रूपन्देहीको सीमा सुरक्षामा सशस्त्रसँगै अब ‘डेजी’ र ‘सायरा’ पनि


भैरहवा– सीमा क्षेत्रमा चाडपर्वमा हुनसक्ने हातहतियार र विष्फोटक पदार्थ तथा लागूऔषधको ओसारपसार रोक्न भन्दै रुपन्देहीको नेपाल–भारत सीमानाकामा सशस्त्र प्रहरी बल नेपालले डग स्क्वायट (के–नाइन) टीम परिचालन गरेको छ । तालिम प्राप्त दुईवटा कुकुर र त्यसमा दख्खल राख्ने पाँचजना सशस्त्र प्रहरीको टिम परिचालन गरि सीमामा निगरानी बढाइएको हो । सीमा सुरक्षामा सशस्त्र प्रहरी तैनाथ छन् । तर, पनि पर्वमा भीडभाड र सीमा क्षेत्रमा आउजाउ बढी हुँदा हुनसक्ने जोखिमलाई रोक्न भन्दै सशस्त्रले चौबीसै घण्टा के–नाइन टिम मार्फत् सीमा निगरानी सुरु गरेको हो ।
‘दसैं, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरि के–नाइन टीम परिचालन गरिएको हो’, सशस्त्र प्रहरी बल नम्बर २७ गण के.क्वा., रुपन्देहीका प्रमुख एसपी आनन्द थापाले भने, ‘सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार नविन नारायण श्रेष्ठको नेतृत्वमा काठमाडौंबाट पाँच जनाको टीमलाई रुपन्देहीमा खटाइएको छ । पर्वको बहानामा हुनसक्ने अवाञ्छनीय गतिविधि रोक्न दुईवटा तालिम प्राप्त कुकुरसहितको टिम सीमा क्षेत्रमा खटाइएको हो ।’
आइतबारबाट उक्त टिमले रुपन्देहीको बेलहिया, कक्रहवा, भगवानपुर लगायतका सीमा नाकामा निगरानी गर्न सुरु गरेको छ । ‘यो टीमले आवश्यकताका आधारमा जुनसुकै बेला र जुन ठाउँमा पनि चेकजाँच र निगरानी गर्नसक्ने गरी परिचालन गरेका छौं’, एसपी थापाले भने । सीमा निगरानीका लागि ‘डेजी’ र ‘सायरा’ नामका दुईवटा तालिम प्राप्त कुकुर ल्याइएको छ । डेजीले हातहतियार र विष्फोटक पदार्थ तथा सायराले कुनै व्यक्ति, उसले बोकेको झोला र सवारी साधनमा लागुऔषध छ–छैन भन्नेबारे आफ्नो सुग्ने क्षमताको प्रयोग गरेर जानकारी दिने सशस्त्रका बरिष्ठ हवल्दार नवीन नारायण श्रेष्ठले बताए ।

‘डेजीले हातहतियार र विष्फोटक पदार्थ भएको सुगेर थाहा पाए पछाडि हटेर आफू सुरक्षित भएर बस्छ । यस्तोमा व्यक्तिको साथमा वा सम्बन्धित ठाउँमा हातहतियार र विष्फोटक पदार्थ छ भन्ने बुझ्नुपर्छ । यस्तै, सायराले लागूऔष भएको पत्ता पाए भुकेर जानकारी दिन्छ’, उनले भने, ‘डेजी र सायराबाट कुनै प्रतिक्रिया पायौं भने हामीले मानिस, झोला वा सवारी खानतलासी गर्छौं ।’
तालिम प्राप्त कुकुरसहितको सशस्त्र प्रहरीको टिमले अब रुपन्देहीका सीमा क्षेत्रमा आउजाउ गर्ने यात्रु, सवारी र शंकास्पद व्यक्तिलाई ‘डेजी’ र ‘सायरा’को प्रयोग गरेर निगरानी गर्नेछ । पर्वहरु नजिकिँदै गर्दा सीमा क्षेत्रमा बढाइएको निगरानीले लागूऔषध र हातहतियार तथा विष्फोटक पदार्थ भित्रिन रोकिने विश्वास गरिएको छ । सीमामा चौबीसै घण्टा तैनाथ सशस्त्रले तालिम प्राप्त कुकुरबाट पनि निगरानी गर्दा सुरक्षा अवस्थालाई थप मजबुत पार्न सहयोग पुग्ने एसपी थापाले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसको प्रभावकारीतालाई बढवा दिँदै पर्व पछि पनि निरन्तरता दिन पहल गर्नुपर्नेमा जोड दिए । ‘चाडपर्वका बेलामा मात्र नभइ जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यो टीमलाई निरन्तरता दिनुपर्नेमा हुन्छ’, उनले भने, ‘रुपन्देही हरेक हिसाबले संवेदनशील जिलला हो । यसको प्रभावकारिता स्थापित होस् । यो टीमलाई निरन्तरता दिन सके अझ राम्रो कार्यसम्पादन हुनेछ ।’

नेपालमा सशस्त्र प्रहरीले काँकटभिट्टामा के–नाइन टीम मार्फत् सीमा निगरानी गर्दै आएको छ । यसपछि रुपन्देहीमा यसको अभ्यास थालिएको हो । सशस्त्रले रुपन्देहीमा भारतसँग सीमा जोडिएका नाकाहरुमा चौबीसै घण्टा नियमित गस्ती र निगरानी गर्दै आएको छ । अब, यससँगै के–नाइन टिमबाट पनि चेकजाँच हुनेछ । सीमा क्षेत्रमा पर्वको बेला मौका छोपेर लागूऔषध र हातहतियार तथा विष्फोटक पदार्थ ओसारपसारका घटना हुनसक्ने अधिक जोखिम हुन्छ । ‘सशस्त्रले तालिम प्राप्त कुकुरबाट निगरानी बढाउँदा जोखिम न्युनीकरण गर्न सकिन्छ नै अपराधिक मनोवृत्तिका व्यक्ति र त्यसमा संलग्नहरु कानूनको दायरामा आउँछन्’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने ।









लेखकको सम्वन्धमा