February 23, 2025, Sunday
२०८१ फाल्गुन ११

प्रकृति मृत्यु प्रकरण: फेस्टिभलमा जान्छु भनेको केही घण्टामा अपत्यारिलो खबर’

भैरहवा– गत फागुन ४ (आइतबार) दिउँसो २ बजेर ५१ मिनेटमा रूपन्देहीको सिद्धार्थनगर–८, बैंक कोलोनीकी प्रकृति लम्साल र काठमाडौंमा रहेकी आमा सरुबीच फोनमा कुराकानी भएको थियो । आमाछोरीबीच हालखबर आदानप्रदान हुनेक्रममा प्रकृतिमा कुनै तनावको संकेत थिएन । सधैंझै हासीखुसी कुराकानी भएपछि प्रकृतिले आमासित कलेजमा फेस्टिभल चलिरहेको बताएकी थिइन् । उक्त कार्यक्रममा कलाकार बादशाह आउने भएकाले ४ बजे फेष्टिभलमा जानका लागि रेडी हुन्छु भनेर कुरा टुंग्याएकी थिइन् ।

Advertisement

आमासँग कुराकानी तीन घण्टापछि लम्साल परिवारले कल्पना नगरेको खबर सुन्नुपर्यो । प्रकृतिका बुवा सुनीलका अनुसार सुरुमा प्रकृतिका भाइ (सरुकी दिदीका छोरा) अनुरोध खनालले टेलिफोन गरेका थिए । उनले आफ्नी अन्टीलाई फोन गरेर ‘यहाँ खै के भयो, तपाईं छिट्टै आउनुस्,’ भनेर सुनाएका थिए । अनुरोधले कुरा खोल्न नसकेपछि आमा सरु आत्तिइन् । उनले तुरुन्तै श्रीमान् सुनिललाई फोनवार्ता बारे बताइन् । ‘अनुरोध बाबुको कुराले मनमा चिसो पस्यो,’ सुनिलले भने, ‘झसङ्ग बनाउने कुराले केही नराम्रो भए झैं लाग्यो ।’

त्यसपछि विश्वविद्यालयमा सम्पर्क गरेर थप कुराकानी गर्नेक्रममा एक अपरिचित विद्यार्थीले ‘प्रकृति इज नो मोर’ भनेर सुनीललाई सुनाए । त्यसलगत्तै तीनजना पारिवारिक साथी लिएर आफू ओडिसाका लागि हिँडेको सुनिलले बताए । पूर्वी नेपालको काँकडभिट्टा हुँदै सोमबार बिहान १२ बजे ओडिसा विमानस्थलमा पुगेको उनले बताए । विमानस्थलमा पुगेपछि विश्वविद्यालय जानका लागि साधन जोहो गर्न नपाउँदै कलेजको गाडी र भारतीय प्रहरी लिन आइसकेका थिए ।

‘प्रहरीको टोलीले चारै जनालाई विश्वविद्यालय लग्यो,’ सुनीलले पब्लिक कुरासित भने, ‘सरासर सिल गरिएको प्रकृति बस्ने कोठा देखायो ।’ त्यतिञ्जल प्रकृतिको शव एम्स अस्पताल पुर्याइसकिएको थियो । अस्पताल लगेर शब देखाएपछि आफूले पोस्टमार्टम गर्न स्वीकृति दिएको उनले बताए ।

सञ्चारमाध्याममा छोरीको शरीरभरि डाम रहेको प्रचार गरिए पनि त्यस्तो नरहेको उनले बताए । आफ्ना साथीहरुको रोहबरमा प्रहरीले शव देखाएको उनले बताए । त्यसपछि विश्वविद्यालयका मुख्य सञ्चालक अच्युत सामन्तले भेट्न खोजेको भन्दै आफूहरूलाई लगिएको सुनिलले बताए । ‘घटनाबाट आफूहरू अत्यन्तै दुःखी भएको र समवेदना रहेको सामन्तले सुनाएपछि हामीले न्याय दिनुस् भन्यौं,’ उनले भने, ‘नानीलाई दुव्र्यवहार गर्नेलाई कारबाही र सबै विद्यार्थीलाई सुरक्षित वातावरणको आग्रह गर्यौ।’

प्रकृतिलाई दुव्र्यवहार गर्ने सोही विश्वविद्यालयमा बी–टेक (मेकानिकल) तेस्रो वर्षमा पढ्ने २१ वर्षका आड्विक श्रीवास्तव पक्राउ परेको यकिन भएपछि छोरीको शव बुझेर नेपाल ल्याएको सुनिलले बताए । ‘त्यसमा विश्वविद्यालय प्रशासन, नेपाली र भारतीय विद्यार्थी, दूतावास सबैको सहयोग भयो,’ उनले भने । परिवारले प्रकृतिको शव गत बुधबार नेपाल ल्याएर अन्त्येष्टि गरेको थियो ।

कक्षा ४ सम्म भैरहवा र १२ सम्म काठमाडौंको युनिग्लोब कलेजमा पढेकी प्रकृति आईटी पढ्न ओडिसा पुगेकी थिइन् । उनीसँगै ठूलीआमाका छोरा दाइ सिद्धान्त सिग्देल, भाइ अनुरोध खनाल पनि सन् २०२२ मा उक्त विश्वविद्यालयमा भर्ना भएका थिए । सिद्धान्तले मेकानिकल र अनुरोधले प्रकृतिसँगै कम्प्युटर साइन्स लिएका थिए । ‘पहिला बैंग्लुरुमा बुझेका थियौं,’ सुनिलले भने, ‘दाजुभाइ पनि त्यहीं भएकाले सजिलो हुन्छ भनेर ओडिसा पठायौं ।’

विश्वविद्यालयले घटनासम्बन्धी धेरै विषय लुकाइरहेको पीडित परिवारको गुनासो छ । ‘छोरीले दुई पटकसम्म दुव्र्यवहारको प्रमाणसहित निवेदन दिएपछि त्यो केटालाई प्रशासनले पहिलो पटक कागज गरेर कारबाही गरेको र दोस्रो पटक निलम्बनसमेत गरेको रहेछ । तर, त्यो अहिले पनि गोप्य नै राखिएको छ,’ बुबा सुनिलले भने, ‘दोषीलाई कडा कारबाही हुनुपर्छ ।’

विश्वविद्यालयका मुख्य सञ्चालक सामन्तसँगको छलफलमा नेपाली टोलीले प्रकृतिका नाममा विश्वविद्यालयका तर्फबाट अक्षयकोष स्थापना गरिनुपर्ने, त्यसबाट नेपाली विद्यार्थीमध्ये एक छात्रालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको ग्यारेन्टी हुनुपर्ने र त्यसमा छनोटको सम्पूर्ण अधिकारी प्रकृतिका बाबुआमालाई दिनुपर्ने प्रस्ताव राखेको थियो । त्यसमा सामन्तसहित प्रशासन सहमत भए पनि थप सम्झौता केही भएको छैन ।