‘रिब्दीकोट जलेश्वर’लाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाइँदै


पाल्पा—पाल्पाको ‘रिब्दीकोट जलेश्वर’ क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन सुरुआत गरिएको छ । १५ औं शताब्दीमा पाल्पा राज्यको राजधानी रहेको ‘रिब्दीकोट जलेश्वर’ मा भौतिक पूर्वाधार निर्माण गर्न लागिएको हो ।
रिब्दीकोट गाउँपालिका–५, कुसुमखोला, ६ को ठिमुरे र ७ को पालुङ्मैनादीको संगम रिब्दीकोटमा धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन लागिएको हो । यसका लागि संघीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेर सडक पहुँच, भौतिक पूर्वाधार निर्माणका साथै पर्यटक लोभ्याउने गतिविधिलाई अघि बढाएका हुन् ।
गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार अहिलेसम्म ६ करोड बजेट लगानी गरिएको छ । ‘रिब्दीकोटको महत्त्वपूर्णस्थल भइकन पनि पछि परेको थियो,’ उनले भने, ‘अब यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पहल अघि बढाएका हौं ।’ रिब्दीकोट जलेश्वर क्षेत्रलाई धर्मिक पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले अग्रसरता लिएको उनले बताए ।
जलेश्वर सिद्ध मन्दिर क्षेत्रमा वनस्पति उद्यान, धार्मिक गन्तव्य एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने काम अगाडि बढाएको उनले बताए । यहाँ ११ औं शताब्दीको मूर्तिसमेत रहेको छ । बज्रयोगिनी मूर्ति रहेको जलेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन सकिने अध्यक्ष कार्कीले बताए । ‘५२ धुनीमध्येको जेठो धुनी यहाँ रहेको छ,’ उनले भने, ‘कालीगण्डकी नदीबाट पानी ल्याएर चढाउनेसमेत प्रचलन परापूर्वकालमा रहेको भन्ने जनश्रुतीसमेत रहेको छ ।’
स्थानीय तहको निर्वाचन २०७४ पछि प्रचारात्मक कार्यक्रम भएका थिए । २०७९ पछि भने भौतिक पूर्वाधारलाई जोड दिएर काम अघि बढेको उनले बताए । शिवको ठूलो मूर्ति, मन्दिर पुनः निर्माण, बालउद्यान, सिंढी निर्माण, १०८ धारा निर्माण, शिवलिङ्ग राख्ने, पौवा निर्माण लगायतका योजना अघि बढेका छन् । अहिलेसम्म २०७९ पछि ६ करोड १३ लाखको टेण्डर आह्वान गरेर काम अघि बढेको उनले बताए ।
रिब्दीकोट जलेश्वर सदरमुकाम तानसेनबाट २० किलोमिटर पश्चिममा पर्छ । जलेश्वर क्षेत्र धार्मिक एवं ऐतिहासिक रुपमै परिचित छ । १५ औं शताव्दीमा पाल्पा राज्य एक चौबिसे राज्य थियो । चौबिसे राज्यहरूमा पाल्पालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो । खस राज्यको विघटनपछि यो राज्य बनेको थियो । यस राज्यको स्थापना रिब्दीकोटका शासक रुद्र सेनले वि.सं. १५५० मा गरेका थिए ।
रिब्दीकोट डाँडामा मौसमी राडर जडान भएको छ । मौसम मापनको लागि सरकारले रिब्दीकोटमा राडर जडान गरेको हो । जलेश्वर क्षेत्रको पहिचानका लागि साविकको कुसुमखोला गाविसले भवनमा टिनको छाना लगाएर कामको सुरुवात गरेको थियो । यहाँ अखण्ड धुनी थियो भने पुजारी बस्दै आएका थिए । त्यसका लागि भवन बनेको छ । स्थानीय तहको निर्वाचनपछि जलेश्वरलाई चिनाउन सरसफाइ, घेराबार, विभिन्न विरुवा लगाउने, वनस्पति उद्यानका रुपमा अगाडि बढाउन नर्सरी राख्ने, मन्दिरलाई थप व्यवस्थित बनाउने काम गरेको पालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जीसीले बताए ।








प्रतिकृया दिनुहोस्