July 13, 2026, Monday
२०८३ असार २९ सोमबार

सिद्धार्थनगरः गुट्खाजन्य पदार्थमा रोक लगाउने निर्णय, अनुगमन नहुँदा खुलेयाम विक्री

Advertisement

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन वर्ष अघि नगरमा सूर्तीजन्य पदार्थ विक्रीमा रोक लगाए पनि त्यसको प्रभाव शुन्य छ । अनुगमन नहुँदा नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय आसपास नै सूर्तीजन्य पदार्थको खुला विक्री भइरहेको छ ।

Advertisement

मानव स्वास्थ्यमा हानी गर्ने र नगर फोहोर भएकाले नगरपालिकाले सूर्तीजन्य पदार्थको विक्रीमा रोक लगाउने निर्णय गरेको थियो । आफ्नै निर्णय लागू गराउन भूमिका नखेलेका कारण प्रभाव नपरेको हो । अहिले सिद्धार्थनगरमा खुलेयाम सूर्ती, चुरोट, खैनी र गुट्खाको बिक्री भइरहेको छ । यसप्रति रोक लगाउने निर्णय गरेको नगरपालिकाले नै आँखा चिम्लिएएको छ । आँखा चिम्लिनुको कारण सोध्दा अनुगमनकर्ता तर्किने गरेका छन् ।

नगरपालिकाले सहरमा रहेका किराना र पान पसल लगायतबाट गुट्खा बेच्न प्रतिबन्ध लगाएको थियो । २०७९ मंसिर २८ गते बसेको कार्यपालिका बैठकले नगर भित्र गुट्खा प्रकृतिका सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न प्रतिवन्ध लगाएको हो । जनप्रतिनिधिले ‘ग्रीन सिटी, क्लिन सिटी’को नारा कार्यान्वयन गर्न उक्त निर्णय गरेको बताएका थिए । नगरपालिकाका नाली तथा भित्री सडक छेउ यतिबेला फोहोरमैला, पान, गुट्खा, सूर्तीका प्याकेटले भरिएका छन् ।

नगर भित्र अनुगमनले भने निरन्तरता पाउन सकेको छैन । यस्तो निर्णय लागू गर्दा नगर प्रहरीको संख्या ४ मात्र थियो । अहिले जनशतिm थप गरेर नगर प्रहरीको संख्या १९ पुर्याइएको छ । तर, उनीहरुको ध्यान सूर्तीजन्य पदार्थको बिक्री वितरण रोकथाममा पुगेको छैन । अहिले सहरका सबै क्षेत्रमा खुलेयाम विक्री र सेवन भइरहेको छ । अनुगमन नहुँदा दुर्गन्धित भएको छ ।

२०७९ माघमा गरिएको अनुगमनका क्रममा पालिकाले ५० किलोको गुट्खाको बोरा जफत गरेर नष्ट गरेको थियो । यस्तो अनुगमन र कारबाहीपछि नगर भित्र गुट्खाको व्यापार गर्नेहरु सतर्क भएका थिए । सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ परिच्छेद–३ को ११ बमोजिम यस्ता पदार्थको बिक्रीवितरण तथा प्रदर्शनमा रोक लगाएको थियो ।

शिक्षण तथा स्वास्थ संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, अनाथालयका साथै राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तिमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने उल्लेख गरिएको छ । फितलो अनुगमनले बजार परिसर होस वा स्कूल, अस्पतालको नजिक नै किन न होस्, जतातै खुलेयाम गुट्खा पाउन थालिएको छ ।

उपभोक्ता हीत संरक्षण मंचका नगर अध्यक्ष नरेन्द्र भण्डारीले सुरुसुरुमा अनुगमन गरिए पनि अहिले नभएको बताए । ‘निणर्य त हुन्छ, तर प्रभावकारीरुपले कार्यान्वयन नहुँदा निर्णयले कार्यपालिकालाई गिज्याइरहेको छ ।’ बजार क्षेत्रमा डुल्दा प्लास्टिक, गुट्खाका प्याकेट र खोस्टाले फोहोर र दुर्गन्धित बनेको देख्न सकिने उनले बताए ।

सिद्धार्थनगर नगर प्रमुख इश्तियाक अहमद खाँले निर्णय कार्यान्वयन भइरहेको दाबी गरे । ‘अब चैत १८ गतेदेखि फेरि कडाई गर्दै छौं,’ उनले भने, ‘नगर भित्रको फोहोरमैलालाई व्यवस्थापन गरेर पान गुट्खा नियन्त्रण पनि सँगैं गर्नेछौं ।’ यस्ता फोहोर बढाउने र स्वास्थ्यमा हानी गर्ने सबै कुरा निषेध गरी नगरलाई सफा बनाउने उनले बताए ।

नगरमा उप-प्रमुखको नेतृत्वमा अनुगमन समिति छ । तर, उक्त समितिको प्रभावकारिता खासै देखिएको छैन । सूर्तीजन्य पदार्थ मात्रै होइन्, अन्य क्षेत्रमा समेत सिद्धार्थनगरमा अनुगमन निकै फितलो छ । उप–प्रमुख उमा अधिकारीलाई निर्णयपछि केही दिन चलेको अनुगमन किन किन र के कारणले रोकियो ? स्थानीय सरकारसँग अधिकार भएर पनि किन टुलुटुलु हेरेर बसेको भनेर पब्लिक कुराले प्रश्न गर्दा उनले प्रतिक्रिया दिन मानिनन् । ‘म यो विषयमा बोल्दैंन,’ उनले भनिन्, ‘यस विषयमा मेयर सावलाई सोध्नुस् ।’

नगरका एक कार्यपालिका सदस्यले निर्णय कार्यान्वयन नहुँदा सूर्तीजन्य पदार्थको बिक्री वितरण गम्भीर विषय बनेको बताए । ‘पटक पटक यस विषयमा कुरा उठेको छ,’ उनले भने, ‘तर अनुगमन गरिएको छैन । अनुगमन नगर्नुको कारण पनि अझै खुल्न आएको छैन ।’ उनले बजारमा छ्यापछ्याप्ती गुट्खा लगायतका सूर्तीजन्य पदार्थ विक्री भइरहँदा समेत बेवास्ता गरिनु ठीक नभएको बताए ।