भैरहवामा रवि लामिछानेसँग लिइयो करिब १० घण्टा बयान, सोधियो ५० प्रश्न, बयान बिहीबार पनि हुने


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रुपन्देहीमा बुधबार करिब १० घण्टा बयान लिइएको छ । बुटवलस्थित सुप्रिम सहकारी संस्थामा सर्वसाधरणले बचत गरेको रकम ठगी आरोपमा रविमाथि बुधबार बिहान १० बजेबाट साँझ सवा ७ बजेसम्म ९ घण्टा बढी बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, भैरहवामा रविको मंगलबारबाट बयान लिन सुरु गरिएको थियो । मंगलबार कास्कीबाट रुपन्देही ल्याइएका लामिछानेसँग मंगलबार र बुधबार पनि बयान नसकिएपछि बिहीबार पुनः लिइनेछ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा रविको बयान भइरहेको छ ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बुधवार बयान लिँदै गर्दा रातपरेपछि बिहीवार बिहानसम्मका लागि बयान स्थगित गरिएको जनाए । सभापति लामिछानेसँग लिइएको बयानलाई अन्तिम रुप र नम्बरिङको कार्य बाँकी रहेकोले बिहीवार बिहानदेखि पुनः बयान लिइने उनले बताए । ‘उहाँ (रवि) को बयान सकिएको छैन । भोलि (बिहीवार) पनि बयान हुन्छ’, उनले भने, ‘अनुसन्धान प्रतिवेदन तयार भएको छैन । प्रतिवेदन तयार भएपछि मुद्दा चल्ने वा नचल्ने टुंगो लाग्छ ।’
पौडेलले बयान लिने काम अन्तिम चरणमा पुगेको बताए । ‘बयान अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘भोलि कतिबेला सकिन्छ एकीन छैन । तर, भोलि बयान पुनः हुनेछ ।’ रविसँग बुधबार करिब ५० प्रश्नमा सवाल–जवाफ भएको छ ।
जिल्ला न्यायधिवक्ता पौडेलले प्रश्नको नम्बरिङ नभएको जनाए पनि सरकारी वकिल कार्यालय स्रोतका अनुसार ५० हाराहारी प्रश्न रविलाई सोधिएको छ । पौडेलले रविलाई सोधिएको प्रश्नको सामान्य रुपमा जवाफ दिएको बताए । ‘उहाँ (रवि)जीलाई हामीले स्वास्थ्य अवस्थाबारे सोधेका थियौं, ठिक छ, जवाफ दिन सक्छु भन्नुयो’, उनले भने, ‘त्यसैले प्रश्न–उत्तर समान्य रुपमा भएको छ ।’ उनले रविसँग सहकारी बचत रकम ठगी आरोपमा बयान लिइएको बताए । रविलाई आज जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ ।
लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय प्रवेश गराउँदा र बाहिर निकाल्दा प्रहरीले कडा सुरक्षासहितको घेरा दिएको थियो । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिनेक्रममा रविले ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रहरीले आज उनलाई घेरा हालेर सरकारी वकिल कार्यालय लैजाँदा र फर्काउँदा कडाई गरेको थियो ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार रविले आफूमाथि लागेको आरोप इन्कार गरेर बयान दिएका छन् । रविको बिहीबार बिहानदेनि पुनः बयान हुने छ । रविको भित्र बयान भइरहँदा रास्वपा नेताकार्यकर्ताले आज पनि भैरहवामा प्रदर्शन गरेका छन् । भैरहवाको बुद्धचोकमा जम्मा भएका रास्वपा नेताकार्यकर्ताले नगर परिक्रमा गर्दै विरोध जनाएका हुन् । बुद्धचोकमा आयोजित कोणसभामा पार्टीका उपसभापति डीपी अर्यालले आफ्ना उम्काउने र विपक्षीलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेर अनुसन्धानको नाममा दुःख दिने गरेको जनाए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ । रास्वपाले भैरहवाको विद्रोहीचोक र मिलनचोकमा पनि कोणसभा गरेको छ । राष्ट्रिय झण्डासहित रास्वपाले प्रदर्शन गरिरहेको हो । सुप्रिम सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालि लगिएको आरोप छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।









लेखकको सम्वन्धमा