भिक्षुहरूको तीन महिनाको वर्षवास समापन

भैरहवा– भिक्षुहरुको तीन महिने वर्षवास सकिएको छ । बौद्ध धर्मावलम्बी भिक्षुहरू कहीँकतै नगई एकै स्थान विहार र मोनास्ट्रीमा ध्यान साधना र देशना गरी वर्षावास बस्छन् । बुद्धकालीन समयदेखि नै चलिआएको यो परम्परा यसपटक पनि कायम थियो ।
बुद्ध जन्मस्थल लुम्बिनी, प्राचीन कपिलवस्तु (तिलौराकोट), निग्रोधाराम, महावन र रामग्राममा यस वर्ष भिक्षुहरू वर्षाबास बसेका थिए । तीन जिल्लाका पाँच ठाउँमा वर्षवास बसेका भिक्षुहरुको तीन महिना पुगेपछि वर्षवास सकिएको हो ।
बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटि कमजोरीबाट पाप नलागोस्, क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षावास बस्ने गर्छन् । वर्षाबासका बेला साँझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गरिन्छ । त्यस बेला बुद्ध, धर्म र संघ गुन तथा धर्म देशना गर्दै पूजाआजा गरिन्छ ।
यसरी वर्षाबास बस्नकै लागि थाइल्यान्डबाट २२ जना भिक्षु नेपाल आएका थिए । उनीहरू लुम्बिनीको रोयल थाई विहार र शाक्यमुनि विहारमा बसेका थिए । त्यस्तै लुम्बिनीको म्यान्मार गोल्डेन टेम्पल, श्रीलंका महाविहार र महाबोधी सोसाइटीमा पनि वर्षाबास बसेका थिए ।
कपिलवस्तुको तिलौराकोट, निग्राोधाराम र महावन तथा पश्चिम नवलपरासीको रामग्राममा नेपाली, थाई, म्यान्मार र श्रीलंकाका गरी ४० जना भिक्षु विभिन्न विहारमा वर्षावास बसेका थिए ।
असारदेखि असोज पूर्णिमासम्म तीन महिना वर्षावास हुन्छ । वर्षावास बस्ने भिक्षुले पुण्य संचय गर्ने जनविश्वास छ । वर्षावास सकिएको एक महिना कार्तिक पूर्णिमाभित्र कठिन चिवर दान गरिन्छ । त्यसलाई कठिन उत्सव पनि भनिन्छ । अनुशासन र नियममा बसेर वर्षावास बस्ने भिक्षुलाई कठिन चिबर पहेँलो वस्त्र (चिवर) प्रदान गरिन्छ । त्यसपछि वर्षावास पूरा हुन्छ । बुद्ध धर्ममा थेरवादी सम्प्रदायमा मात्र वर्षावास बस्ने चलन छ । कठिन चिबर उत्सव वर्षबास बसेका प्रत्येक विहारमा मनाइन्छ ।
प्रतिकृया दिनुहोस्