जसले शून्य मत ल्याए


भैरहवा- २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा कुल ३९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । तर, निर्वाचन परिणाम सार्वजनिक भएपछि एउटा रोचक तथ्य बाहिर आएको छ ।
त्यो के भने, रूपन्देही–२ मा प्रतिस्पर्धा गरेका पाँच उम्मेदवारले शून्य मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय रुपन्देही–२ का अनुसार ती उम्मेदवारहरूले आफू उम्मेदवार रहेको क्षेत्रमा समेत शून्य मत पाएका हुन् । यो विषयले यतिवेला जताततै चर्चा पाउन थालेको छ ।
रूपन्देही–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेकोमा ८६ हजार ३ सय ३ मतदाताले मतदान गरेका थिए । झण्डै ६४ प्रतिशत मतदाता मतदानमा सहभागी भएका थिए ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार पाँच स्वतन्त्र उम्मेदवारले शून्य मत प्राप्त गरेका छन् । रूपन्देही २ मा २० स्वतन्त्र उम्मेदवार थिए । क्यामेरा चुनाव चिन्ह पाएका उम्मेदवार टीकाबहादुर क्षेत्री, स्टुल चुनाव चिन्ह पाएका दिलिपकुमार सुनार, क्याप चुनाव चिन्ह पाएका बालकृष्ण ज्ञवाली, कप र प्लेट चुनाव चिन्ह पाएका उम्मेदवार विमला भट्टराई तथा प्रेसर कुकर चुनाव चिन्ह पाएका विष्णुप्रसाद बस्यालले शून्य मत प्राप्त गरेका हुन् ।
उम्मेदवारले आफ्नो मत समेत नपाउनु विभिन्न कारण हुन सक्छ । कतिपय अवस्थामा उम्मेदवार आफैंले मतदान नगर्नु, मतदाता नामावली फरक स्थानमा हुनु वा अन्य कारणले पनि यस्तो अवस्था देखिन सक्छ ।
जे भए पनि निर्वाचनमा उम्मेदवारी दिएका पाँच जनाले शून्य मत पाएको विषय भने रुपन्देही–२ को निर्वाचन परिणाममा एक रोचक र चर्चा योग्य विषयमा रूपमा देखिएको छ ।








लेखकको सम्वन्धमा