August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

रासायनिक मलको अभाव हटाउन सांसद गुप्ताको सक्रियता

Advertisement

परासी– नेपालमा बर्सेनि देखिने रासायनिक मलको समस्या समाधान गर्न र किसानहरूलाई समयमै मल उपलब्ध गराउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको छ। पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद नरेन्द्रकुमार गुप्ता सहभागी उक्त छलफलमा मलको वर्तमान अवस्था र आगामी दिनमा माग अनुसारको आपूर्ति व्यवस्थापनबारे छलफल भएको हो।

Advertisement

छलफलले मलको बहावा (चुहावट) रोक्न र वास्तविक किसानसम्म पुर्याउन स्थानीय तहसँगको समन्वयलाई समेत प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। छलफलमा सांसद गुप्ताले भने, ‘खेतीको समयमा मल नपाउने पुरानो समस्या अब दोहोरिनु हुँदैन, देशभरका किसानलाई आवश्यकता अनुसारको मल समयमै उपलब्ध गराउन सरकारले ठोस कदम चाल्नुपर्छ।’

छलफलमा सहभागी उद्योग मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले मलको आपूर्तिलाई सहज बनाउन मन्त्रालयले प्राविधिक र प्रशासनिक पक्षमा सुधार अवश्यक रहेको जानकारी दिए । उनले किसानले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको र वितरण प्रणालीलाई थप पारदर्शी बनाउन आवश्यक रहेको बताए ।

त्यसैगरी, छलफलमा सहभागी कृषि सामग्री संस्थानका प्रबन्ध संचालक विष्णुप्रसाद पोखरेलले हालको मौज्दात र आयातको प्रक्रियाबारे जानकारी गराए । माग अनुसारको मल व्यवस्थापनका लागि संस्थानले बोलपत्र प्रक्रिया र ढुवानीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त उनले गरे ।

छलफलमा खेतीको सिजन सुरु हुनुअगावै किसानको हातमा मल पुग्ने सुनिश्चितता गर्ने, वास्तविक आवश्यकताको पहिचान गरी सोही अनुसारको परिमाणमा मल आयात र वितरण गर्ने र हालको आपूर्ति प्रणालीमा रहेका चुनौतीहरूलाई मध्यनजर गर्दै उचित व्यवस्थापन गर्ने बारे छलफल भएको हो।