सिउबा संघः दरिलो, गर्विलो र भरोसायोग्य संस्था


नेपालकै निजी क्षेत्रको पूरानो अग्रणी संस्था हो, सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देही । आज हामीले ६६ औं वार्षिक साधारण सभा सम्पन्न गरेका छौं । शनिबार केही पदमा निर्वाचन हुँदैछ । वि.सं. २०११ सालमा स्थापना भएको संघ नेपालकै पूराना संघ मध्येको दरिलो, गर्विलो र भरोसायोग्य संस्था हो । निजी क्षेत्रको हकहीत र नयाँ उद्यमशीलता विकास गर्ने उद्देश्यले स्थापित यो संस्थाले सधैं निजी क्षेत्रको सकारात्मक संरक्षण र राज्यलाई उद्योगीमैत्री नीति नियम बनाउनका लागि निरन्तररुपमा सुझावहरु दिँदै आएको छ ।
मुलुकको अर्थतन्त्र सुधारका लागि रायसुझाव दिने, उद्योगी व्यवसायीलाई समयमै कर तिर्न प्रोत्साहित गर्ने, आर्थिक तथा पर्यटकीय गतिविधिलाई बढवा दिँदै आएको सबैलाई सर्बविदितै छ । संघले विगतदेखि उद्योग व्यवसाय प्रबद्र्धनको काम गर्दै आइरहेको छ । चाहे त्यो लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तव्य प्रबद्र्धनका काम होस् या विभिन्न सभा, गोष्ठी सेमिनार र कार्यक्रम मार्फत् यस क्षेत्रलाई चलायमान बनाउने काम, हरेक किसिमले संघले काम गरिरहेको छ । संघले एकीकृत जाँचचौकी (आईसीपी) निर्माणमा पहलकदमी गरेको थियो, फलस्वरुप अहिले आईसीपी निमार्ण अन्तिम चरणमा छ । विशेष आर्थिक क्षेत्र (सेज) संस्था पूर्ण रुपमा सञ्चालनका लागि जिल्लादेखि केन्द्रसम्म पैरवी गर्दै आएको छ । यतिमात्रै होइन्, संघले यस क्षेत्रमा लगानी भित्र्याउन समेत विभिन्न प्लेटफर्ममार्फत् आह्वान गरेको छ भने अर्बौं लगानी भित्र्याउन सफल भएको छ ।
भैरहवामा विमानस्थल बन्नुपर्छ भन्ने माग राख्ने र अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि संचालनका लागि दवाव सिर्जना गर्ने संघ पहिलो संस्था हो । हाम्रो पहलकदमी र सरकारको सोंचले गौतमबुद्ध विमानस्थल संचालनका सन्दर्भमा सरकारले गरेका पछिल्ला प्रयास सह्रानीय छन् । यसैले पनि अहिले जति उडान भइरहेका छन्, त्यसप्रति हामी खुशी छौं । तर, निरन्तरता हुनेमा आशंका छ । सरकारले ८ महिना पहिले नै घोषणा गरेका काम समेत अझै पूरा गर्ने सुरसार गरेको छैन । विमानस्थल निर्माण सुरु भएपछि निजी क्षेत्रबाट करिब ८० अर्ब रुपैयाँ ऋण लिएर विभिन्न व्यवसायमा लगानी भएको छ । यो विमानस्थलमा पूर्ण क्षमतामा नचले निजी क्षेत्र थप धरासायी हुन्छ । यसमा सरकारको ध्यान जाओस् ।
म नेतृत्वमा आएपछि संघलाई गतिशिल गराउन अहोरात्र खटेर काम गरिएको थियो । म लगायत सम्पूर्ण टिमको पहलले गरेका धेरै कामले सार्थकता पाएका छन् । यसको उदाहरणका रुपमा गौतमबुद्ध विमानस्थल संचालन र भन्सार नाकामा रु १ सय भन्दा बढीको सामान खरिद गरेर ल्याउँदा अनिवार्यरुपमा प्रज्ञापन पत्र भर्नै पर्ने नियमलाई लिन सकिन्छ । यस्तै, संघका सदस्यहरुको बीमामा बृद्धि, उपचार खर्चमा सहुलतीयका लागि भैरहवा मेडिकल कलेजसँग सम्झौता, ७१ वर्षको इतिहासमा पहिलोपटक संघको स्थापना दिवस मनाउन सुरुवात गरिएको विषयहरु हाम्रो कार्यकालमा भएका छन् । यस बाहेक दर्जनौं व्यवसायिक हीतका काम भएका छन् । सबै कामलाई यहाँ ब्याख्या गरेर पुग्दैन ।
