August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

चैत १६ देखि आठौं बुटवल राष्ट्रिय खुला लन टेनिस

Advertisement

बुटवल– रूपन्देही लन टेनिस संघको आयोजनामा आगामी १६ चैतदेखि बुटवलमा आठौं बुटवल राष्ट्रिय खुला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा पुरुष तथा महिला एकल र डबलगरी कुल ११ बिधामा प्रतिस्पर्धा हुनेछन् । संघका अध्यक्ष विष्णुप्रसाद चापागार्ईंका अनुसार एकलतर्फ पुरुष–महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरी ६ बिधा रहने छ ।

Advertisement

डबल्स तर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसगरी ५ बिधागरी कुल ११ बिधा रहेको अध्यक्ष चापागाईं बताए । प्रतियोगितामा पुरुष–महिला एकलको विजेताले नगद ६०–६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष चापागाईंले बताए ।

प्रतियोगिता २० चैतसम्म चल्ने छ भने रूपन्देही लन टेनिस संघको बुटवल–११, देविनगरस्थित टेनिस कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि २६ लाख ६७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संघका सचिव मनोज नेपालले बताए । प्रतियोगितामा देशभरका २ सयभन्दा बढी पुरुष तथा महिला खेलाडीको सहभागिता हुने संघले जनाएको छ । संघले २०७५ सालदेखि बुटवलमा निरन्तर राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता गर्दै आइरहेको छ ।