अस्पतालको आन्दोलन टुङ्ग्याउन गरिएको बारम्बार बार्ताले सार्थकता पाउन सकेन


भैरहवा–आपसी छलफल र बार्ताको माध्यमबाट अस्पतालमा जारी आन्दोलन टुङ्ग्याउनका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा गरिएको पटक पटकको पहल र प्रयासले सार्थकता पाउन सकेको छैन ।
१२ बुँदे माग राख्दै अस्पतालका नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीले बिगत दस दिनदेखि जारी राखेको आन्दोलन कुनै टुङ्गोमा पुग्न नसकेको हो । आन्दोलनरत पक्षले राखेका मागका बारेमा आन्दोलनरत पक्ष र अस्पताल व्यवस्थापन पक्ष बिच भने पटक पटक बार्ता र छलफल भैरहेका छन् ।
पछिल्लो पटक सोमवार साँझ दुई पक्ष बिच बसेको वार्तापनि कुनै निष्कर्षमा पुग्न नसकेपछि अस्पतालको अवस्था अस्तव्यस्त हुन पुगेको छ । जारी आन्दोलनका कारण उपचारका लागि अस्पतालमा पुगेका हजारौं बिरामी समस्यामा पर्दै आएका छन् ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स निजी क्षेत्रद्वारा सञ्चालित मुलुककै अग्रणी अस्पतालमध्येमा पर्दछ । नेपाल नर्सिङ संघले गत कात्तिक १ गते स्वास्थ्य मन्त्रालयमा पेस गरेका मागलाई नै अनुसरण गर्दै कात्तिक २ गतेदेखि यस अस्पतालमा आन्दोलन सुरु भएको हो ।
आन्दोलन सुरु भएपछि बाट नै दुई पक्ष बिच पटक पटक बार्ता भएको छ । तर बार्ताले सार्थकता पाउन सकेको छैन । आन्दोलनरत पक्षको माग पनि अन्य स्थानका अस्पतालमा जारी आन्दोलनरत पक्षको भन्दा यहाँ फरक छन् । आन्दोलनरत पक्षले नेपाल नर्सिङ संघले केन्द्रिय स्तरमा राखेका माग भन्दा फरक खालका माग यस अस्पतालमा राखिएका छन् । माग पुरा गर्ने बारेमा अस्पताल व्यवस्थापन पक्ष लचिलो देखिएको छ । आन्दोलनरत पक्ष माग पुरा नभएसम्म आन्दोलनमा कुनै फेरबदल नहुने अडानमा छ ।
‘आन्दोलनरत पक्षले राखेका मागलाई सम्बोधन गरी यथाशिघ्र चाँडो आन्दोलन टुङ्ग्याउन हामी हदैसम्म लचिलो बनेर आपसी बार्ता र छलफलको प्रकृयालाई निरन्तरता दिएका छौं’ युनिभर्सल कलेज अफ मेडिकल साइन्सका प्रमुख बित्तिय प्रमुख सुरज पौडेलले भने, ‘आन्दोलनरत पक्षले यहाँ राखेका मागहरू अन्य अस्पतलमा राखिएका भन्दा फरक छन् ।’

आन्दोलनरत पक्षले राखेका सबै मागलाई समाधान गर्नका लागि छलफलमा एक एक गरेर आपसमा कुरा गरिएको र आपसमा कुरा गर्दा आन्दोलनरत पक्षबाट बार्तामा सहभागी भएका प्रतिनीधिले मौखिक सहमति जनाउने गरे पनि कार्यान्वयन भने हुन नसकेको उनले बताए ।
उक्त अस्पतालमा नर्सिङ्ग तथा प्यारामेडिक्स कर्मचारीले गरेको आन्दोनलाई फार्मेसी र ल्याबका कार्यरत कर्मचारीले पनि समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् । आन्दोलनरत पक्षले अहिलेसम्म असोज ३१ देखि कात्तिक ९ गतेसम्म चार पटक अस्पताल व्यवस्थापन पक्ष तथा प्रशासनसँग माग पेश गरेका छन् ।
कात्तिक ९ गते पेस गरिएको मागमा हालको तलव संरचना पुनरावलोकन गरी सरकारले तोकेको तलब स्केल अनुसार लागु गरिनु पर्ने, अस्पतलामा पर्याप्त जनशक्तिको व्यवस्था गरिनु पर्ने, उचित ड्युटी समय, विश्राम अवधि र बिदा सुबिधा श्रम ऐन र स्वास्थ्य सेवा मापदण्ड अनुसार गरिनु पर्ने, नर्श तथा प्यामेडिक्सलाई उचित सम्मान गरिनु पर्ने, अस्पतालमा प्रर्याप्त चेन्जिङरुम, नर्सिङरुम, लकरको व्यवस्था गरिनु पर्ने छन् ।
यसैगरी, शैक्षिक योग्यता र कार्य अनुभवको आधारमा नियमित स्तर बृद्धि तथा बढुवाको व्यवस्था, सेवा गर्दा जोखिम भत्ताको व्यवस्था, आमा सुरक्षित कार्यक्रम अनुरुप सरकारले तोके अनुरुपको सुबिधा, मासिक तलव पछिल्लो महिनाको पहिलो हप्ता भित्रै उपलब्ध गराइनु पर्ने, योजना अनुरुपको कर्मचारीले दिदा तीन महिनासम्म तलव रोक्का नगरी राजिनामाको अवधि एक महिनासम्म मात्र राखिनु पर्ने र सेवामा कार्यरत रहँदा मानसिक शारीरिक, स्वास्थ्यमा जोखिम भएमा वा कुनै दुर्घटना भएमा अनिवार्य क्षतिपुर्तिको माग राखिएको छ ।