हाम्रो कार्यकालमा विभिन्न ९० भन्दा बढी कार्यक्रमहरु भएका छन् । ती कार्यक्रमले धेरै मात्रामा सफलता पाएका छन् भने राज्यलाई दिइएको रायसुझावहरु कार्यान्वयनका चरणमा छन् । हामी सबैलाई थाहा छ, अहिले मुलुकको आर्थिक अवस्था इतिहासमै कमजोर छ । पर्याप्त राजस्व नउठ्दा सरकारलाई आफ्ना दैनिक कार्यहरु संचालन गर्न धौं धौं भइरहेको छ । यसको मूल कारण भनेकै निजी क्षेत्र धरासायी हुनु हो । उद्योगहरुले ३०–४० प्रतिशतका हारहारीमा मात्रै आफ्नो उत्पादन गरिरहेका छन्, दैनिक रुपमा सानाठूला उद्योगहरु बन्द भइरहेका छन् । उद्योगी व्यवसायीहरु पलायन भइरहेका छन्, युवा पलयान भनिसाध्य छैन । यस्तो अवस्थामा मुलुकको आर्थिक अवस्था तंग्रिन कति समय लाग्छ भन्ने एकीन छैन ।
सरकारले अझै पनि उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नगर्ने हो भने मुलुकको आर्थिक अवस्था अझै दयनीय बन्ने निश्चित छ । सरकारमा रहेका र प्रतिपक्ष दलमा बसेका नेताहरु र ऐन, नियम कार्यान्वयन गर्ने उपल्लो निकायका कर्मचारीहरुले हामीसँग भेट्दा मात्रै सकारात्मक आश्वासन दिने तर भएका ऐन, नियम पनि लागू नगर्दा निजी क्षेत्रमा झनै निरासा छाएको छ । उदाहरणका रुपमा एउटा फर्म दर्ता गर्न महिनौं लाग्ने र दर्जनौं कार्यालय धाउनुपर्ने प्रवृत्तिलाई लिन सकिन्छ ।
खासगरी भैरहवा भारतसँग सीमा जोडिएको सहर भएकाले यहाँ चोरीतस्करीबाट अवैध सामानहरु भित्रिँदा बैध उद्योग व्यापार गरेर बसेका उद्योगी व्यवसायीहरु थप समस्यामा परेका छन् । यसको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको छ नै सीमा क्षेत्रमा अपराधका घटनाहरु पनि बृद्धि भएका छन् । यसैले सीमा नाकाहरुमा थप कडाई गर्नुपर्ने संघको माग छ ।
हाम्रो माग ट्रंकलाइन र डेडिकेटेट लाइनको विवाद तत्काल समाधान गरी मर्कामा परेका उद्योगी व्यवसायीलाई न्याय गरियोस् भन्ने हो । जसले माग गरेर प्रयोग गरेका छन्, त्यस्ता उद्योगीसँग बाँकी महशुल जरिवाना सहित असुल गरियोस् । तर, यस क्षेत्रका उद्योगी व्यवसायीले माग र प्रयोग नै नगरेको ट्रंकलाइन र डेडिकेटेट लाइनको महशुल जवरजस्ती उठाउन खोजिएकाले यो कार्यको संघ घोर भत्र्सना गर्छ । यसैले मन्त्रालयले पीडित उद्योगीहरुलाई तत्काल न्याय दिन पनि हार्दिक अनुरोध गर्दछु ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही विमान कम्पनीले उडान सुरु गरेपछि यस क्षेत्र केही हदसम्म गुल्जार भएको छ । तर, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम केन्द्र, बिमा, श्रम स्वीकृत, भिसा यहीबाट जारी गर्ने कार्यालय र म्यानपावर कम्पनीहरु हालसम्म पनि स्थापना भएका छैनन् । सरकारले घोषणा गरेका यी कामहरु कसले गरिदिने हो ? निजी क्षेत्रले यथेष्ट जवाफ खोजिरहेको छ । यसमा तत्काल पहल हुनुपर्छ ।
