April 22, 2025, Tuesday
२०८२ बैशाख ९

कोषका नेतृत्वकर्ताले लुम्बिनी गुरुयोजनालाई खोस्टो बनाइदिए

बुद्ध जन्मस्थल लुम्बिनीको मुटु नै पवित्र उद्यान क्षेत्र हो । त्यसलाई कसरी राम्रो र सुन्दर बनाउनु पर्छ भनेर अरु कुरा जोडिएका हुन् । विश्वविख्यात जापानी वास्तुकलाबिद् प्रोफेसर केन्जो टांगेले लुम्बिनीलाई विश्वकै शान्तिको मुहान र अध्यात्मिक गन्तब्य बनाउन लुम्बिनी विकास गुरुयोजना बनाए । पवित्र उद्यान क्षेत्रभित्र गोलो नहर बनाए, भित्र पानी राखे र बगैंचा बनाउनु उल्लेख गरेका छन् । उनले डिजाइन गरेका हरेक कुरामा बुद्धको दर्शन प्रतिबिम्बित छ । शान्ति झझल्को देखिन्छ । धेरैले बुझदैनन् तर गहिरिएर खोज अनुसन्धान गर्दा शान्तिको सामिप्यता पाइन्छ ।

Advertisement

लुम्बिनीमा बनाइएको गोलो नहरसहित यहाँ अहिले बनाइएका कतिपय संरचनाहरु गोलो, आधा गोलो, सर्कल, हाफ सर्कल, सेमी सर्कल र वर्गाकारको अवधारणामा आधारित छ । यसले बुद्धको दार्शनिक पक्षसँग गहिरो सरोकार राख्छ । प्रथम शताब्दीतिरका बुद्धका योगी नागार्जुनले बुद्धको शिक्षालाई शुन्यबादका रुपमा ब्याख्या गरेका थिए । अनित्यको कुरा नै शुन्यबाद हो । यसको हरेक क्षण परिवर्तनशिल छ । हामी जहाँबाट सुरु भयौं । अन्त्य पनि त्यही हो । जन्मलिनु अघि र मृत्युपछिको एउटा चक्र हो । त्यो शुन्यबाद अनित्यलाई ध्यानमा राखेर गोलो नहरको अवधारणा राखेका थिए । त्यहाँभित्र भौतिक संरचनाहरु नबनाऊ । त्यहाँ रहेका बगैंचालाई सामान्य रुपमा संरक्षण गर्दै राख । किन भने लुम्बिनी मान्छेहरु आउने भनेको अनित्यताको बोध गर्नलाई हो ।

बुद्ध शिक्षामा पनि के पाउँछौं भने बुद्धले आनन्द लगायतका आफ्ना अनुयाइलाई मेरो मृत्युपछि तिमीहरु चारधाम जानु भनेका छन् । पहिले तिमीहरु लुम्बिनी जानु । त्यो पनि श्रद्धा र भक्तिले जानु भनेका छन् । मेरो अनुहार हेरेर हैन्, शिक्षामा सचेत भएर जानु भनेका थिए । यसरी भक्ति र मेरो शिक्षामा ध्यानमग्ध भएर गएउ भने अनित्यताको बोध हुन्छ भनेका थिए । केन्जो टांगेले पनि यही कन्सेप्टमा पवित्र उद्यान भित्रको गोलो नहरको अवधारणा ल्याएको हुन सक्ने बताए । त्यही भएर त्यो ठाउँमा आखालाई आकर्षित गर्ने संरचना बगैंचा नबनाएर जति सक्यो साधारण सामान्य बनाउन गुरुयोजनामा उल्लेख गरिएको छ ।

लुम्बिनीको मुख्य प्रवेशद्वार उत्तरतिरबाट हो । अहिले गेट नम्बर बाँडिए पनि गुरुयोजनामा छैन् । हरहेवा नाला पार गरेर सांस्कृतिक केन्द्र नजिक गाडी सवारीसधान पार्किङ गरेर प्रवेश गर्ने स्थल रहेको छ । अहिलेको लुम्बिनी संग्रहालय र लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र रहेको ठाउँ लुम्बिनी सांस्कृतिक केन्द्र हो । त्यसपछि केन्द्रिय नहरको दुबैतिर हुँदै छायादार रुख विरुवाको मनोरम वातावरणमा मायादेवी मन्दिर प्रवेश गर्ने उल्लेख छ ।

त्यस्तै केन्द्रिय नहरको दुबैतिर ठाउँ ठाउँमा बस्ने बेन्च, विश्रामस्थल र पानी पिउने स्थल राख्नु कुरा उल्लेख छ । त्यस्तै, शौचालय बनाउनु पर्ने कुरा छ । यो भनेको त्यहाँ जाने तिर्थालु श्रद्धालु सासारिक संसारबाट अध्यात्मिक संसारमा प्रवेश गरिरहेको अनुभूति गर्ने वातावरण गुरुयोजनामा प्रतिबिम्बित देखिन्छ । यो क्षेत्र भनेको अनित्यतालाई बोध गर्ने र अनित्यता बोध गर्नु भनेको नै प्रज्ञा हो । प्रज्ञा भनेको जीवन के हो ? क्षणभंगुरता के हो, हामी सबैभन्दा बढी कुन चीजबाट आसक्त छौं र त्यो आसत्तताबाट कसरी दुःखी भईरहेका छौं र त्यसबाट कसरी मुक्ती पाउन सकिन्छ ? त्यो कुरा बोध होस् भनेर टांगेले भौतिक रुपमा देखाउन खोजका थिए ।

