September 19, 2025, Friday
२०८२ आश्विन ३ शुक्रबार

शान्ति–सद्भावको कामना गर्दै बेलहिया–भैरहवा र्‍याली

भैरहवा– जेनजी आन्दोलनपछि असहज बनेको रुपन्देहीको वातावरणलाई पूर्ववतः अवस्थामा फर्काउन भैरहवामा शान्ति–सद्भाव र्याली निकालिएको छ । शुक्रबार बहिान ८ बजे नेपाल–भारत सीमा नाका बेलहियादेखि भैरहवाको बुद्धचोकसम्म शान्ति–सद्भाव र्याली निकालिएको हो ।

Advertisement

लुम्बिनी प्रेस क्लब, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्स, रुपन्देही, सिद्धार्थ सञ्जाल, रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रालि, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, सिद्धार्थ होटल संघ नेपाल, भैरहवा मर्निङवाक गु्रप, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही र पश्चिमाञ्चल यायायात प्रालिले संयुक्त रुपमा शान्ति ¥याली निकालेका हुन् ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले जेनजीहरुको आन्दोलनले एउटा मोड लिइसकेको अवस्थामा अब पनि बन्दहड्ताल र तोडफोड गर्नुहुँदैन, समाज र सिंगो देशलाई एकढिक्का बनाएर राख्नुपर्छ भन्ने उद्देश्यले शान्ति–सद्भाव र्याली निकालिएको बताए

‘भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका क्रममा केही व्यक्तिहरुले घुसपैठ गरेर सरकारी र निजी सम्पत्तिमाथि आक्रमण गरे’, उनले भने, ‘फेरि त्यस्ता तत्वहरुले समाजलाई विध्वंशतर्फ लैजान सक्छन् । यसैले सबै एकठाउँ हुनुपर्छ भन्ने सन्देश दिन र्याली आयोजना गरिएको हो ।’ उनले उद्योगी–व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, सामाजिक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागितामा नेपाल–भारत सीमा नाका बेलहियादेखि बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको बुद्धचोकसम्म र्‍याली निकालेर भैरहवाले मुलुकभर एकता, शान्ति र भाइचाराको सन्देश प्रवाह गरेको जनाए ।

‘मुलुकमा शान्ति स्थापना हुनुपर्छ । हरेक नागरिकले सुरक्षा पाउनुपर्छ । निजी व्यवसायिक प्रतिष्ठान चल्नुपर्छ । भएको क्षतिलाई पुनर्निर्माण गरी अब वर्तमान स्थितिलाई सहज गराउनुपर्छ’, उनले भने, ‘यसको अर्थ अब देशले निकास पाउनुपर्ने बेला आएको छ ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले सबै सहयोग र सद्भावले समाजमा शान्ति र सद्भाव कायम गर्न सकिने जनाए । ‘आ–आफ्ना पेशा र व्यवसायलाई मर्यादित तथा सुरक्षित ढंगबाट अगाडि बढाउन जरुरी छ’, उनले भने, ‘शान्ति–सुव्यवस्था कायम गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्पन छैन । पछिल्लो समय घटेका घटनाबाट मर्माहत भएको उनले जनाए ।

‘धेरै निजी र सरकारी सम्पत्तिहरुमा क्षति भएको छ’, उनले भने, ‘आन्दोलनको निहुँमा लुटपाट, आगजनी, तोडफोड लगायतका घटना भए । त्यसमा संलग्न व्यक्तिहरुको फुटेज, भिडियो लिएका छौं । अब क्रमशः उनीहरुलाई पक्राउ गरेर कानूनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौं ।’

सडकमा आएर अराजक गतिविधि निम्त्याउनेहरुमाथि बल प्रयोग गरिने र उनीहरुको फोटो, भिडियो लिएर उनीहलाई नियन्त्रणमा लिएर कानूनी कारवाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । उनले प्रहरी–प्रशासनलाई साथ र सहयोग गरेर शान्ति–सुव्यवस्था कायम गर्न मद्दत पुर्याउन सबैमा आग्रह गरे ।

स्थानीय युवा सागर ज्ञवालीले भ्रष्टाचारविरुद्ध जेनजी समूहले गरेको आन्दोलनमा केही अराजक तत्वको घुसपैठका कारण क्षति पुगेको जनाए । ‘आन्दोलनमा क्रममा निधन भएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्छु’, उनले भने, ‘अब हामीले क्षतिलाई शक्तिमा बदल्नुपर्छ । जेनजी युवाहरुले भनेजस्तै भ्रष्टाचार निस्तेज पारी सुशासन कायम गर्नुपर्छ ।’ ज्ञवालीले अब देश नयाँ बाटोमा गएको बताए । उनले नयाँ नेपाल बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवाहरुका जायज माग सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै युवाको जायज मागप्रति निजी क्षेत्रको ऐक्यबद्धता रहेको स्पष्ट पारे । अब पुनर्निर्माण र विकास, शान्ति तथा सुव्यवस्था कायम गर्नुपर्ने जनाए ।

रुपन्देहीमा आन्दोलनमा क्रममा सरकारी निकायका भवन, निजी सम्पत्ति, होटल, व्यवसायिक भवनमा तोडफोड, आगजनी तथा लुटपाट हुँदा ठूलो क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ ।