बाँकेमा डढेलो नियन्बण गर्न ‘आगो नियन्त्रण दस्ता’


नेपालगन्ज–बाँकेमा डढेलो नियन्बण गर्नका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । बाँकेमा बर्सेनी डढेलोले वन जङ्गलमा ठुलो क्षति हुने गरेको छ ।
बाँके जिल्लामा सबैभन्दा बढी डढेलो लाग्दै आएको क्षेत्रको पहिचान गरी सो रोक्न आगो नियन्त्रण दस्ता निर्माण गरिएको र २४ जनाको आगो नियन्त्रण दस्ता निर्माण गरिएको वन डिभिजन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टंक गुरुङले बताए ।
गुरुङका अनुसार, शम्शेरगन्ज क्षेत्रका लागि १२ र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गत रहेको भूवरभवानी चक्ला वनका लागि १२ जनाको आगो नियन्त्रण दस्ता बनाइएको छ । डढेलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसहित विभिन्न कार्यक्रम गर्न वन उपभोक्ता महासघंको समन्वयमा डढेलो नियन्त्रण कार्यक्रम ल्याइएको हो । डढेलो नियन्त्रणका लागि ६ हजार लिटर पानीको क्षमता भएको वारुणयन्त्र तयारी अवस्थामा राखिएको छ ।
उपलब्ध स्रोत र साधनका हिसाबले आगो नियन्त्रण दस्ता डढेलो नियन्त्रण गर्न तयारी अवस्थामा रहेको र आगलागी भएपछि दस्ताले आगो नियन्त्रण सहित उद्धार काम गर्ने उनले बताए । विगतका वर्षहरुमा डढेलो लाग्दा बाँकेमा ठूलो मात्रामा वन्यजन्तु समेत मरेका थिए ।
यसअघि बाँकेमा डढेलो नियन्त्रणका लागि ‘अग्नि नियन्त्रण हेरालु’ चार वर्षका लागि नियुक्त गरिएको थियो । वन डिभिजन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले शम्शेरगन्ज सब डिभिजन वन कार्यालय अन्तर्गतको वन र सिक्टा सब डिभिजन वन कार्यालय अन्तर्गतको वनमा छ–छ जनाको अग्निनियन्त्रण हेरालुको टोली तैनाथ रहेको जनाए ।
डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन शम्शेरगन्जमा २५ लाख रुपैयाँको लागतमा २० हजार लिटर क्षमताको ‘ओभर वाटर टयांक’ समेत निर्माण गरिएको छ ।








प्रतिकृया दिनुहोस्