April 22, 2025, Tuesday
२०८२ बैशाख ९

प्रविधिमैत्री सिद्धार्थनगर बनाउन हाम्रो प्रयास

सिद्धार्थनगर नगरपालिका नेपाल–भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ । भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थबाट यस नगरपालिकाको नामाकरण गरिएको छ । सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, संस्कृतिको साझा संगमको रुपमा यो नगरपालिका छ ।

Advertisement

वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्तिनगरमा हवाई मैदान निर्माण भएपछि बस्ती विकासले तिव्र गति लिएको पाइन्छ । वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो । वि.स. २०३३ सालदेखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो । १३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा सुनौली (महाराजगञ्ज जिल्ला, भारत)ले सिमाकंन गरिएको छ ।

पछिल्लो समय सिद्धार्थनगरमा विकास निमार्णले तिव्रता पाएको छ । नगरपालिकाको आन्तरिक आम्दानी तुलनात्मक रुपमा कम भई आफ्नो सिमित स्रोतसाधनका बाबजुत पनि नगरपालिकाले एशियाली विकास बैंक, संघीय र प्रदेश सरकाको सहयोगमा बिकासलाई अगाडि बढाइएको छ ।

यो वर्ष पनि एडीबीको सहयोगमा सडक, ढल, नाला तथा नगर सुन्दरीकरणका लागि काम हुँदैछ । यसका लागि ठेक्का भैसकेको छ भने छिट्टै नै निमार्ण कम्पनीले काम सुरु गर्ने छ । पछिल्ला वर्षहरुमा नगरपालिकालाई हामीले अधिकतम प्रबिधिमैत्री बनाउने प्रयास गरेका छौं । राजश्व भुत्तानी अनलाइन मार्फत गराइएको छ । नगरका मुख्य चोकहरुमा फ्रि वाईफाई जडान गरिएको छ । नगरको सुरक्षा एवं दुर्घटना न्युनीकरणका लागि अटोमेटिक नम्वर प्लेट रेकर्डर सिस्टम तथा नगरका बिभिन्न भागहरुमा सिसिटीभी क्यामरा जडान गरिएको छ । उज्यालो सहर बनाउने उद्देश्य अनुसार स्मार्ट लाइट तथा सडक बत्ती जडानलाई निरन्तरता दिइएको छ ।

नगरको सुन्दरीकरणका लागि नियमित सरसफाई पुष्प बृक्षरोपण गरिएको छ । फोहोरमैला ब्यवस्थापन गर्ने सवारी साधनहरुको अनलाइनकरण गरिएको छ । यसबाट फोहोरका गाडी कहाँ छन् र आफ्नो घरआँगनमा कतिबेला आइपुग्छ भनेर सजिलैसँग नगरबासीले पत्ता लगाउने गरी मोबाइल एप निमार्ण गरिएको छ । नगरबासीको स्वास्थ्यतर्फ निःशुल्क स्वास्थ्य शिविर, रण अम्बिका आँखा अस्पतालसँगको सहकार्यमा मोतीयाबिन्दुको अपरेशनको लागि सम्झौता गरिएको छ । निःशुल्क रगतका लागि रेडक्रससँग सम्झौता गरिएको छ ।

इरिक्सा ब्यबस्थापन गर्न दर्ता प्रक्रियामा ल्याइएको छ । भैरहवा बस पार्कलाई शुन्य प्वाइन्टको रुपमा बिकसित गरिएको छ । यसलाई थप प्रभावकारी बनाउने हाम्रो प्रयत्न जारी छ । हाल छाडा चौपाया अन्य पालिकाहरुसँग समन्वय गरेर ब्यबस्थापन गरिएको छ भने स्थायी रुपमा ब्यबस्थापनका लागि वडा नम्बर ११ मा आफ्नै कान्जी हाउस निमार्ण गर्न लागिएको छ ।

विद्यालयमा डिजिटल कक्षा निमार्ण गरिएको छ । बिपत व्यवस्थापनतर्फ खानेपानीका पाइपहरु भएका स्थानमा आवश्यकता अनुसार फायार हाइड्रहरु जडान गरिएको छ । यसलाई चालु आर्थिक वर्षमा समेत निरन्तरता लागि बजेट बिनियोजन भइ कार्य प्रारम्भ भएको छ । गरिव बस्ती निमार्ण कार्यक्रम अन्तर्गत मेयर आवास कार्यक्रम निरन्तर रुपमा भैरहेको छ ।

बेलहियामा रहेको अन्तर्राष्ट्रिय नाकामा प्रवेशद्वार निमार्णको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले यसको अलवा शिक्षा, स्वास्थ्य, सहकारी, कृषि लगायत सामाजिक बिकासका आर्थिक चलायमान हुने, आत्मनिर्भर हुने खालका लक्षित बर्गमा आयआर्जनमूलक कार्यक्रम गरिरहेको छ । सोबाट लक्षित बर्गका नगरबासीहरु लाभान्वित हुने विश्वास लिएका छौं । नगरपालिकाले पंचबाटिकालाई हरियाली पार्कको रुपमा अगाडि बढाएको छ । बोटानिकल गार्डेनका लागि स्थान खोजी भइरहेको छ ।