भैरहवाबाट आन्तरिक हवाई पोखरा, काठमाडौं उडान भइरहेकोमा कनेक्टिभिटी बढाई भैरहवा–नेपालगंज, भैरहवा–धनगढी, भैरहवा–विराटनगर, भैरहवा–जोमसोम, भैरहवा–भद्रपुर, भैरहवा–जनकपुर लगायतका ठाउँमा तत्काल हबाई उडान गर्न जोडदार माग गर्दछौं ।
अहिले संचालित उडानलाई निरन्तर गरी तत्काल भैरहवा–दिल्ली, भैरहवा–श्रीलंका, भैरहवा–चीन लगायत बुद्धिष्ट मुलुकमा नियमित उडान गर्न पहल होस् । यसका साथै सरकारले अन्य मुलुकसँग सहमती, सहकार्य र पहलकदमी गरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई भैरहवामा आकर्षित गर्न निरन्तर लागोस् । र, भारतसँग रुटप्रमिट लिन तत्काल पहलको लागि अनुरोध गर्दछु ।
विशेष आर्थिक क्षेत्र (सेज) मा देखिएका समस्या समाधान गरी तत्काल पूर्णक्षमतामा चलाउन पहलको लागि अनुरोध गर्दछु । स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने बेलहिया नाकामा थप व्यवस्थित गरियोस् । नाकामै पर्यटकीय सूचना केन्द्र स्थापना गरी मूलुकका सम्पूर्ण गन्तव्यको जानकारी दिने डिस्प्ले राखियोस् । बेलहियास्थित अध्यागमनमा कर्मचारी अभावले पर्यटकले घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ । त्यहाँ तत्काल कर्मचारीको व्यवस्था गरी पर्यटकले पाइरहेको दुःखलाई सुःखमा परिवर्तन गरियोस् ।
उद्योग–व्यापारमैत्री नीति बनाइ व्यवसायीलाई भइरहेको अनावश्यक दुःख र हैरानीको अन्त्य होस् । अहिले नेपाल–भारत बेलहिया–सुनौली नाकामा बनिरहेको आईसीपीलाई रेल्वे कनेक्सनसँग जोड्न तत्काल पहल होस् । एक सय रुपैयाँ भन्दा बढीको सामान खरिद गरी मुलुक भित्र्याउँदा प्राज्ञापन भर्ने कार्यलाई थप कडाई गरियोस् । विभिन्न पर्यटकीय गन्तव्यमा जाने सडकसंजाल ध्वस्त छन् । त्यसैले नारायणगढ–बुटवल लगाययत समग्र सडकसंजाललाई जतिसक्दो चाँडो निर्माण सकी व्यवस्थित गरियोस् । भैरहवामै नेपाल पर्यटन बोर्डको कार्यालय तत्काल खोलियोस् । लुम्बिनी सरकारले भारतीय पर्यटकलाई पटके कर लिइरहेकाले त्यसलाई खारेज गरियोस् । यस क्षेत्रमा एउटा पनि व्यवसायीक प्रदर्शनी स्थल, मण्डप नहुँदा वर्सेनि मेलामहोत्सव गर्न लाखौं रुपैयाँ अस्थायी संरचनामा खर्च भइरहेको छ । त्यसैले भैरहवा क्षेत्रमा व्यवस्थित मण्डप बनाउन सरकारले बजेट छुट्याओस् ।
संघको आगामी कार्यकालका लागि भोलि मतदान समेत हुँदैछ । अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित गरेर संघले नयाँ सन्देश दिएको छ । निर्विरोध हुनुहुने अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरुमा हार्दिक बधाई ज्ञापन गर्दछु । साथै चुनावी मैदानमा होमिनु भएका सम्पूर्ण उम्मेदवारहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछु । तपाईं हामी सबै मिलेर संघमार्फत् उद्योगी व्यवसायीको हकहीतमा काम गर्ने नै छौं ।
(श्रेष्ठ सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हुन् । श्रेष्ठले शुक्रबार संघको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनको समुद्घाटन शत्रका राखेको मन्तव्यको सम्पादित अंश ।)








लेखकको सम्वन्धमा