August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

गुलरियाको गणेशपुरमा स्थानीय र प्रहरीबीच झडप, ११ जना घाइते

Advertisement

बर्दिया–लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा बर्दियामा ११ जना सुरक्षाकर्मी घाइते भएका छन् । झडपका क्रममा केही राउण्ड हवाइ फायर र अश्रुग्याँस प्रहार भएको थियो ।

Advertisement

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा लागुऔषध कारोबारविरुद्ध प्रदर्शनपछि बन्द गरिएको हुलाकी सडक बन्द खुलाउन गएका सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको हो । झडपमा केही स्थानीय पनि घाइते भएका छन् । तर उनहिरुको विवरण भने प्राप्त भएको छैन । स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी प्रमेश विष्टले बताए ।

विष्टका अनुसार, घटनास्थलबाट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । ‘बन्द सडक खुलाउन गएका प्रहरीमाथि नै ढुंगा प्रहार गर्दै आक्रमण हुन थालेपछि हवाई फायर र अश्रुग्यास हान्नु परेको हो’ विष्टले भने । घटनामा प्रहरीका सहायक हवलदार सन्तोष विक गम्भीर घाइते भएका छन् । उनको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

केही समययता भारतबाट भित्रिएको लागुऔषध ब्राउन सुगर, कोरेक्स लगायतका पदार्थ सेवन गर्दा दुई जनाको ज्यान गएको भन्दै स्थानीय सडकमा उत्रेका थिए । भारतको सीमावर्ती लौकही बजार जाने नाका बन्द गर्नुपर्ने, भारतमा लागुऔषध बेचबिखन गर्नेमाथि कारबाहीको माग राख्दै सडक बन्द गरेको गुलरिया–११ क स्थानिय रामनारायण केशरीले बताए ।

अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हाल स्थिति नियन्त्रणमा रहेको र लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा केही व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको भनाइ प्रहरीको छ ।

गुलरिया नगरपालिका–११ गणेशपुरका ४० वर्षीय सुरेश खटिक र उनकै भाइ ३० वर्षीय बहोरण खटिकको मृत्युको विषयलाई लिएर मंगलबार बिहानदेखि बाँकेको नेपालगंज हुँदै बदियाको गुलरिया जोड्ने हुलाकी राजमार्गको गणेशपुर चोकमा अवरोध गरेर स्थानीयले चक्काजाम गरेका थिए ।

चैत ७ गते बिहान सुरेशले स्वासप्रस्वासमा समस्या भएको बताएपछि उनको उपचारका क्रममा बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । उनका भाइ बहोरणको पनि उपचारका क्रममा चैत ९ गते बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।