विद्यार्थीबाट परीक्षाको नाममा चर्को शुल्क असुली हुँदा सिद्धार्थनगर रमिते


भैरहवा– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मा आबद्ध सिद्धार्थनगरका अधिकांश विद्यायलयमा कक्षा ८ र १० का विद्यार्थीहरुबाट पूर्व तयारी अभ्यास परीक्षाको नाममा मनोमानी ढंगले शुल्क असुली गरिएको छ ।
मनोमानी ढंगले विद्यार्थीबाट चर्को शुल्क असुलीसहित नगरका अधिकांश विद्यालयमा अभ्यास परीक्षा संचालन हुँदा नियमनकारी निकाय सिद्धार्थनगर नगरपालिका भने रमिते बनेको छ । नगरपालिकाका जिम्मेवार कर्मचारी गैरजिम्मेवार जवाफ दिँदै बेखबर रहेको जवाफ दिने गर्छन् । प्याब्सन र निजी विद्यालयका सामु नगरपालिका निरीह बन्दै आएको छ ।
प्याब्सनबाट लिइने परीक्षा भन्दै १० कक्षाका विद्यार्थीबाट एसईई अभ्यास र ८ का विद्यार्थीहरुबाट बीएलई अभ्यास परीक्षाको नाममा चर्को परीक्षा शुल्क असुली गरिएको हो । प्याब्सन केन्द्रिय कमिटीको निर्देशन अनुरुप भन्दै प्याब्सन रुपन्देहीले दुवै कक्षाका विद्यार्थीलाई माध्यामिक शिक्षा तथा आधारभूत तह अभ्यास परीक्षा २०८१ को नामबाट गत माघ ६ गतेदेखि परीक्षा संचालन गरेको थियो । यी दुवै कक्षामा यस खालको अभ्यास परीक्षा लिन नपाइने प्रावधान छ ।
‘शुल्क लिएर यी दुवै खालका अभ्यास परीक्षा संचालन गर्न पाइँदैन’, शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीका प्रमुख माधव बन्जाडेले भने, ‘पैसा उठाउने खेलो भयो भनेर नै सरकारले १० कक्षाको प्रि–सेन्टअप परीक्षा बन्द गरेको हो । एसईई परीक्षाका लागि पनि केन्द्रले ५ सय भन्दा बढी शुल्क कतै पनि लिएको छैन ।’
प्याब्सन रुपन्देहीले माध्यामिक शिक्षा तथा आधारभूत तह अभ्यास परीक्षा २०८१ संचालन गर्ने बारेमा गत पुस २ गते जारी गरेको पत्रमा कक्षा १० मा न्युनतम प्रतिविद्यार्थी ८ सय ५० रुपैयाँ उठाइ ३ सय रुपैयाँ सम्बन्धित विद्यालयले राख्ने, अनलाइन रजिष्ट्रेशन फार्म भरी १ सय रुपैयाँ प्याब्सन केन्द्रमा पठाउने र ४ सय ५० रुपैयाँका दरले प्याब्सन रुपन्देहीमा पठाउन भनिएको छ ।
यसैगरि, कक्षा ८ मा प्रतिविद्यार्थी न्युनतम ७ सय रुपैयाँ उठाइ प्रतिविद्यार्थी २ सय ५० का दरले सम्बन्धित विद्यालयले राख्ने र ४ सय ५० का दरले प्याब्सन रुपन्देहीको बैंक खातामा जम्मा गर्न लगाइएको थियो ।
अभ्यास परीक्षाका लागि प्याब्सन रुपन्देहीले उठाउन लगाएको यो परीक्षा शुल्क नै अत्यधिक चर्को र नियमबिपरीत हो । भने, केही विद्यालयले त प्याब्सनले तोकेको भन्दा धेरै शुल्क विद्यार्थीबाट असुली गरेको प्रमाण उपलब्ध भएको छ ।
प्याब्सन सिद्धार्थनगर नगरकमिटीका अध्यक्ष उदयकुमार मल्लिकले सिद्धार्थनगरका १८ वटा माध्यामिक विद्यालयमा प्याब्सनबाट माध्यामिक शिक्षा तथा आधारभूत तह अभ्यास परीक्षा संचालन गरिएको बताए । जसमा कक्षा १० बाट ७ सय १७ र कक्षा ८ बाट ८ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी छन् । बिद्यालयले संचालन गर्ने त्रैमासिक परीक्षा शुल्क अनुरुप नै प्याब्सनले परीक्षा संचालन खर्च उठाएको दावी उनले गरे ।
विद्यालयले संचालन गर्ने त्रैमासिक परीक्षाका लागि हरेक कक्षामा स्विकृत मासिक शुल्कको ५० प्रतिशतलाई विद्यालयले बर्षभरिमा जति पटक परीक्षा लिने हो त्यतीले भाग गर्दा आउने रकममात्र एक पटकको परीक्षामा शुल्क लिन पाउने प्रावधान छ । यस आधारबाट पनि प्याब्सनले उठाउन लगाएको परीक्षा शुल्क दोब्बर बढी छ ।
कक्षा ८ को त्रैमासिक परीक्षाका लागि प्रतिविद्यार्थी ४ सय ५० रुपैयाँ शुल्क उठाएको विद्यालयले प्याब्सनको बीएलइ अभ्यास परीक्षाका लागि ८ सय ५० रुपैयाँसम्म अग्रिम असुली गरेको प्रमाण पाइएको छ ।
विद्यालयले संचालन गरेको तेस्रो त्रैमासिक परीक्षा सकिएको हप्ता दिन पछि शुल्क असुल्दै पुनः यस खालको परीक्षा लिइँदा विद्यार्थीले अघिल्लो परीक्षामा गरेको गल्ती सुधार्ने मौका समेत नपाएको र हजारौं अभिभावक आर्थिक मारमा परेको पीडित अभिभावकहरु बताउँछन् ।
‘परीक्षा भनेको विद्यार्थीको सिकाइलाई मापन गर्ने माध्यम हो । अघिल्लो परीक्षामा भएका कमजोरी समेत सुधार गर्ने मौका नै नपाइ तत्कालै परीक्षा लिनु उचित होइन’, सिद्धार्थनगर–८ का कुलमणि ज्ञवालीले भने, ‘यहाँ त परीक्षा भनेको पैसा कमाउने माध्यम बनाइएको छ ।’
कठ्याङग्रिने चिसोको मौसममा बिहान ७ बजेदेखि लिइएको यस खालको अभ्यास परीक्षाले विद्यार्थी र अभिभावकलाई बाक्लो कुहिरो र शितलहरको वेला सास्ती समेत भएको उनले बताए ।
माध्यामिक तहसम्मको शिक्षा प्रणाली संचालन तथा अनुगमन र कारवाही गर्ने अधिकार स्थानीय तहलाई छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले यो अधिकार स्थानीय पालिकालाई दिएको हो ।
तर, सिद्धार्थनगर नगरपालिका भने आफ्नो नगर भित्रका विद्यालयले के–कस्ता शैक्षिक गतिबिधि गरिरहेका छन् ? भन्ने सामान्य जानकारीबाट समेत बेखबर छ । नगरपालिकाको शिक्षा शाखाका कर्मचारी नियमन गर्न जनशक्तिको अभाव र अधिकार नभएको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिने गर्छन् । ‘आवश्यकता अनुरुपको जनशक्ति र अधिकार नहुँदा विद्यालयले आफुखुशी गर्न थालेका छन्’, नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्सालले भने, ‘हामी निरीह भएर बस्नु परेको छ ।’








लेखकको सम्वन्धमा