भोटेकोशी बाढीमा सम्पर्कबिहीन खोज्दै आफन्त


भैरहवा– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन आफन्तको खोजीमा विभिन्न जिल्लाका परिवारजन भौतारिन थालेका छन् । आफन्त फेला पर्ने आसमा उनीहरु बाढी प्रभावित जिल्लामा पुगिरहेका छन् । ती जिल्लामा पुगेर आफन्तबारे सोधखोज गरिरहेका छन् ।
आफन्त सम्पर्कमा नआएपछि उनीहरु शव राखिएका अस्पतालमा पनि भौतारिरहेका छन् । प्रहरीका अनुसार लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही लगायत जिल्लाबाट रसुवास्थित जलविद्युत् आयोजनामा कार्यरत सर्वसाधारण बाढीपछि सम्पर्कविहीन भएका हुन् । यसरी हराएका व्यक्तिबारे कुनै जानकारी नपाएपछि परिवारजन चिन्तित बनेका छन् । धेरै सर्वसाधरण आफ्नै पहलमा प्रभावित क्षेत्रमा पुगिरहेका छन् । भने, केही पालिकाले पनि सहयोग गरिरहेका छन् ।
लुम्बिनीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि रसुवा पुगेका व्यक्ति सम्पर्कबाहिर रहेकाले उनीहरूका परिवार छटपटिरहेका छन् । आफन्त पत्ता लगाइदिन अनुरोध गर्दै सामाजिक सञ्जालमा पनि सूचना लेखिरहेका छन् । हराएका आफन्तको अवस्था बुझ्न र पहिचानका लागि परिवारजन रसुवा, नुवाकोट, धादिङ, चितवन, कास्कीलगायत जिल्लामा पुगिरहेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिकाबाट सम्पर्कविहीन आफन्तका परिवारजन र जनप्रतिनिधिको टोली शनिबार पोखरास्थित शव राखिएको अस्पताल पुगेको थियो । उक्त टोली आइतबार नवलपुर पुगेका छन् । बाढी आएको दिनबाटै रसुवामा आफन्त रहेका व्यक्ति चिन्तामा थिए । बाढीले रसुवामा रहेका एक दर्जन जलविद्युत आयोजना प्रभावित भएका कारण धेरै आफन्त बाढीमा परेको आशंकामा उनीहरु खोजीमा जुटेका हुन् ।
भोटेकोशी बाढीपछि चितवनमा सबैभन्दा धेरै शव संकलन गरिएको थियो । त्यसपछि नवलपुर र पश्चिम नवलपरासीस्थित नारायणी नदीको तटबाट समेत शव संकलन गरिएको छ । चितवनमा संकलन गरिएका शव शनिबार रामनगरस्थित सामुदायिक वनमा व्यवस्थापन गरिएको छ भने नवलपुरमा आइतबार शव व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
पश्चिम नवलपरासीमा भेटिएका शवमध्ये १९ वटा शव बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार भैरहवा, पाल्पा र कपिलवस्तुमा पनि केही शव राखिएका छन् ।
शव राखिएका अस्पतालमा आफन्त पहिचानका लागि सर्वसाधारण आउने क्रम जारी छ । अधिकांश अस्पतालबाहिर पहिचानका लागि शवका तस्बिर राखिएका छन् । यसैगरी व्यवस्थापन गरिएका शवबाट समेत डीएनए नमुना संकलन गरिएको जनाइएको छ । बाढीपछि सम्पर्कविहीन आफन्तको अवस्था पत्ता लगाउन परिवारजन जिल्ला–जिल्लामा पुगिरहेका छन् । शवको पहिचान र बेपत्ताको खोजी कार्य जारी रहेकाले परिवारजन अझै आफ्ना आफन्तको खबरको प्रतीक्षामा छन् ।








प्रतिकृया दिनुहोस्