सरकारले उद्धार र राहतमा अन्तर्राष्ट्रिय सहायता विस्तार गर्दै


बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले अन्तर्राष्ट्रिय सहयोगलाई प्रभावकारी रूपमा परिचालन गरिरहेको जनाएको छ। खोज, उद्धार र राहत कार्यमा केन्द्रित भएको सरकारले बाढी आएको पाँचौँ दिनमा स्वदेशी तथा विदेशी प्राविधिक जनशक्तिको परिचालन बढाउने बताएको हो।
आइतबार मात्र माथिल्लो ‘त्रिशुली थ्री ए’ को सुरुङमा फसेकाको खोजी गर्न सेनाले हेलिकप्टरमा स्काभेटर र डोजर लगेको छ। जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले नुवाकोटको बट्टारबाट ती उपकरणहरूलाई त्यहाँ खण्ड–खण्ड पारेर हेलिकोप्टरमार्फत आयोजनास्थलतर्फ लगेको हो।
नेपाली सेनाले आइतबार नै सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने गरी काम गरिरहेको छ। त्यसपछि भित्र फसेका मानिसहरूको खोजी तथा उद्धार कार्य सुरु हुने प्रधानमन्त्री वालेन्द्र शाहले जनाएका छन्। यस्तै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रभावित क्षेत्रमा अझै पनि खोज तथा उद्धार अभियान जारी रहेकाले आवश्यकताअनुसार थप अन्तर्राष्ट्रिय सहयोग पनि परिचालन गरिनेछ।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले तत्काल उद्धार र राहत कार्यमा केन्द्रित रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोग पुनःस्थापना तथा पुनर्निर्माणमा विस्तार हुने बताए। खोज, उद्धार तथा राहतका लागि करिब १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकोप्टर परिचालन गरिएको उनको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार विज्ञहरू समेत परिचालन गरिएको उनले जानकारी दिए।
उनका अनुसार भारतबाट ११ जना र चीनबाट ९ जना सुरुङ उद्धार विशेषज्ञ नेपाल आएका छन् भने दक्षिण कोरियाले पनि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ। श्रीलंका सरकारले पनि उद्धार कार्यमा सघाउन सहायता टोली पठाउँदै छ।
बाढी प्रभावितका लागि राहत तथा मानवीय सहायता सामग्री लिएर विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय उडान भएका उनको भनाइ छ। उनका अनुसार बुधबारदेखि आइतबारसम्म भारत, चीन, अमेरिका, ओमान, र दक्षिण कोरियाबाट गरी १० वटा सहायता मानवीय उडान भएका छन्। एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५० लाख अमेरिकी डलर, विश्व बैंकबाट १६.७ करोड अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अस्ट्रेलिया सरकारबाट १० लाख अमेरिकी डलर (नगद सहयोग), एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको उनको भनाइ छ।
साथै, भारत सरकारबाट हालसम्म चार चरणमा कुल ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सोही किसिमको सहायता आएको उनको भनाइ छ। चीनलाई ३० वटा बेलीब्रिज सहयोग अनुरोध गरिएको भन्दै उनले भारतले आइतबार २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएकोे बताए। साथै, भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। स्विट्जरल्यान्डबाट १० लाख स्विस फ्रयाङ्क (संयुक्त राष्ट्र संघबाट खर्च हुने गरी) प्राप्त भएको छ।








प्रतिकृया दिनुहोस्