १ किमी दूरीमा ताराताल छोटी भन्सार भएका कारण राजस्व असुल भने न्यून छ । वार्षिक लक्ष्य यस आवमा १५ लाख रहेको छ । जनशक्तिको अभावमा भन्सार छलेर सामान भित्र्याउँदा समात्न नसकेको बताए ।
सीमामा सशस्त्र प्रहरीले सामान चेकजाँच गरी भन्सार पठाउने गर्छ, तर बीचबाटोबाट भन्सार छलेर लैजाँदा राजस्व भनेअनुसार उठ्न सकेको छैन । छोटी भन्सार ताराताल स्रोतले जनशक्ति अनुसार कर्मचारी खटिए वार्षिक झन्डै ५० लाख बढीको राजस्व असुल हुने दाबी गरेका छन् ।








प्रतिकृया दिनुहोस्