लुम्बिनीबाटै पर्यटकले हिमाल नियाल्दा… (फोटोसहित)


लुम्बिनी– शान्तिको खोजीमा लुम्बिनी आउने धेरै छन् । तर, लुम्बिनी आएकाले हिमाल देख्न पाउँछन् भन्दा पत्यार नलाग्न सक्छ । तर, आकाश खुलेमा सहजै हिमाल देख्न सकिन्छन । केही दिनयता छर्लङ्ग खुलेको आकाशबाट हिमाल नियाल्न पाउँदा लुम्बिनी आएका पर्यटक दंग छन् ।
तराईको सम्म फाँटमा छ, लुम्बिनी । यही फाँटमा भगवान् बुद्धले जन्म लिए । शान्तिको खोजीमा लुम्बिनी आउने धेरै छन् । तर, हिमाल–पहाड नचढी लुम्बिनी आएकाले त्यही शान्ति भूमिबाट बेलाबखत हिमाल चिहाउन पाउँछन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, आकाश खुलेको बेला लुम्बिनीबाट सहजै हिमाल देख्न सकिन्छ । बुधबार तीनचार घण्टा र बिहीबार केही समय लुम्बिनी घुम्न गएकाले यहीबाटै हिमाल चिह्याउने अवसर पाए ।
यो अवसर शुक्रबार १०–११ बजेको समयमा पनि मिल्यो । धेरैले तराईको सम्म फाँट लुम्बिनीबाट लोभलाग्दो अन्नपूर्ण हिम शृङ्खलाको भिडियो र फोटो खिचेर रमाए । श्रीलंकाबाट बौद्ध तीर्थयात्रीहरु लिएर लुम्बिनी आएका धम्म श्री भन्तेले दुर्लभ दृश्य देख्न पाएकोमा खुशि व्यक्त गरे । ‘भगवान बुद्धको जन्म हिमालयको काखमा भएको भनेर ब्याख्या गरिएकोमा प्रत्यक्ष रुपमा हिमाल देख्न पाएकोमा निकै खुशी छु’, उनले भने । उनले अहोभाग्य मिलेको बताए ।
शान्ति भूमि लुम्बिनी । हरेक मानिस यहाँ शान्तिको खोजीमा आउँछन् । तर, सबैले हिमाल देख्ने मौका पाउँदैनन् । तीन दिनसम्म खुलेको आकाशले लुम्बिनी पुगेका पर्यटकहरु हिमाल देख्न पाएकोमा दंग थिए । बर्षातपछि खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरु देख्दा यहाँ आएका आन्तरिक, बाह्य र धार्मिक पर्यटकहरु लेभिएका हुन् । प्रायः असार साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरी लगायतका हिमालहरु देखिने गर्छ ।

त्यसो त नेपाल भौगौलिक रुपमा हिमाल, पहाड र तराईको दुरी त्यति टाढा छैन । मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिन्छ नै । तर, बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटकीय रुपमा प्रचार हुन सकेको छैन । भगवान बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगंगा नदीको किनारमा भएको बताउनुले बुद्धसँग हिमालको सम्बन्ध जोडिने पर्यटन विद् समेत रहेको लुम्बिनी विकास कोषका सूचना प्रमुख हरिध्वज राईले बताए ।
मायादेवी र अशोक स्तम्भको छेउबाट देखिने हिमशृङ्खला बेला र मौकामा मात्रै देखिन्छ । तराईको समथरभूमिबाट हिमाल हेर्न पाउनु आफैमा महत्वपूर्ण हो । लुम्बिनीसहित तराईका जिल्लाहरुबाट प्रायः असार साउनमा मौसम खुल्दा हिमाल देखिने स्थिानीयहरु बताउँछन् । लुम्बिनीबाट अन्नपूर्ण र धौलागिरी लगायतका हिमशृङ्खलाहरु देखिन्छ । वर्षौंदेखि मायादेवी परिसरमा पुजाआजा गर्दै आएका स्थानीय पुजारी योगेन्द्रनाथ पाण्डेयले हिमाल देख्न पाउँदा पर्यटक खुबै रमाएको बताए । ‘हामीले यसैलाई पनि प्रचार गर्न सक्यौं भने लुम्बिनी क्षेत्रले थप लाभ लिन सक्छ’, उनले भने ।












प्रतिकृया दिनुहोस्