मौकामा चौका, दोब्बर बढ्यो हवाई भाडा

भैरहवा– दशैंको मौंका छोपेर मुलुकमा आन्तरिक उडान भर्ने वायु सेवा कम्पनीले भाडा बृद्धि गरेपछि सर्वसाधरण मर्कामा परेका छन् । दशैं अगाडि मुलुकभर भारी वर्षा भइरहेको छ । जसले गर्दा राजमार्गमा यात्रा गर्न सहज छैन । बुटवल–नारायणगढ लगायत मुलुकमा प्रमुख राजमार्ग स्तरोन्नतीमा भएको ढिलाईले गाडीबाट यात्रा सहज छैन ।
यस्तो बेला विकल्पका रुपमा रहेको हवाई यातायात पनि महंगो भएपछि नागरिक मारमा परेका छन् । दशैंको मौंका छोपेर हवाई कम्पनीले भाडा दोब्बर बनाएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिन अघि भैरहवा–काठमाडौं उडान भर्ने वायु सेवा कम्पनीका स्टेशन म्यानेजर र गौतम बुद्ध विमानस्थलका प्रतिनिधि बोलाएर भाडाका विषयमा छलफल गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए ।
‘मुलुकभित्रै यात्रा सहज नभएका बेला वायु सेवा कम्पनीले अचाक्ली भाडा बढाएका छन्,’ उनले भने, ‘भाडाका विषयका नागरिकले प्रशासनसित गुनासो गरिहेका छन् । हामीले वायुसेवा कम्पनीका प्रतिनिधि बोलाएर यस विषयमा छलफल गरेका छौं ।’
यसअघि भैरहवा–काठमाडौं एकतर्फी भाडा ५ हजार रुपैयाँ भन्दा बढी थियो । अहिले बृद्धि गरेर दोब्बर बनाइएको छ । बुटवल–नारायणगढ खण्ड सहज भएका बेला भैरहवा–काठमाण्डौं एकतर्फी भाडा १ हजार ८ सम्म झरेको थियो । त्यतिबेला ३ हजार रुपैयाँ भन्दा बढी भाडा हुन्थेन ।
वायुसेवा कम्पनीहरूले थोरै यात्रुको चाप हुने गन्तव्यको तुलनामा धेरै यात्रु हुने स्थानको भाडा अधिक बढाएका छन् । भैरहवा, धनगढी, नेपालगन्ज, भद्रपुर, विराटनगर अन्य गन्तव्यको तुलनामा अत्यधिक यात्रु हुने गन्तव्य हो । काठमाडौँबाट उडान हुने मुख्य गन्तव्यमा बुद्ध एअरलाइन्स, यती एअरलाइन्स र श्री एअरलाइन्सको सबैभन्दा धेरै उडान छ । बुद्ध र यती एअरलाइन्सले भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, सिमरा, पोखरा र नेपालगन्जमा उडान गर्दै आएका छन् । बुद्ध एअरलाइन्सले चितवनको भरतपुरमा पनि उडान गर्छ ।
बुद्ध एअरले १६ वटा एटीआर–७२–५०० जहाजमार्फत देशभर दैनिक करीब ८० वटा उडान गर्दै आएको छ । दसैँको समयमा उडान संख्या अझ बढ्छ । बुद्ध एअरसँग तीन वटा एटीआर–४२–३२० जहाज पनि छन् । यती एअरलाइन्ससँग अहिले सात वटा एटीआर ७२–५०० जहाज छन् । यतीकै स्वामित्वमा रहेको तारा एअरले दुर्गम गन्तव्यमा उडान गर्दै आएको छ । तारा एअरसँग ट्वीनअटर डीएचसी–३०० को एउटा र ट्वीनअटर भिकिङ ४०० सिरिजका दुई वटा विमान छन् ।
श्री एअरलाइन्ससँग ११ वटा फिक्स विङ्स जहाज छन् । यिनीहरू ८० सिटे जहाज हुन्। श्री एअरलाइन्सले काठमाडौँ विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र पर्वतीय उडानहरू सञ्चालन गरिरहेको छ । हवाई सेवा कम्पनीहरूले सस्तो मूल्यको टिकट सकिएको बहानामा सबैजसो यात्रुलाई अधिकतम मूल्यको टिकट बिक्री गर्छन् ।
दसैँको सम्मुखमा वर्षा भइरहेको, स्थलमार्ग विभिन्न ठाउँमा अवरुद्ध रहेकाले यात्रुहरूको रोजाइमा हवाई यात्रा परेको छ । सबैभन्दा बढी यात्रुको चाप हुने नागढुंगा–मुग्लिन सडक विस्तारको क्रममा छ । बीपी राजमार्गमा गत वर्ष असोजको बाढीले क्षति पुर्याएका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ छ । नारायणगढ–बुटवल सडकखण्ड पनि निर्माणका क्रममा रहेकाले सहजै यात्रा गर्न सकिने अवस्था छैन । एकातिर सडकमार्गको दुरवस्था र यात्रा कष्टकर हुने र अर्कातिर चाडबाडमा छिटोछरितो यात्रा गर्न धेरैले हवाई यात्रा रोज्ने भएकाले हवाई यात्रुको चाप हुने देखिन्छ । यसैको फाइदा लिएर वायुसेवा कम्पनीहरूले टिकटको मूल्य यात्रुको ढाड सेक्ने गरी बढाएका छन् ।
प्रतिकृया दिनुहोस्