अध्यक्ष ओलीलाई विनासर्त रिहा गर्न एमाले रूपन्देहीको माग


भैरहवा– पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले, रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय, भैरहवामा अध्यक्ष ओलीको रिहाईको मागसहित ज्ञापन पत्र बुझाइएको हो । एमालेका नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरु सहभागी भएर विरोध प्रदर्शनसहित जिल्ला प्रशासन पुगेका थिए । पार्टीका नेताहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई दबाब दिने उद्देश्यले ज्ञापनपत्र बुझाएको जनाएका छन् ।
ज्ञापनपत्रमा अध्यक्ष ओलीसँगै नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई बिना शर्त रिहा गर्न माग गरिएको छ । प्रहरीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदनका आधारमा ओली र लेखकलाई शनिवार बिहान आफ्नै निवासबाट पक्राउ गरेको थियो । यो कदमलाई एमाले, रुपन्देहीले गैरकानुनी र राजनीतिक प्रतिशोधको रुपमा व्याख्या गरेको छ ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाउँदै एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले सरकारले लोकतान्त्रिक मूल्य र विधिको उल्लंघन गर्दै विपक्षी नेतामाथि दमन गरेको आरोप लगाए । उनले भने, ‘यो पक्राउ पूर्ण रूपमा गैरकानुनी र राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ । यदि तत्काल बिना शर्त रिहा नगरिए देश गम्भीर राजनीतिक मोडतर्फ जानेछ ।’ सरकारले पूर्वाग्राही गौरीबहादुर कार्की आयोगको प्रतिबेदनलाई खारेज गरी पार्टी अध्यक्ष ओलीलाई रिहाई गर्नुपर्ने उनले जनाए । कार्की आयोगको प्रतिवेदन पूर्णरुपमा निन्दनीय, खेदजनक र अस्वीकार्य रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
एमालेले भदौ २४ गते सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय लगायत सरकारी तथा निजी सम्पत्तीमाथि आगजनी गर्नेलाई तत्काल अनुसन्धानको दायरमा ल्याई कानूनी कारबाही गर्न माग समेत गरेको छ । तत्कालीन नेतृत्वको चरित्रहत्या गर्ने उद्देश्यले प्रतिवेदन आएको र सरकारले प्रतिशोध र राजीतिक पूर्वाग्रह राखेर ओली र लेखकलाई पक्राउ गरेको एमाले, रुपन्देहीको दावी छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले प्राप्त पत्रलाई सम्बन्धित ठाउँमा पठाउने जनाए । ज्ञापनपत्रबारे माथिल्लो निकायबाट कुनै जानकारी आएमा त्यसबारे आएको निर्णय तथा सन्देश पुनः जानकारी गराइने पोखरेलले बताए ।

ज्ञापन पत्र बुझाएपछि आयोजिक कोणसभामा बोल्दै एमाले केन्द्रीय सदस्य दधिराम न्यौपानेले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गरे । उनले सरकारलाई चेतावनी दिँदै यदि यो सरकारले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता लेखकलाई बिना सर्त रिहाई नगरे आफूहरुले कडा भन्दा कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । न्यौपानेले जनताको नेतालाई गिरफ्तार गरी देशामा अशान्ति मच्याउने काम सरकारले गरेको आरोप लगाए । ज्ञापनपत्र बुझाउन एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ता प्रशासन कार्यालय पुगेका थिए । त्यसअघि आयोजित र्यालीमा एमाले नेता–कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरेका थिए ।








लेखकको सम्वन्धमा