ग्यासको कृत्रिम अभाव नगर्न सिद्धार्थ उद्योग बाणिज्य संघको आग्रह


भैरहवा– सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले ग्यास सिलिन्डरको अनावश्यक भण्डारण नगर्न र कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ। मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताले नेपालमा पनि इन्धन अभाव हुने हल्ला फैलिन थालेपछि संघले यस्तो आग्रह गरेको हो ।
संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै कृत्रिम अभाव सिर्जना नगर्न सबैमा आग्रह गरेका हुन् । विज्ञप्तीमा विश्व बजारमा उत्पन्न परिस्थितिले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पर्न सक्ने आशंका व्यक्त गरिएको उल्लेख छ। त्यही आशंकाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्ने र बजारमा अनावश्यक त्रास फैलिने अवस्था देखिन थालेको संघले जनाएको छ।
‘हाल ग्यासको आपूर्तिमा केही संकुचन देखिए पनि पेट्रोल, डिजेल र मट्टितेलको आपूर्तिमा तत्काल कुनै गम्भीर समस्या देखिएको छैन। तर अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भइरहेकाले दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्न सक्ने सम्भावना छ। यस्तो अवस्थामा उद्योगी तथा व्यवसायीलाई मौज्दातमा रहेका वस्तु उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन र अतिरिक्त लाभको लोभमा कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गर्दछौं’, विज्ञप्तीमा भनिएको छ ।
उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य सामग्री भण्डारण नगर्न अनुरोध गरिएको छ। संघका अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकमा आपूर्ति प्रणालीलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउनु आवश्यक छ। साथै इन्धन आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउन नेपाल सरकारले सम्बन्धित निकायमार्फत प्रभावकारी समन्वय, अनुगमन र नियन्त्रणका उपाय अपनाउन आग्रह गर्दछौं ।’
वर्तमान परिस्थितिमा सबै व्यवसायीले सेवाभावका साथ संयमता अपनाउँदै उपभोक्तालाई सहज सेवा दिनुपर्ने र उपभोक्ताले पनि अनावश्यक हल्ला तथा कृत्रिम संकट सिर्जना हुने गतिविधिबाट टाढा रहनुपर्ने संघको आग्रह छ।









प्रतिकृया दिनुहोस्