अझ केन्द्रिय नहरदेखि मायादेवी मन्दिरसम्मै ठाउँठाउँमा विभिन्न भाषामा सरल तरिकाले बुद्ध बचन, शिक्षा दिन बोर्ड ब्यानर राखि दिने गर्नु पर्छ । त्यस्तै मधुर धुनमा सुन्न सक्ने बुद्धको सुत्रहरु सुनाउन सकियो भने श्रद्धालु उपासक उपासिकाहरुमा जन्मस्थलमा प्रवेश गरिरहेको अनुभूति गराउनु पर्छ । केन्द्रिय नहरमा कस्तो कस्तो रुखविरुवा रोप्नु पर्छ भनेर बनस्पति बिज्ञको सुझावमा टांगेले सिफारिस गरेका छन् । सधैं हरियाली र छाँया दिने रुख रोप्न सुझाएका छन् । अहिले गर्मीका बेला केन्द्रिय नहरमा हिँडेर आउन जान निक्कै गाह्रो हुन्छ । केन्द्रिय नहरमा असक्त, बृद्ध, विरामी र हिंड्न नसक्नेलाई डुंगाबाट ल्याउने लैजाने ब्यवस्था मिलाउनु पर्छ । यो डुंगा मेसिनले चलाउने नभई मानवले चलाएर ल्याउने लैजाने हुनु पर्छ ।

पवित्र उद्यान क्षेत्रभित्र शौचालय बनाउन हुँदैन् । यस्ले फोहर र दुर्गन्ध हुने हुँदा तीर्थालुमा नकारात्मक प्रभाव पर्छ । यसले शान्तिको भावना पलाउँछ । दायामाया, करुणा, मैंत्री र सद्भावको भावना आउने वातावरण बनाउनु पर्छ । अहिले लुम्बिनीमा मगन्तेले समस्या थपेका छन् । दुई तीन वर्षका केटाकेटीले आफूभन्दा सानालाई बोकेर पवित्र उद्यान क्षेत्रभित्रै माग्ने दुःख दिने गरेका छन् । नदिएसम्म खुट्टा समातेर बस्छन् । अझ ठुला महिला पनि यस्तै गरेर माग्छन् । लुम्बिनी दर्शन गर्न भनेर मानसिक रुपमा तयार भएर आएका तीर्थालु, उपासक उपासिकालाई यस्ता किसिमका दृष्यले बितष्णा जाग्छ । यो विकृती बढ्दा लुम्बिनीबारे नकारात्मक धारणा बनेको छ । यसलाई नियन्त्रण गरेर अध्यात्मिक वातावरण बनाउनु पर्छ ।

लुम्बिनीमा विदेशी तीर्थयात्री आउँदा जाँदा के के ? कुराले समस्या पारिराखेको त्यस तर्फ धेरैको ध्यान जान सकेको छैन् । सीमा क्षेत्र (बोर्डर) भारत नेपाल दुबैतिरमा विदेशी तीर्थयात्रीले निक्कै समस्या झेल्न परिरहेको छ । उता भारतीय इमिग्रेसनमा नेपालतिर आउँदा (ईक्जिट) गर्दा नै झन्झटिलो बनाइएको छ । लामो फर्म भर्नु पर्छ । निस्कँदा त त्यत्ती झण्झटिलो फर्म बनाउनु हुँदैन् । एक त भारत प्रवेश गर्नासाथै विस्तृत विवरण दिइसकिएको हुन्छ । फेरि किन ? त्यसपछि नेपाल तिर आउँदा झन विजोग छ । डिजिटल फर्म भर्नुपर्छ । नेपाली इमिग्रेसनमा वाइफाई कनेक्ट गरेर पछि डिजिटल फर्म आउँछ । त्यो आफै भर्नु पर्छ । सबै अंग्रेजीमा हुन्छ ।

अंग्रेजी नजान्ने नबुझ्ने तीर्थयात्रीलाई गाह्रो हुन्छ । धनमानी पढेलेखेका भए त ठिकै हो । तर, कतिपय गाउँतिरबाट आउने तीर्थयात्रीले आउँछन् । कतिपयले मोबाइल पनि ल्याउँदैनन् । मोबाइलमा वाइफाई लगइन गरेपछि फर्म आउँछ । त्यो भर्नुपर्छ । मोबाइल नहुनेले कसरी फर्म भर्ने ? फर्म भर्न नजान्नेलाई उस्तै गाह्रो हुन्छ । समूहमा आउनेको दुई चारको भर्नु पर्यो भने दिनभरि लाग्छ । अनी कति घुम्ने लुम्बिनी ? पहिला लिखित फर्म हुन्थ्यो । बाहिर ल्याएर अरुले पनि भर्न सहयोग गर्थे ।

