तिनाउ नदीमा बेपत्ता भएका दुई भारतीय नागरिक अझै बेपत्ता


भैरहवा–पौडी खेल्ने क्रममा पाल्पास्थित तिनाउ नदीको ड्यामसाइडमा आइतवार बेपत्ता भएका दुई भारतीय नागरिक अझै फेला परेका छैनन् ।
हरेक बर्ष पौडी खेल्ने क्रममा ड्यामसाइड क्षेत्रमा डुबेर नेपाली र भारतीय धेरै नागरिकको मृत्यू हुन थालेपछि पौडी खेल्नका लागि ड्यामसाइड क्षेत्रमा प्रवेश गर्नमैं रोक लगाउनु पर्ने माग स्थानियले गर्न थालेका छन् ।
नेपाल घुम्न आएका भारतको सन्तवीर नगरका १७ वर्षीय फरान अन्सारी र सोही स्थानका १७ वर्षीय अमान अन्सारी सोमवार मध्यान्हसम्म फेला परेका छैनन् । तिनाउ गाउँपालिका–३, दोभानस्थित ड्यामसाइडनजिकै भारतबाट नेपाल घुम्न आएका सात जना भारतीय नागरिक पौडी खेल्न गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जसमध्ये, दुई जनालाई तिनाउ खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले बताएका छन् । बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले उनिहरुको खोज तथा उद्धारका लागि नेपालगन्जबाट गोताखोर टोली झिकाइएको जनाए । सुवेदीका अनुसार, नदीमा ढुंगाको खोंच, भूमरी, पानी धमिलो हुनाले खोज उद्धार गर्न कठिन भएको छ । त्यस स्थानमा प्रहरी नै परिचालन गरेर पौडी खेल्न जानमा रोक लगाउनुपर्ने अवस्था देखिएको उनले बताए ।
अघिल्लो वर्ष ११ जनाको ड्यामसाइड आसपास क्षेत्रमा डुबेर मृत्यु भएको थियो । तिनाउ खोलाको ड्यामसाइड क्षेत्रमा हरेक वर्ष नेपालका तराई र भारतीय नागरिकको पौडी खेल्ने क्रममा मृत्यु हुने गरेको छ ।
ड्यामसाइडमा आसपास क्षेत्रमा आकर्षण छहरा सहितको पौडी खेल्न आकर्षित गर्ने खालका ताल रहेकाले धेरैलाई पौडी खेल्न आकर्षण गर्ने गर्छ । त्यस स्थानमा पौडी नखेल्न आग्रह गरे अटेर गर्नेर पौडी खेल्ने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाबारे जानकार नभएकाहरूको डुबेर ज्यान जाने गरेको दोभान प्रहरीको भनाइ छ ।
तिनाउ गाउँपालिका–३, झुम्साका टंक बस्यालले रुपन्देही, कपिलवस्तु नवलपरासी र छिमेकी मुलुक भारततिरका लागि तिनाउ गाउँपालिकाको दोभान, भूतखोला, झुम्सा, सिद्धबाबा मन्दिर वरपर गर्मी छल्न पौडी खेल्ने ठाउँ बनेपनि धेरैका लागि मृत्युस्थल बन्ने गरेको बताए ।








प्रतिकृया दिनुहोस्