युवाहरू मतदान गर्न आतुर


भैरहवा – फागुन २१ गते प्रतिनिधि सभाको सदस्य निर्वाचन नजिकिएपछि मुलुक चुनावमय बनेको छ । मुलुकभर मतदाता आफ्नो पक्षमा पार्न एजेण्डा सुनाउनेदेखि नेताहरु एकअर्काप्रति कटाक्ष गर्न व्यस्त छन् । रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा चुना प्रसारप्रसारले रौनक छ । नेता–कार्यकर्ता मात्र होइन नागरिक पनि उत्साहित छन् ।
गत भदौंमा जेन–जी आन्दोलनका कारण तत्कालीन सरकार ढलेपछि बनेको गैरदलीय सरकारले फागुन २१ गते निर्वाचन गराउने निर्णय गरेको हो । त्यसैले यसपटकको निर्वाचनमा जेनजी उमेर समूहका युवाको सहभागिता चासोको देखिन्छ । जेनजी आन्दोलनले युवाको आवाज, असन्तुष्टि र परिवर्तनको चाहनालाई उजागर गरेकाले पनि उनीहरुको चासो देखिएको हो ।
जेनजी आन्दोलनको मर्म—पारदर्शिता, उत्तरदायित्व र अवसरको समान पहुँचलाई समेट्ने वाचा गर्दै राजनीतिक दलहरू घरदैलो अभियानमा व्यस्त छन् । प्रतिबद्धता पत्र बोकेर नेताहरू गाउँ–टोलमा पुगिरहेका छन्, तर युवा पुस्ता भने शब्दभन्दा कामको मूल्यांकन गर्न तयार देखिन्छ ।
रुपन्देही–३ को शान्तिनगरमा बस्ने २३ वर्षीय नवीनकुमार माझी पहिलो पटक मतदान गर्ने दिन नजिक आएकाले उत्साहित छन् । ‘जेनजी आन्दोलनका क्रममा जति शहीद हुनुभयो, उहाँहरूको भावनालाई समेटेर अगाडि बढ्ने नेतृत्व चाहिन्छ,’ उनले भने, ‘युवा सहिदलाई न्याय प्रदान गर्न पनि मुलुकले परिवर्तनको प्रतीक्षा गरिरहेको छ ।’
अहिलेसम्म घरदैलोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्र आएको बताए । दल आए पनि नआए पनि विवेक प्रयोग गरेर मत हाल्ने सुनाए । यसपटक युवा सचेत भएर मतदान गर्न तयार रहेको बताए ।
पश्चिम नवलपरासीका २० वर्षीय रोहन यादव मतदान गर्नका लागि उत्साहित छन् । शिक्षित र समाजलाई बुझ्ने उम्मेदवारको पक्षमा मतदान गर्ने उनले बताए । ‘विकास निर्माणमा इमान्दार र जिम्मेवार व्यक्ति चाहिन्छ,’ उनले भने, ‘बिगतमा हामीलाई धेरै झुक्याइयो । अब हामी सचेत भइसक्यौं ।’ मतदान प्रक्रिया बारे पर्याप्त जानकारी नपाएको उनले स्वीकारे । युवालाई मतदाता शिक्षाको आवश्यकता रहेको उनले बताए ।








लेखकको सम्वन्धमा