June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

रूपन्देहीका मतदाताले पत्याएनन् ६ पूर्वमन्त्रीलाई, चारको जमानतै जफत

Advertisement

भैरहवा– रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा यसपटक रास्वपाका उम्मेदवाहरु भारी मतान्तरले विजयी बने । रास्वपाले जिल्ला क्लिन स्वीप गर्दा ६ पूर्वमन्त्रीहरु पराजित भएका छन् । फरक–फरक क्षेत्रबाट उम्मेदवार बनेका पूर्वमन्त्रीहरुमध्ये ४ जनाको जमानतै जफत भएको छ ।

Advertisement

२१ फागुनमा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार क्षेत्र नम्बर १, ४ र ५ बाट उम्मेदवार बनेका चारजना पूर्वमन्त्रीहरुको जमानत जफत भएको हो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रुपन्देही–१ मा उम्मेदवार बनेका पूर्वस्थानीय विकास राज्यमन्त्री घनश्याम यादव अहिरले जमानत जोगाउनै सकेनन् । अहिरले २ हजार १९८ मत मात्रै पाएर पाँचौ स्थानमा रहे । यो क्षेत्रबाट रास्वपाका सुनिल लम्साल ५४ हजार ८४५ मतसहित निर्वाचित भएका छन् । अहिर २०६४ मा तत्कालीन माओवादीबाट यही क्षेत्रमा विजयी हासिल गर्दै राज्यमन्त्री बनेका थिए ।

यस्तै, रुपन्देही–४ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट उम्मेदवार बनेका पूर्वशिक्षामन्त्री सवेन्द्रनाथ शुक्लले पनि जमानत जोगाउन सकेनन् । आफैले राजनीतिमा डोर्याएका रास्वपाका कन्हैया बनियाले चुनाव जित्दा शुक्लले भने जमानत जोगाउन समेत सकेनन् । जबकी २०७९ मा यही क्षेत्रबाट शुक्ल भारी मतले विजयी भएका थिए । रास्वपाका बनिया २८ हजार ६६ मत ल्याएर निर्वाचित हुँदा चौथो स्थानमा रहेका शुक्लले जम्मा ३ हजार ४१० मत प्राप्त गरे ।

शुक्ल २०५२ असोजमा जलस्रोत राज्यमन्त्री, २०५३ चैत्रमा बाणिज्य मन्त्री, २०५४ मा संचारमन्त्री, २०६१ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा भू–संरक्षण र भूमिसुधार तथा व्यवस्था मन्त्री र २०६६ मा शिक्षामन्त्री बनेका थिए । तर, शुक्ल यसपटक नराम्रोसँग पराजित भए । सायद उनको राजनीतिक जीवनमा जमानतै जफत हुने गरी पराजित भएको यो पहिलो पटक हो । जितहारको स्वाद पटक–पटक लिएका शुक्ल कयौंपटक मन्त्री भएका थिए । तर, यसपटक जमानतै जफत हुने गरी पराजित भएपछि राजनीतिक जीवनको उतराद्र्धमा उनले निकै तितो अनुभव लिनु परेको छ ।

यस्तै, रुपन्देही–५ मा पनि दुई पूर्वमन्त्रीले जमानत जोगाउन सकेनन् । यो क्षेत्रबाट रास्वपाका युवा उम्मेदवार तौफिक अहमद खाँन भारी मतले विजयी हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका पूर्वमन्त्री मुहम्मद वकिल मुसलमान र जनमत पार्टीका उम्मेदवार पूर्वमन्त्री ओमप्रकाश यादव (गुल्जारी)को जमानत जफत भएको छ ।

रास्वपाका तौफिकले ३८ हजार ८०६ मत ल्याएर निर्वाचित भएका छन् । चौथो स्थानमा रहेका नेकपाका मुसलमानले ६ हजार १७६ मत मात्रै पाए भने जनमतका यादवले ३ हजार १०९ मत प्राप्त गरे । दुबै पूर्वमन्त्री मुसलमान र यादवले २०६४ को निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट जित निकालेका थिए । मुसलमान त्यसबेला वन मन्त्री र यादव कृषि राज्यमन्त्री बनेका थिए । यसपटक भने उनीहरु दुबैजनाले जमानत जोगाउन सकेनन् ।

क्षेत्र नम्बर ५ मा कांग्रेसबाट उम्मेदवार बनेका पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाह पनि पराजित भएका छन् । तर, उनले जमानत भने जोगाएका छन् । यस्तै, रुपन्देही–२ बाट पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि पराजित भएका छन् । उनले पनि जमानत भने जोगाएका छन् । यो क्षेत्रबाट रास्वपाका सुलभ खरेल अत्याधिक मतका साथ विजयी भएका छन् ।