वित्त प्रमुख पौडेलले १२ वटँै मागका बारेमा एक एक गरेर आन्दोलनरत पक्षसँग छलफल भएको जनाउदँै पहिलो माग सरकारले तोकेको तलव स्केल अनुसार लागु गर्नु पर्ने भन्ने मागका वारेमा स्वास्थ्य सचिवको संयोजकत्वमा मन्त्रालयद्वारा गठित कार्यदलले कात्तिक १८ गतेसम्ममा दिने प्रतिवेदन अनुसार कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइएको बताए ।
‘अन्य अधिकाङ्श मागहरू पनि क्रमशः पुरा गर्दै जानेर प्रतिवद्धता हामीले जनाएका छौं’ पौडेलले भने, ‘उहाँहरूले पनि हामीले गरेको प्रतिवद्धताप्रति छलफलमा मौखिक सहमति जनाउनु हन्छ तर कार्यान्वयन हुनमा समस्या भैरहेको छ ।’
सरकारी सरह पारिश्रमिक माग गर्दै देशका विभिन्न निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सले कालोपट्टी बाँधेर चरणबद्ध रुपमा आन्दोलन कार्यक्रम गरिरहँदा यो अस्पतालमा भने डायलोसिस सेवा बाहेक र भर्ना भैसकेको बिरामीको सेवा बाहेक अन्य सवै उपचार सेवा आन्दोलनले प्रभावित छ । माग पुरा नभएमा मंगलवारदेखि अस्पतालका सवै सेवा ठप्प पार्ने चेतावनी आन्दोलनरत पक्षले दिएको छ ।
आन्दोलनरत पक्षले पनि समस्या समाधानका लागि बार्ता र छलफल गर्ने गरिएपनि कुनै निष्कर्ष नआएको बताएको छ ।
‘हामीले बार्ता र छलफलमा अस्पताल व्यवस्थापन पक्षबाट जुन आशा राखेका थियौं त्यो अनुरुप हाम्रा माग समबोधन हुन सकेनन्’ नाम उल्लेख नगर्न आग्रह गर्दै सोमवार साँझ वार्तामा सहभागी एक नर्सले भनिन्, ‘सरकारले कायम गरेको मापदण्ड अनुरुप तलबउपलब्ध गराउनु पर्ने र अस्पतालमा पर्याप्त जनशक्ति थप्नु पर्नेमा सकारात्मक देखिए पनि अन्य मागमा सकारात्मक देखिएन ।’
यस अस्पतालमा आफूहरूले गरेको यो आन्दोलन युनिभर्सल शिक्षण अस्पतालका मात्र विरुद्ध नभएर सरकार आपूmले लागु गरेको तलव मापदण्डलाई आपैmले कार्यान्वयन गर्न नसकेकोले कार्यान्वयन गराउन दवाव स्वरुप सरकारप्रति पनि लक्षित रहेको उनले बताइन् ।
माग पुरा नभएमा मंगलवारदेखि सवै सेवा ठप्प पार्ने चेतावनी दिइएको भएपनि मानवीयता र संवेदनशीलताको कारण आन्दोलनलाई यस भन्दा अगाडिको यथास्थितिमा राखिने उनले जनाइन् । ‘हाम्रो आन्दोलनले पक्कै पनि अस्पताललाई असहजता भएको छ र हामी त्यसप्रति क्षमाप्रार्थी छौं’ पब्लिककुरासँग उनले भनिन्, ‘सरकरले अव अस्पताल र आन्दालनरत पक्ष दुवैको कुरा सुनेर उचित निकास दिई आफ्नो निर्णय कार्यान्वयन गर्न सक्नु पर्छ ।’

लगातार दस दिनदेखि यो आन्दोलनले युनिभर्सल शिक्षण अस्पताल अस्तव्यस्त हुन पुगेको छ । इमर्जेन्सी सेवामा सामान्य प्राथमिक उपचार गरेर बिरामीलाई फर्काउने गरिएको छ । अस्पतालमा कुनैपनि बिरामीलाई भर्ना गरिएको छैन । नत शल्यक्रिया जस्ता अति संवेदनशील उपचार नै भएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले चरणबद्ध आन्दोलनको सट्टा अकस्मात धेरै सेवा प्रभावित हुने गरी आन्दोलन गरिनुले समस्या बढेको बताए ।
‘राखिएका सवै मागप्रति हामी संवेदनशील छौं र यथाशिघ्र जायज मागहरू पुरा पनि गर्दै जाने पक्षमा हामी छौं’ पीएसले भने, ‘अस्पताल जस्तो अति संवेदनशील क्षेत्रमा कुनै सुनुवाइ नै गर्ने समय नदिइ अकस्मात् विभिन्न माग राखि आकस्मिक कक्ष, सघन उपचार कक्ष (आइ.सी.यु., सी.सी.यु., एस.आइ.सी.यु. जस्ता सेवा नै प्रभावित पार्ने प्रति पनि आन्दोलनरत पक्ष संवेदनशील बन्नु पर्छ ।’
उनका अनुसार, युनिभर्सल शिक्षण अस्पतालमा दैनिक ८ सय देखि ९ सयसम्मको संख्यामा बिरामी ओपीडिमा र इमर्जेन्सीमा ५० को हाराहारी संख्यामा बिरामी उपचारका लागि आउने गर्छन् । दैनिक सरदर २० जनाको प्रसुतितर्फ र सरदर २५ को संख्यामा अन्य शल्यक्रिया हुने गर्छ ।
‘नयाँ बिरामी भर्ना नै बन्द भएपछि सवै उपचार सेवा प्रभावित भएको छ’ पीएसले भने, ‘तत्काल अप्रेशन गर्नु पर्ने करिव ३ सय जति केस पेन्डिङ् छन् ।’








लेखकको सम्वन्धमा