August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

सांसद थापाद्वारा सिद्धार्थ रंगशाला अवलोकन, पूर्णता दिन पहल गर्ने प्रतिबद्धता

Advertisement

भैरहवा– कपिलवस्तु–२ का प्रतिनिधि सभा सदस्य विक्रमसिंह थापाले भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदानको अवलोकन गरेका छन् । आइतबार क्रिकेट मैदान अवलोकन गर्न आएका सांसद थापालाई नेपाल क्रिकेट संघका पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्री, कोषाध्यक्ष निरजप्रताप खाँण, सदस्य प्रथम पराजुली, क्यानका पूर्व केन्द्रिय सदस्य धर्मराज गिरी लगायतले स्वागत गर्दै रंगशालाका बारे जानकारी गराएका थिए ।

Advertisement

रंगशाला निरीक्षण पछि बोल्दै सांसद थापाले खेलकुदले देशलाई नै पहिचान दिएको बताउँदै देश चिनाउने सबैभन्दा ठूलो माध्यम खेल रहेको जनाए । उनले खेलकुद मार्फत् युवाहरु शारीरिक र मानसिक रुपमा जति तयार हुन्छन्, यसले देश चिनाउन र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । क्रिकेट रंगशालाको प्रगती राम्रो भएको बताउँदै उनले यसमा आफ्नो तर्फबाट सबै किसिमको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधि सभा सदस्य थापाले आफूले रुपन्देहीका जनप्रतिनिधिहरुसँग समन्वय गरी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पहलकदमी गर्ने जनाए । क्यानका पूर्व कार्यबाहक सचिव मल्लले यस वर्ष निर्माणका लागि तीन करोड रुपैयाँ बजेट छुट्टिए पनि अर्थ मन्त्रालयले रोकेको जनाए । उनले वर्षौं अघि निर्माण थालिए पनि बजेट अभावले पूर्णता पाउन नसकेको बताउँदै यसतर्फ ध्यान दिन आग्रह गरे ।