अहिले डिजिटल फर्म आफै उपस्थित भएपछि वाइफाई कनेक्ट भएर फर्म आउँछ । एउटा ग्रुप झण्डै ६–६ घण्टासम्म सीमामा बस्नु परेको दुखेसो गरेको उनले बताए । यसले तीर्थयात्रीलाई कति दुखित बनाउँछ ? दुबैदेश मिलेर तीर्थयात्रीलाई कसरी सहज बनाउन सकिन्छ भन्नेतिर लाग्नु पर्छ । लुम्बिनी आउने ९७ प्रतिशत विदेशी तीर्थयात्री भारत हुँदै आउँछन् । सीमाको समस्याले भारतीय ट्राभल एजेण्टपनि वाक्कदिक्क भइसके । ग्रुपले लुम्बिनी जाऔं भने पनि भारतीय ट्राभल एजेण्टले नेपाल जानै झण्झटिलो छ भन्ने गरेका छन् । ४–५ घण्टा सीमामै लाग्छ । कतिखेर पुगेर कति खेर घुम्ने भन्दै प्रश्न गर्ने गरेका छन् । सहज तरिकाले भिसा पाए भन्ने कमै छन् ।

जहाँबाट उनीहरु नेपाल प्रवेश गर्छन् । त्यहीबाट अध्यात्मिक वातावरण दिने तिर योजना बनाएर लाग्नु पर्छ । भैरहवाको बुद्ध चोकमा लुम्बिनी गेट बनाईएको छ । निक्कै राम्रो र उत्कृष्ट कला शिल्पी प्रयोग गरिएको छ । यहाबाट लुम्बिनी सुरु भएको संकेत गरेकोछ । तर, त्यसपछि बाटोमा देखिने कलकारखाना, उद्योगधन्दा, धुलोधुवा र कालो मुस्लोले जुन उत्साह उमंगले तीर्थयात्री आउँछन् । निरास र तनावित हुँदै फर्कन्छन् । राम्रो सन्देश लग्दैनन् । यसले मुलुककै पर्पटकीय विकासलाई असर गरिरहेको छ ।

टाँगेको गुरुयेजा अनुसार सांस्कृतिक केन्द्र नजिक लुम्बिनी सेन्टर बन्न बाकी छ । भैरहवा–तौलिहवा सडक खण्डको दक्षिण र उत्तरमा ४–४ वटा विल्डिङ बन्न बाँकी छ । त्यहाँ सूचना केन्द्र, रेष्टुरेन्ट, प्रहरी, मेडिकल लगायतका सुविधा हुने उल्लेख भएपनि बन्ने सुरसार छैन् । अझ त्यही संग्रहालय र लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्रको बिचमा संयुक्त राष्ट्र संघको महासचिब उथान्तको नाममा अडिटोरिम हल बनाउने कुरा गुरुयोजनामा भए पनि अलपत्र छ ।

विश्वकै उत्कृष्टमा गुरुयोजना बनाउनेमा पर्छन् जापानीज वास्तुकलाविद् केन्जे टांगे । उनले बनाएको लुम्बिनी गुरुयोजना त्यसैको एक भाग हो । एउटा कागजको पन्नाभित्र बुद्धको सिंगो दर्शन झल्काएका थिए । तर, अहिलेका कोषका नेतृत्वकर्ता उक्त गुरुयोजनालाई खोस्टो बनाइदिए । गुरुयोजना छ र भन्ने बनाइदिए । सिंगापुर सिटी उनले दुई वर्षमा डिजाइन गरेका थिए । जुन अहिले विश्वकै ब्यवस्थित, विकसित र उत्कृष्ट सहरमा पर्छ । लुम्बिनी उनले ६ वर्ष लगाएर डिजाइन गरेका थिए । अल्छी लाग्यो भोली गरुँला भनेर होइन् । उनीसँग रहेको प्रोफेसनल उटेक ग्रुप र उनी मिलेर बनाएका थिए ।

विज्ञ मान्छेले बुझ्ने र कार्यान्वयन गुरुयोजना राजनीतिक ब्यक्ति नेतृत्वकर्ता भएपछि गुरुयोजना धारासायी बन्यो । पार्टीकै मान्छे ल्याए पनि विज्ञ र विशेषज्ञलाई ल्याएको भए यो दुर्गति देख्न पर्थेन् । जीवनलाई राम्रो र सकारात्मक बनाउन र शान्तिको ऊर्जा लुम्बिनीबाट पाइन्छ भन्नका लागि पनि लुम्बिनी जानु पर्छ भन्ने सन्देश दिन विश्व शान्तिको मुहान लुम्बिनी हो भनेर व्यापकता गर्न आवश्यक छ ।
(विडारी पुरातत्व विद हुन् ।)