August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण, भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

Advertisement

बुटवल– जागरण मिडिया सेन्टरले बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरका कार्यपालिका सदस्य तथा १९ वटै वडाका निर्वाचित दलित महिला सदस्यहरुसँग मंगलबार बुटवलमा अभिमुखीकरण गरिएको हो । अभिमुखकीरकण कार्यक्रममा संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले दलित महिला जनप्रतिनिधिले केही गर्न सकेनन् भन्ने प्रश्न उठ्ने गरेको अवस्थामा आगामी कार्यकाललाई अझ प्रभावकारी बनाउन कार्यक्रम गरिएको बताइन् ।

Advertisement

उनले दलित महिला जनप्रतिनिधिको उपस्थिति संविधानले ग्यारेन्टी गरेकाले सम्भव भएको बताउँदै आफ्नो संवैधानिक भूमिकालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा संवैधानिक तथा कानुनी प्रवाधान, दलित जनप्रतिनिधिको भूमिका, नगरसभामा सदस्यहरुको भूमिका तथा ऐजन्डा प्रस्तुतीकरण, बजेट तर्जुमा, जनप्रतिनिधिको मिडियासँगको सम्बन्धका बारेमा प्रस्तुती राखिएको थियो भने जनप्रतिनिधिहरुले हालसम्मको अनुभव समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले वडामा निर्वाचित दलित महिला सदस्य र कार्यपालिका सदस्यहरुको भूमिका, संवैधानिक रुपमा समावेशिताको सवाल, कार्यपालिका र नगरसभामा प्रस्तुत गरिने मुद्दा र ऐजन्डा, समुदायका लागि दलित जनप्रतिनिधिको भूमिकाका बारेमा प्रस्तुती राखेका थिए । यसैगरी जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले संविधानमा दलित अधिकार र जनप्रतिनिधिको भूमिका तथा विनोद परियारले जनप्रतिनिधिको मिडियासँगको सम्बन्धका बारेमा प्रस्तुतीकरण राखेका थिए ।

अभिमुखकीकरण कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमबहादुर सुनार, कृष्ण बहादुर सुनार, सुनिता खण्डलुक र बसन्ती विश्वकर्माले आफूहरुले दलित समुदायका लागि विभिन्न सिपमुलुक र क्षमता विकासका कार्यक्रमका लागि बजेट छुट्याएको बताउँदै आगामी दिनमा पनि थप कार्यक्रम गर्ने प्रतिबद्धता जनाए ।

जागरण मिडिया सेन्टरका महासचिव जगलाल नेपालीले जनप्रतिनिधिहरुसँग समुदायले ठूलो अपेक्षा गरेको बताउँदै समाजको पिँधमा रहेको समुदायको पक्षमा काम गर्न जनप्रतिनिधिको ध्यानआर्कषण गराए । दलित महिला सदस्यहरुले आफूहरुले पछिल्लो समयमा कार्यवाहक वडाअध्यक्षको भूमिका पाएको, दलितका लागि बजेट छुट्याउने र कार्यक्रम गर्ने गरेको सुनाएका थिए । तर, कतिपय ठाउँमा जनप्रतिनिधिलाई नै पूजा, विवाह जस्ता कार्यक्रममा नबोलाउने, जातीय भेदभाव गर्ने गरेको गुनासो समेत सुनाए । बुटवल उपमहानगरभित्र १९ वडामा १९ जना दलित महिला सदस्य र ४ कार्यपालिका सदस्य दलित समुदायका रहेका छन् ।