अहिले हाम्रो मुख्य चुनौती फोहोरमैला व्यवस्थापन रहेको जगजाहेर नै छ । यसको ब्यबस्थापनका लागि घरघरबाटै जैविक र अजैविक फोहोरलाई छुट्याई अजैविक फोहोरलाई मात्र व्यवस्थापन गर्ने गरी प्रशोधनकेन्द्र निमार्ण गरी फोहोरमैला व्यवस्थापन गर्ने सोच बमोजिम नगरपालिका अगाडि बढिरहेको छ । जैविक फोहोर घरमै कमपोष्ट मलको रुपमा प्रशोधन गरी कौसी खेतीमा प्रयोगमा ल्याउने नीति बमोजिम कार्यान्वयनको चरणमा छ ।

वडा नम्बर ५ मा निमार्ण भएको कृषि भवनलाई हाटबजारको रुपमा प्रयोगमा ल्याउन अध्यन समिति बनाइएको छ । यसलाई नगरपालिकाले छिट्टै संचालनमा ल्याउने कुरा सबैमाझ जानकारी गराउँछु । हामीले यहाँको भौतिक, समाजिक तथा आर्थिक क्षेत्रको बिकासलाई एक साथ अगाडि बढाउँदै त्यसलाई सफलतापूर्वक सम्पन्न गरेकाले नै नेपाल नगरपालिका संघले तयार गरेको ५० वटा सूचकांकहरुमा नेपालकै सबैभन्दा धेरै अंक प्राप्त गरी प्रथम स्थान हासिल गरी सम्मानित भएको खवर नगरबासी माझ सुनाउन पाउँदा हार्मी गौरवान्वित महसुस गरेका छौं ।

यो सफलता नगरपालिकाको मात्र नभै सिंगो भैरहवाकै लागि गरिमा हो भन्ने हामीले ठानेका छौं । यस अवसरमा सहयोग गर्नुहुने नगरपालिका पूर्व तथा मेरा बर्तमान जनप्रतिनिधिहरु, नगरपालिकाको प्रमुख प्राशासकीय अधीकृतसहितको कर्मचारी परिवार समेतलाई धन्यवाद दिन चाहन्छु । नगरपालिकाको यो अभियानमा पटक–पटक सकारात्मक सल्लाह सुझाव एवं हौसला दिनुहुने नगरवासी, बुद्धीजिवी, उद्योगी–व्यापारी, राजनीतिक दल, संघसंस्था, संचार जगत एवं प्रशाशनिक क्षेत्रमा निरन्तर सहयोग गर्नुहुने प्रमुख जिल्ला अधीकारीसहित सम्पूर्ण जिल्ला सुरक्षा समितिका सदस्य सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।

हामी जनप्रतिनिधिहरु निर्वाचित भएर आएदेखि नै आफ्ना प्रतिवद्धता र नगरको बिकासका लागि अहोरात्र खटिएका छौं । यहाँहरुले पनि नगरको बिकासका लागि रचनात्मक सुझावसल्लाह दिँदै आउनुभएको छ । यसप्रति हामी आभारी नै छौं । आगामी दिनहरुमा पनि यहाँहरुबाट यस्तै सहयोगको अपेक्षा राखेका छौं ।

अन्तमाः हाम्रै नगरीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ र यसको उद्घाटन भएको पनि तीन बर्ष बित्न लागेको छ । तर यहाँबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । जुन हाम्रो लागि मात्रै नभई पश्चिम क्षेत्रकै लागि पीडादायी हो । यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान गराउनका लागि निजी क्षेत्रबाट हुँदै आएको पहलका लागि म धन्यवाद दिन चाहन्छु । तर, पनि केन्द्र सरकारले यसको सुनुवाई गरी नियमित उडानका लागि उदासिनता देखाएको छ ।

केही दिन पहिला मात्रै हामीले उपप्रधान एवं अर्थमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई नियमित संचालनका लागि पहल गरिदिन आग्रह गर्दै ध्यानकर्षण पत्र बुझाएका छौं । अव यतीले मात्र पनि नियमित अन्तर्राष्ट्रिय उडान नभएको खण्डमा हामी सबै हातेमालो गरेर केन्द्र सरकारलाई घचघच्याउनु पर्ने अवस्था आउन सक्छ । त्यसका लागि म एवं हाम्रो सिंगो नगरपालिका टिम अग्रस्थानमा रहेर सरकारलाई दवाव सिर्जना गर्न पछि पर्ने छैन भन्ने विश्वास समेत दिलाउन चाहन्छु ।

नयाँ वर्ष २०८२ अवसरमा म सम्पूर्ण नगरवासी, स्वदेश तथा बिदेसमा रहनुहुने समस्त नेपाली दाजुभाई दिदीबहीनी, आमाबुवाहरुमा शुख, शान्ति एवं उत्तरोत्तर प्रगतीको लागि शुभकामना ब्यक्त गर्दछु ।

(केही दिन अघि सिद्धार्थनगर नगरपालिकाद्वारा भैरहवामा आयोजित कार्यक्रममा नगर प्रमुख खाँले राखेको विचार)