January 25, 2025, Saturday
२०८१ माघ १३

‘क्यान्सर देखिएपछि आत्तिएर विरामी र आफन्त भारत जानुहुन्छ तर उपचार नेपालमै सम्भव छ’

नेपालमा प्रत्येक वर्ष क्यान्सरका बिरामीहरु बढिरहेका छन् । विरामी बढिरहँदा नेपालमै उपचारका लागि सहजता समेत हुँदै आएको छ । तर, उपचार भने निकै खर्चिलो छ । कतिपय अवस्थामा विरामीहरु स्वदेशमै उपचार सम्भव हुँदाहुँदै भारत लगायतका मुलुकमा जाने गरेका छन् । भारतमा जाँदा स्वतः उपचार खर्च नेपालमा भन्दा बढी लाग्छ । यसैसन्दर्भमा नेपालमा क्यान्सरको पछिल्लो अवस्था, उपचार विधि, रोकथामको उपाय लागायत विषयमा रहेर पत्रकार मनोरञ्जन शर्माले भक्तपुर क्यान्सर अस्पतालका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.रोशन प्रजापतिसँग छोटो कुराकानी गरेका छन् ।

पछिल्लो समय नेपालमा क्यान्सर रोगको अवस्था कस्तो छ ?
नेपालमा क्यान्सर रोगका विरामी दिनप्रतिदिन बढीरहेका छन् । त्यसैले यसै भन्न सकिने अवस्था छ्रैन । तपाईंले अस्पताल परिसरमा उपचारका लागि आएका बिरामीहरुको चाप देखि हाल्नु भयो । पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीहरु उपचारका लागि आउने गर्नुभएको छ । दिनहुँ यो रोगका बिरामीहरु बढिरहेका छन् । बालबच्चादेखि बृद्धबृद्धा सम्मका बिरामीहरुमा यो रोग लागेको पाइन्छ । अब पनि समयमै सतकर्ता अपनाइएन भने अबस्था भयाबह नहोला भन्न सकिँदैन ।

Advertisement

यहाँ बाहेक नेपालका अन्य कुन–कुन ठाउँमा यो रोगको उपचार हुन्छ ?
नेपालमा अहिले बिशुद्ध क्यान्सरको उपचार हुने सरकारी अस्पतालहरुमा भक्तपुर क्यान्सर अस्पताल नै हो । यसका साथै बिपि कोइराला क्यान्सर अस्पताल भरतपुर तथा नीजि अस्पतालहरुमा नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर प्रालि हरिसिद्धी ललितपुर, काठमाडौं क्यान्सर अस्पताल भक्तपुरका साथै झापामा समेत क्यान्सर अस्पताल सञ्चालनमा छ । काठमाडौं उपत्यकाका अन्य सरकारी अस्पताल, सामुदायिक अस्पताल र नीजि अस्पतालहरुमा पनि क्यान्सरको उपचार हुने गरेको छ । तर क्यान्सरको उपचार मात्र हुने सरकारी २ अस्पताल तथा नीजि ३ अस्पताल हुन् ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा कस्ता प्रकृतिका क्यान्सर बिरामी बढी छन् ?
सबै किसिमका क्यान्सर भएको पाइन्छ । तर पनि खासगरी महिलातर्फ भन्ने हो भने स्तन क्यान्सर र पुरुषमा फोक्सोको क्यान्सर बढी भएको पाइएको छ । हाम्रो भक्तपुर अस्पतालमा पनि यही दुई किसिमका क्यान्सर भएका महिला पुरुष उपचारका लागि बढी मात्रामा आउने गर्नुभएको छ ।

नेपालमा क्यान्सरको उपचार सम्भब छैन भन्छन् नी । के यो वास्तविक कुरा हो ?
क्यान्सरका बिरामीहरु र अभिभाबकले बिश्वास मान्नु हुन्न होला । पहिला–पहिला नेपालमा उपचार सम्भब थिएन । अहिले हाम्रो देशमै क्यान्सर रोगको उपचार सम्भब छ । यो रोग देखिएपछि बिरामीहरु आतिएर धेरै भारत जाने गर्नुहुन्छ । तर म भन्छु हाम्रो देशमै क्यान्सरको उपचार सम्भब छ । क्यान्सरको मुख्य उपचार बिधि भनेको केमो थेरापी, रेडियो थेरापी तथा सर्जरी (शल्यक्रिया) हो । यी सबै बिधिहरु हाम्रै देशमा छ, हाम्रो अस्पतालमा पनि सर्जरीसहित केमो, रेडियो थेरापीको सेवा उपलब्ध छ । बिदेशमा गए पनि उपचारको मुख्य बिधि भनेकै यही तीन हुन् । अन्य थेरापीहरु प्नि प्रयोगमा छन् तर बढी प्रयोग हुने यही नै हुन् । यो हाम्रो देशमा उपलब्ध छ । अहिले क्यान्सर रोगमा बिज्ञता हासिल गरेका चिकित्सक, सर्जनहरु हुनुहुन्छ, त्यसैले म फेरी पनि भन्छु– हाम्रो देशमा क्यान्सर रोगको उपचार सम्भब छ ।

