June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

लुम्बिनीका ५ हजार विद्यार्थीलाई विद्युतीय सुरक्षा सम्बन्धि प्रशिक्षण दिइँदै

Advertisement

भैरहवा– बढ्दो विद्युतीय दुर्घटनालाई न्युनिकरण गर्न नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले विद्युतीय सुरक्षा सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालको तयारी गरेको छ ।

Advertisement

विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै पछिल्लो समयमा बढ्दै गएको बिद्युतीय दुर्घटनालाई न्युनिकरण गर्न उक्त कार्यालयले लुम्बिनी प्रदेश भरि सचेतना कार्यक्रम संचालन गर्ने भएको हो ।

सचेतना कार्यक्रम अन्तर्गत पहिलो चरणमा लुम्बिनी प्रदेशमा रहेका धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयहरुमा एक हप्तासम्म विद्यार्थीहरुलाई यस सम्बन्धि प्रशिक्षण दिइने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनियर हरिप्रसाद पाण्डेले बताए । यो प्रशिक्षण आउँदो आइतबारदेखि प्रदेशका १ सय भन्दा धेरै सामुदायिक विद्यालयमा सञ्चालन गरिने उनले जनाए ।

‘पछिल्लो समयमा विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै बिद्युतीय दुर्घटना पनि बढ्दै जान थालेपछि सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्न जरुरी देखिएको हो’, पाण्डेले पब्लिक कुरासँग भने, ‘यस वारेमा विद्यार्थीलाई प्रशिक्षण दिएमा सुरक्षा सचेतना प्रभावकारी हुने देखिएकाले विद्यालयमा सचेतना कार्यक्रम गर्न लागिएको हो ।’

विद्यार्थीले आफूले सिकेको कुरा आफ्ना अभिभावक र समाजमा पनि जानकारी दिने भएकाले विद्युतीय सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम प्रभावकारी हुने मानिएको हो । लुम्बिनी प्रदेश भरि ५ हजार विद्यार्थीलाई यस समबन्धि प्रशिक्षण दिने लक्ष्य प्राधिकरणको छ ।

‘विद्युतीय दुर्घटनाबाट मान्छे मर्ने क्रम बढ्दो छ भने घरघरमा विद्युतीय उपभोगको क्रम बढ्दो छ, विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दो छ’, पाण्डेले भने, ‘विद्युतीय दुर्घटनाको क्रमलाई हेर्दा सबैभन्दा धेरै सिंचाईका लागि मोटर चलाउँदा र बिजुलीको तारमा हुकिङ गरेर विद्युत चोर्ने क्रममा करेन्ट लागेर मर्नेको संख्या धेरै छ ।’

बिजुलीको सुरक्षित उपयोग कसरि गर्ने, चट्याङबाट कसरि जोगिने, विद्युत चोरी गर्दा के–कस्तो जोखिम हुन्छ र जरिवाना हुन्छ, बिजुलीको महसुल छिटो र ढिलो बुझाउँदा हुने छुट र थप दस्तुर लगायतका विषयमा विद्यार्थीलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक ईञ्जिनियर रामप्रसाद ज्ञवालीले जनाए ।

प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय अन्तर्गत रहेका २१ वटा विद्युत बितरण केन्द्रले प्रशिक्षण दिने छन् । भैरहवामा भानु माविमा प्रशिक्षण दिइने छ । कार्यक्रम संचालन गर्नका लागि इच्छुक अन्य विद्यालयहरुले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्न सक्ने ज्ञवालीले जनाए ।