August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

बिहान ९ बजेदेखि कपिलवस्तुमा निषेधाज्ञा हट्यो

Advertisement

भैरहवा–गत शनिवारदेखि कपिलबस्तु जिल्लाको विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा आदेश कपिलवस्तु प्रशासनले हटाएको छ । आज बिहान ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो ।

Advertisement

गत शनिवार कपिलवस्तुको महाराजगन्ज नगरपालिका, वडा नं. २ को बर्गदा गाउँमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिँदै असहज र तनावको अवस्था बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार दिउँसो २ बजेदेखि महाराजगन्ज नगरपालिकाको विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो ।

बर्गदा गाँउबाट सुरु भएको विवादले कपिलवस्तु जिल्लाको अन्य स्थानहरुमापनि प्रभावित हुँदै जान थालेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षाले प्रभावकारी बनाउन अन्य स्थानहरुमापनि विषेधाज्ञा लगाएको थियो ।

अवस्था सहज हुँदै गएपछि शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्दै नागरिकको जीवनयापन सहज बनाउन निषेधाज्ञा हटाइएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए ।

महाराजगन्ज नगरपालिकाको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि र कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोदन गाउँपालिकाका क्षेत्रमा आइतबार दिउँसो १ बजेबाट भेला, सभा, जुलुस र प्रर्दशन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको थियो ।

बर्दगा गाउँको घटनाको प्रभावले कपिलवस्तु जिल्लाको दक्षिणी क्षेत्र अशान्त बनेको थियो । सोमबार साँझदेखि जिल्लाको अवस्था सामान्य बन्दै गएपछि जनजीवन सहज बनेको छ ।