आशाको केन्द्र गौतमबुद्ध विमानस्थल


सबैलाई थाहै भएको कुरा हो, सिद्धार्थ उद्योग बाणिज्य संघले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा बन्नुपर्छ भनेर आवाज उठाउने पहिलो संस्था हो । २०६० सालमा विश्व पर्यटन केन्द्र लुम्बिनीलाई मुख्य केन्द्रमा राखेर भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहलस्वरुप सरकारलाई घचघच्याउने उद्देश्यले संघले टोकन मनीका रुपमा बजेट विनियोजन गरेर दवाव दिएको थियो । हाम्रो पहल र सरकारले आवश्यकता महसुस गरेर विमानस्थल तयार गरेको छ । केही अन्तर्राष्ट्रिय उडान पनि भएका छन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दा सबैभन्दा खुशी सिद्धार्थ उद्योग बाणिज्य संघ थियो, यसका साथै समग्रह रुपन्देहीसहित देशबासी थिए ।
तर, विडम्बना भन्नुपर्छ उद्घाटन भएर एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पहिला विमानस्थल बन्दा जति खुशी थियौं, अहिले पूर्णक्षमतामा नचल्दा हामी सबैभन्दा दुखी छौं । यसमा राज्यको ध्यान जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।
विमानस्थल निर्माणकै क्रममा देखिएका समस्या समाधानदेखि उद्घाटन भएयता हामीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि निरन्तर पहल र दवावमूलक कार्यक्रम गरिरहेका छौं । हामीसँगै यस क्षेत्रका दर्जनौं संघसंस्थाले यसका लागि पहल गरिरहेको कुरा सबैमाझ छर्लङ्ग छ ।
भैरहवा, लुम्बिनीसहित सिंगो प्रदेश र मुलुककै भविष्य जोडिएको विमानस्थललाई लक्षित गरी निजी क्षेत्रबाट ८० अर्ब हाराहारी लगानी भएको छ । सरकारी लगानी करिब ४० अर्ब लगाएर विमानस्थल तयार भएको छ । तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले विमानस्थल शिलान्यास गर्दा भन्नुभएको थियो– अब भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुन लाग्यो । निजी क्षेत्रले होटल बनाउनुस्, उद्योग खोल्नुस् ।
त्यसपछि दैनिक हजारौं पर्यटक आउने र यहाँ उत्पादन भएको वस्तु विदेश निर्यात हुने अपेक्षाले त्यसपछि निजी क्षेत्रले अर्बौं लगानी गर्यो । स्तरीय होटल थपियको थपियै छन् । तर, विमानस्थल पूर्णक्षमतामा चल्ने कहिले हो कुनै टुंगो छैन ।
विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न र पूर्ण क्षमतामा संचालनका लागि सिद्धार्थ उद्योग बाणिज्य संघले विगतदेखि नै अग्रपंक्तिमा रहेर नेतृत्वमूलक रुपमा सरकारलाई घचघच्याउने काम गरिरहेको छ । म स्मरण गराउन चाहन्छु, अहिलेसम्म पूर्वप्रधानमन्त्रीदेखि वर्तमान प्रधानमन्त्रीसम्म र संघका अर्थ, पर्यटन, गृहदेखि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुसम्मलाई हामीले विमानस्थल संचालनमा देखिएका समस्या, समाधानका उपायबारे ज्ञापनपत्रमार्फत् प्रत्यक्ष भेटेर जानकारी गराएका छौं । यस्तै, तत्काल विमानस्थल चलाउन दवाव पनि दिएका छौं ।
नेपालस्थि सबै अन्तर्राष्ट्रिय विमान कम्पनीहरुमा पुगेर सम्बन्धित व्यक्तिलाई भेटेर भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्न अनुरोध गरेका छौं । विभिन्न छलफल, गोष्ठी, अन्तरक्रिया लगायत कार्यक्रम गरेर पनि विमानस्थल संचालनबारे चासो र चिन्ता व्यक्त गरिरहेका छौं । तर, अझै नियमित रुपमा एउटा पनि उडान हुन सकेको छैन ।