क्यान्सरका बिरामीहरु बढ्नुका कारण के होलान ?
यसका धेरै कारण छन् । तथापी मुख्य कारण हाम्रो दैनिक जीवनशैली तथा अस्वाभाबिक खानपान, हरियो तरकारीमा बिषादीको प्रयोग बढी हुनु नै हो । हाम्रो दैनिक जीवनशैली र खानपानका कारण नै क्यान्सरका बिरामी बढ्नुको मुख्य कारण हो । त्यसैले हामीले हाम्रो जीवनशैली परिबर्तन गर्नु, खानपिनमा ध्यान दिनु जरुरी छ । तरकारी उत्पादनमा बढ्दो बिषादीको प्रयोग पनि एक हो । धुम्रपान, मध्यपान, मदिरापान अर्को पाटो हो । बाताबरण प्रदुषण पनि हो । अर्को कुरा बंशाणुगत कारण पनि यो रोग हुनेगर्छ ।

खानपिनकै कारण भन्नाले ?
हामीहरु मसालेदार, बढी चिल्लो, भुटेको, पोलेको मासुहरु बढी प्रयोग गर्छौ, एउटै तेलमा कति पटक माछा मासु तार्न प्रयोग गर्छौं । मासु पोलेर डढालेर खान्छौं, त्यो मात्रै होइन चुरोट, बिडीं, अहिले हुक्काको प्रचलन अझ बढेको छ । मदिरापन पनि एक अंग भएको छ । बिलाशिता जीवनशैली परीबर्तन गर्न जरुरी छ । खानपिन एक कारण हो ।

क्यान्सर रोग न्यूनिकरणका लागि के गर्नुपर्ला ?
आफैमा सचेत हुनु सबैभन्दा जरुरी छ । समय समयमा स्वास्थय परीक्षण गर्नुपर्छ । महिला दिदी बहिनीहरुले रोग व्यथा लुकाउने गर्नुहुन्छ । त्यसैले शंका लागिहालेमा वा अस्भाबिक परिबर्तन देखिएमा चिकित्सकको सम्पर्कमा गै हाल्नुपर्छ । अहिले बिभिन्न संघसंस्थाले बेलाबेलामा निःशुल्क शिबिरहरु सञ्चालन गर्छन् । त्यस्तामा स्वास्थ्य परीक्षण गर्ने गर्नुपर्छ । सबैभन्दा ठुलो कुरा आफैमा सचेत हुनुपर्छ । अर्को कुरा रोग लागि हाले आतिनु हुँदैन, आत्मबिश्वास, हिम्मत र मनोबल कायम राख्दै उपचारमा लागी आफ्नो दैनिकी अघि बढाउनुपर्छ । यो रोग लागि हाल्यो भनेर हिम्मत हार्नु हुँदैन, सुरुवाति अबस्थाको भए सहजै उपचार हुन्छ, सुरुवाति अबस्था पछि पनि उपचार सँभब छ । आत्तिनु हुँदैन् ।

सरकारी अस्पतालमा क्यान्सर उपचारका लागि सरकारले के–कस्ता सेवासुबिधा दिएको छ ?
पक्कै पनि सरकारी अस्पतालमा सरकारी स्तरबाट धेरै सुबिधाहरु बिरामीका लागि उपलब्ध छ । जस्तो की विपन्न विरामीका लागि संघीय सरकारले १ लाख रुपैयाँ साथै प्रदेश सरकारले ५० हजारदेखि २ लाखसम्म उपचार खर्च उपलबध गराउने गरेका छन् । यसका साथै स्वास्थ्य बिमाको पनि सेवा उपलब्ध छ । सरल, छिटोछरितो र निजी भन्दा सस्तोमा उपचार हुन्छ ।

तर, बिरामीहरुको गुनासो छ, अस्पतालमा औषधि पाइँदैन् भन्ने ?
बिरामी तथा अभिभाबकहरुको गुनासो जायज हो । डाक्टर औषधि नै पाइएन भन्दै आउनुहुन्छ । राज्यले अस्पताललाई भुक्तान गर्नु पर्ने औषधि बापतको खर्च लामो समयदेखि रोकिदिँदा समस्या देखिएको हो । हाम्रो अस्पतालमा पनि ६–७ महिना भयो बिपन्न कोष तथा स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपचारमा आएका बिरामीहरुले प्रयोग गरेको सेवासुबिधा बापतको पैसा सरकारले दिएकै छैन् । सरकारले नदिँदा अस्पतालले औषधि आयातकर्तालाई समयमा पैसा दिन सकेको छैन, समयमा पैसा नपाएपछि औषधि आयातकर्ताले औषधि पठाउन छोड्छ । जसले अस्पतालमा औषधि नपाइने मुख्य कारण हो । सरकार अझ बढी जिम्मेवार हुनु पर्यो । अस्पतालमा उपचारका लागि आएका बिरामीहरु औषधि खरिद गर्न बाहिर जानुपर्छ, बाहिर महंगो पर्छ । त्यसैमा यो रोगको औषधि महंगो छ । अझ बाहिर जानुपर्दा बिरामीका अभिभाबकहरु पनि निराश हुने गरेका छन् । सरकारले सरकारी अस्पतालहरुबाट प्रबाह हुने सेवासुबिधा प्रभाबकारी बनाउन यस्ता कुरामा बढी ध्यान दिई अस्पतालको स्तरबृद्धिमा जोड दिनुपर्छ ।