भैरहवामा रवि लामिछानेको सकियो बयान, ७४ प्रश्नमा सवालजवाफ, आरोप इन्कार


भैरहवा– सहकारी ठगीमा तीन दिन लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देहीमा बयान लिइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोगमा कास्कीबाट मंगलबार मध्यान्न रुपन्देही ल्याइएका लामिछानेको तीन दिनपछि विहीबार बयान सकिएको हो ।
मंगलबार, बुधबार र विहीबार गरी साढे २३ घण्टा बयान लिइएको सरकारी वकिल कार्यालय, रुपन्देहीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा रविको बयान गरिएको हो । तीन दिनमा रविलाई सहकारी ठगीसम्बन्धी ७४ वटा प्रश्नमा सवालजवाफ भएको जिल्ला न्यायाधिवक्ता पौडेलले बताए ।
‘सहकारी ठगी आरोपमा अनुसन्धानमा रहनुभएका रवि लामिछानेसँग ७४ प्रश्नमा सवालजवाफ भएको छ, हामीले सोधेको प्रश्नको उहाँले सहज रुपमा जवाफ दिनुभएको छ’, उनले भने, ‘अब, अनुसन्धान अधिकृतले अनुसन्धान पूरा गरेर अभियोजन लगाएर मुद्दा पेस गर्नेछन् ।’ उनले अहिलेलाई बयान सकिए पनि पछि अन्य आरोपीको बयान र तथ्यप्रमाण फेला परे पुनः बयान हुन भने सक्ने जनाए ।
बयानका क्रममा लामिछानेले आफू सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सदस्य नै नभएको भन्दै इन्कारी बयान गरेको स्रोतले बताएको छ । ‘उहाँलाई हामीले सोधेका प्रश्नहरुमा इन्कारी बयान दिनुभयो । सहकारी सदस्य नभएको, निवेदन पनि नदिएको र आफ्नो खातामा रकम पनि नआएको भन्दै इन्कारी बयान दिनुभयो’, सरकारी वकिल कार्यालय स्रोतले भन्यो, ‘गोर्खा मिडियाका अन्य संचालकले कहाँबाट रकम लिए भन्ने कुरा मलाई थाहा भएन भनेर रविले भन्नुभयो ।’
इलाका प्रहरी कार्यालय बुटवलमार्फत् अनुसन्धान भइरहेको मुद्दा रविसहित सबै प्रतिवादीको बयान सकिएपछि अदालत पेस हुनेछ । लामिछानेसँग मंगलबार करिव ५, बुधबार ९ घन्टा बढी र विहीबार साढे ८ घण्टा बयान लिइएको हो । यसअघि मंगलबार बयान दिएर कार्यालयबाट बाहिरिँदै गर्दा लामिछानेले ‘खोरमा बाघ थुन्दैमा स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएपछि प्रहरी प्रशासनले कडा सुरक्षाबीच रविलाई सरकारी वकिल कार्यालय ल्याउने र लैजाने गरेको थियो ।
रविको बिहीबार बयान सकिए पनि उनलाई शुक्रबार बिहान मात्रै पोखरा फिर्ता गरिनेछ । आज जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए । ‘आजलाई उहाँलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको छ’, राठौरले भने, ‘भोलि पोखरा पठाउँछौं ।’
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सहकारीको रकम गोर्खा मिडियामा जाँदा रवि उक्त संस्थाको प्रबन्ध निर्देशक थिए । रविलाई सुप्रिम सहकारी ठगीमा रुपन्देही छुट्टै मुद्दा चलाउने प्रहरीको तयारी छ । रुपन्देही प्रहरीका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरुको ८६ करोड बढी वचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।
प्रहरी सुप्रिम सहकारीसम्बन्धमा २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । यस मध्ये ८ जना पक्राउ परेका छन् । जसमा २ जना कास्की र एक जना रुपन्देही कारागार रहेका छन् भने ५ जना धरौटीमा रिहा भएका छन् । सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसी सहित १९ जना फरार छन् ।









लेखकको सम्वन्धमा