हाम्रो निरन्तरको दवावमूलक प्रयासले पछिल्लोपटक सरकारले स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम केन्द्र, बिमा, श्रम स्वीकृत, भिसा यहीबाट जारी गर्ने कार्यालय र म्यानपावर कम्पनीहरु स्थापना लगायतका निर्णय गरेको छ । यस्तै, अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउँदै आएको ३ हजार रुपैयाँ यात्रुसेवा शुल्क पूर्णरुपमा छुट दिने, हवाई टिकटमा लगाउँदै आएको १ हजार रुपैयाँ पर्यटन शुल्क पूर्णरुपमा छुट दिने, अन्तर्राष्ट्रिय हवाई उडानमा पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्क पूर्णरुपमा छुट दिने, विमानस्थलमा लाग्दै आएको अन्तर्राष्ट्रिय हवाई उडानमा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिने, इन्धन सुविधामा छुट दिने लगायतका निर्णय गरेको छ । यो स्वागत योग्य छ ।
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे लगायत सरकारलाई पछिल्लो निर्णयप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । हाम्रो माग निर्णय मात्रै गर्ने होइन्, तत्काल कार्यान्वयन होस् भन्ने हो । विगतमा गरिएका कयौं निर्णय अलपत्र रहेको अवस्थामा अहिलेको निर्णय पनि कतै कार्यान्वयन नै नहुने त होइन् भन्ने चिन्ता पनि छ । तर, हाम्रो चिन्ता गलत सावित होस् र निर्णय कार्यान्वयन भई नियमित अन्तर्राष्ट्रिय उडान होस् ।
धरासायी बनेको निजी क्षेत्रलाई उकास्न र पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न विमानस्थल चल्नुपर्छ र चलाउन जरुरी छ । हाम्रो माग तत्काल नेपाल वायु सेवाबाटै भए पनि भैरहवा–दिल्ली, भैरहवा–चीन, भैरहवा–थाइल्णड, भैरहवा–श्रीलंका लगायतका देशमा उडान होस् भन्ने हो । यसका साथै सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गरी भैरहवाबाट नियमित उडानको पहल गरोस् भन्ने छ । सँगसँगै भैरहवाबाट आन्तरिक उडानतर्फ पनि कनेक्टिभिटी बढाई भैरहवा–विराटनगर, भैरहवा–नेपालगंज, भैरहवा–धनगढी, भैरहवा–जनपुर जस्ता सहरहरुमा उडान सुचार गर्न पनि माग गर्दछौं ।
बेलहिया नाका व्यवस्थापन, भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार रुपैयाँ मात्रै ल्याउन पाउने अहिलेको प्रावधानलाई बढाएर कम्तिमा पनि ५ हजार डलर बराबरको रकम बनाइयोस् भन्ने हाम्रो माग छ । यस्तै, निर्माणाधीन आइसीपीमा रेलवे कनेक्सनका लागि भारत सरकारसँग पहल होस्, नारायणगढ–बुटवल जस्ता कयौं सडकका कारण पर्यटन क्षेत्रमा परिरहेको प्रभावलाई निर्मूल पार्न मुलुकभरका सडक संजाल निर्माण मर्मतका काम तत्काल सम्पन्न गरियोस् । विश्व पर्यटन केन्द्र लुम्बिनीमा भइरहेको विकास निर्माणलाई व्यवस्थित गरी पर्याप्त बजेट विनियोजन गरियोस् । चालु आवमा सरकारले बजेट विनियोजन नगर्दा लुम्बिनीको काम अलपत्र भइरहेको अवस्था छ । यसमा तत्काल ध्यान दिन जरुरी छ ।
(गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्नका लागि पहल स्वरुप अघिल्लो हप्ता भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले राखेको विचारको सम्पादित अंश ।)








लेखकको सम्वन्धमा