‘भैरहवा बसाइँ जागिरे जीवनकै अविस्मरणीय क्षण’


‘बाइ–बाइ भैरहवा, अनि सधै–सधै हृदयमा रहनेछ समग्र रुपन्देही’, प्रस्तुत वाक्यांश निवर्तमान भैरहवा भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले जिल्ला छाड्दैं गर्दा सम्झनास्वरुप उल्लेख गरेका हुन् । रुपन्देही बसाइँलाई स्मरण गर्ने क्रममा उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो कार्यानुभव उल्लेख गरेका छन् । यसक्रममा आफूले भोग्नु परेका उतारचढाव साथै रुपन्देहीका हरेक क्षेत्रबाट प्राप्त साथ सहयोगले बसाइँ स्मरणीय बनेको उल्लेख गरेका छन्–ः
२०८१ भदौं २३ गते भैरहवा भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रूपमा कार्यभार समाल्दा केहि उत्साह र धेरै चुनौती महसुस गरेको थिएँ । मेची–महाकाली र हिमाली क्षेत्रमा काम गरेको अनुभव हुँदाहुँदै यो क्षेत्र मेरा लागि कहिल्यै काम नगरेको नयाँ भौगोलिक क्षेत्र थियो । त्यसमाथि वर्तमान सरकारका माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्युको आफ्नै गृह जिल्ला पनि हो । रुपन्देहीमा ७० दशमलव २ किलोमिटर भन्दा लम्बाई भएको खुला सिमाना र त्यहाँबाट हुने चोरीपैठारी र तस्करी रोक्दै बैध ब्यापारमा सहजीकरण गर्ने र यहाँको उद्योग ब्यापार र पर्यटनको प्रबद्र्धन गर्दै बढी भन्दा बढी राजस्व संकलन गर्ने मुख्य जिम्मेवारी र चुनौती थियो ।
आज यहाँको प्रमुख भन्सार अधिकृतको जिम्मेवारीबाट बिदा हुँदा यस कार्यमा पूर्णता प्राप्त नभए तापनि केही सफलता पक्कै प्राप्त भएको महसुस गरेको छु । आर्थिक बर्ष ०८१–८२ मा करिब १८ प्रतिशत अथवा १५ अर्ब राजस्व वृद्धि भएको छ । संगठित रूपमा संस्थागत संरक्षणमा हुने तस्करी रोकिएकै कारण सजिव वा निर्जीव नाममा त्यहाँका ढुङ्गागिट्टी समेत बोल्न थालेका छन् । त्यसैले चालु आबको श्रावण महिनामा लक्ष्य भन्दा करिब १७ करोड बढी राजस्व असुल भएको छ भने भदौं ८ गतेसम्मको असुली हेर्दा लक्ष्य भन्दा पनि ४० प्रतिशत बढी असुल हुने देखिएको छ ।
भैरहवा भन्सारमा कार्यरत रहँदा नै भन्सारको प्रमुख सेवाग्राही संस्था चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशबाट भन्सार दिवसमा प्रतिनिधि सभा, अर्थ समितिका माननीय सभापतिज्युको हातबाट प्रदेश भित्रकै उत्कृष्ट भन्सार प्रमुखको सम्मान प्राप्त गर्ने अबसर प्राप्त भयो । सिद्धार्थ उधोग बाणिज्य संघ, रुपन्देहीबाट कार्यक्रममै भनिए अनुसार सो संस्थाको स्थापना पश्चात् संस्थाले बिदाइ गर्ने पहिलो भन्सार प्रमुखको इतिहास कायम गर्न पाउँदा गौरव महसुस गरेको छु । आफ्नो संस्थाको अधिबेशनको ब्यस्तताका बाबजुद चेम्बर अफ कमर्स रुपन्देहीका पदाधिकारिहरु कार्यालयमै आएर बिदाइ गर्नुभएको छ ।
यस्तै बिदाइकै समय पारेर ३२ भन्दा बढी सामाजिक तथा ब्यावसायिक संस्थाको नेतृत्व गर्ने सिद्धार्थ संजाल रुपन्देही, भन्सारको पहिलो सेवाग्राहीहरुको संस्था भन्सार एजेण्ट संघ र पर्यटन ब्यावसायीहरुको संस्था सोटो लुम्बिनी समेतबाट प्राप्त गरेको सम्मान मेरा लागि सदैव अबिस्मरणीय रहने नै छ । भन्सार कार्यालयमै भब्य कार्यक्रम आयोजना गरेर बिदाइ गर्नुहुने सम्पूर्ण कार्यालय प्रमुखहरुको संस्था कर्मचारी मिलन केन्द्र परिवार, मेरा सफलताका सारथी भन्सार कर्मचारीहरु र जिल्ला तथा भन्सार क्षेत्रका सुरक्षा निकाय प्रमुखहरुप्रति समेत हार्दिक आभार व्यक्त गर्दछु ।
अन्तमा करिव एक बर्षको भैरहवा बसाई मेरो जागिरे जीवनको उत्तराद्र्र्धको अबिस्मरणीय क्षणको रुपमा रहन पुग्यो । मलाई कार्यक्षेत्रमा सफलताका लागि सहयोग गर्नुहुने भन्सार कर्मचारीहरु, इन्टरमोडल र अन्नपूर्ण टर्मिनल परिवार, भन्सार एजेन्ट संघ र सम्पूर्ण भन्सार एजेण्ट साथिहरु, उद्योग ब्यापार लगायत निजी क्षेत्रका सम्पूर्ण संघसंस्था र पदाधिकारीहरु, संचारकर्मी लगायत सम्पूर्ण नागरिक समाजप्रति आभार प्रकट गर्न चाहन्छु ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय लगायत सम्पूर्ण सरकारी संयन्त्र, राजनीतिक दलहरू, स्थानीय सरकार, प्रदेश सरकारका विभिन्न पदाधिकारी र कार्यक्षेत्रमा बारम्बार मार्गदर्शन गर्ने र सहजता प्रदान गर्ने भन्सार बिभाग तथा अर्थ मन्त्रालय परिवार र माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यु समेतमा हार्दिक कृतज्ञतासहित आभार व्यक्त गर्दछु । वैध व्यापार सहजीकरण र अवैध व्यापार नियन्त्रण गर्न र कानुन कार्यान्वयन गर्ने क्रममा मबाट कुनै असुविधा महसुस गर्नेहरुप्रति कार्यसम्पादनको क्रममा पूरा गरेको जिम्मेवारी सम्झि माफ गर्नुहुनेछ ।
(रेग्मी भैरहवा भन्सार कार्यालयका निवर्तमान भन्सार प्रमुख हुन् । उनी यही हप्ता मात्रै यहाँबाट सरुवा भएका छन् ।)








लेखकको सम्वन्धमा