August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

सात करोडको लागतमा निर्मित भवन प्रयोगबिहीन

Advertisement

भैरहवा– हाटबजारलाई व्यवस्थित बनाउन पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ मा करोडौंमा लागतमा निर्माण गरिएको भवन प्रयोगबिहीन अवस्थामा छ ।

Advertisement

रामग्राम नगरपालिकाको झरही खोला नजिकै लाग्ने गरेको हाटबजारमा वर्षातका समयमा बर्षा र घामबाट किनमेल गर्न आउने ग्राहक र व्यापारीलाई सुरक्षित र व्यवस्थित बनाउन सहरी विकास तथा भवन निर्माण विभाग चितवनले ७ करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गरेको हो ।

सटर भाडाको लागि ८० हजार जम्मा गरे पनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताएका छन् । सटर भाडाको लागि नगरपालिकामा निवेदन दिए पनि नगरपालिकाले भाडामा नदिएको उनले बताए । भाडामा बस्नको लागि नगरपालिकाका प्रमुखसँग आग्रह गरे पनि सटर भाडामा नदिएपछि आफूले जम्मा गरेको रकम एक महिना पछि फिर्ता लिएको भनाइ उनको छ ।

चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजार भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको जनाइएको छ । भाडामा नदिँदा निर्माणाधिन भवन प्रयोगबिहीन भएको रौनियार बताउँछन् ।

१ एक सय बढी सटर निर्माण गरिएको र ब्लक, शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोगबिहीन अवस्थामा रहेको विभागका सव ईन्जिनियर वीरेन्द्र मण्डलले बताए । भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरे पनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपत यादवले जनाए ।