September 19, 2025, Friday
२०८२ आश्विन ३ शुक्रबार

लुम्बिनीमा मनाइयो संविधान दिवस, परिवर्तन यही संविधानबाटै खोज्नुपर्नेमा जोड

दाङ– लुम्बिनी प्रदेश सरकारले संविधान दिवस मनाएको छ । प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका (देउखुरी) मा शुक्रबार मूल समारोह आयोजना गरेर संविधान दिवस मनाइएको हो । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ मुख्य संकल्पसहित दिवस मनाइएको हो । कार्यक्रममा स्थानीयको समेत बाक्लो उपस्थिति थियो ।

Advertisement

मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप कार्यशैलीमा परिवर्तन गर्दै सबैको विश्वास जितेर अघि बढ्नु आजको आवश्यकता भएको बताए । ‘युवा पुस्ताको चाहनाअनुरूप हाम्रो काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढंगले अघि बढाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ’, उनले भने, ‘लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधानको कार्यान्वयन नै हाम्रो साझा लक्ष्य हो । यही लक्ष्यले मुलुकलाई निकास दिनेछ भन्नेमा म विश्वस्त छु ।’

सभामुख तुलाराम घर्तीमगरले संविधानभित्रैबाट निकास खोजिनुपर्ने बताए । ‘हाम्रो संविधान अब्बल संविधान हो । यही संविधानभित्र बसेर युवा पुस्ताको सोचलाई सम्बोधन गर्दै अघि बढ्न सकिन्छ’, उनले भने, ‘अहिले देखिएको विद्रोहको व्यवस्थापन पनि संविधानभित्रै गर्नुपर्छ । अब सबैले आत्मसमिक्षा गरेर कार्यशैली बदल्न सक्नुपर्छ । जनता असन्तुष्ट हुनेगरी काम गर्नु हुँदैन ।’

पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानलाई अझ माटो सुहाउने गरी परिमार्जन गरेर सबैका भावनालाई समेट्न आवश्यक रहेको बताए । ‘सबैका आ–आफ्ना गुनासा छन् । ती गुनासालाई संविधानलाई अझ माटोसँग सुहाउने बनाउँदै समेट्न जरुरी छ । यो सबैको कर्तव्य हो । यही संविधानमा टेकेर देशको विकास गर्ने दायित्व सबैकै हो’, उनले भने, ‘सबै नेपालीलाई एक ठाउँमा ल्याउन जरुरी छ । सुशासन र विकास दिन जरुरी छ । अराजकतामा सुशासन खोज्नु जटिल हुन्छ । घुसपैठ र आगजनीको पूर्ण छानबिन हुन जरुरी छ ।’

त्यसैगरी, पूर्व मुख्यमन्त्री जोखबहादुर महराले सामाजिक परिवर्तनको नेतृत्व वर्तमान संविधानले गर्नुपर्ने बताए । ‘यो संविधान दस वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गर्दैछ । यो लामो अवधि हो । धेरै परिवर्तन भइरहेका हुन्छन् । अब सामाजिक परिवर्तनको नेतृत्व संविधानले नै गर्नुपर्छ’, उनले भने, ‘विकासको जुन चरण हुन्छ, त्यसलाई संविधानले समेट्दै लैजानुपर्छ । नयाँ समाजलाई दिशा देखाउन सक्ने क्षमता संविधानले राख्दछ ।’ उनले राजनीतिक अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आवश्यक सुधार ल्याउनुपर्ने धारणा राखे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवाल, प्रमुख सचिव बाबुराम अधिकारी लगायतले संविधाको रक्षामा जोड दिए । कार्यक्रममा प्रदेश सभाका बिषयगत समितिका सभापति, प्रमुख सचेतक, सचेतक तथा सदस्यहरु, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, स्काउट विद्यार्थी तथा स्थानीय समुदायको सहभागिता थियो ।