June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै पाँच दिवसीय मोन्लम पुजा सुरु

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीको प्रबद्र्धन, विकास र प्रचारप्रसारका लागि विभिन्न धार्मिक तथा आध्यमिक गतिविधि हुँदै आएका छन् । पछिल्लोपटक लुम्बिनीमा मोन्लम अर्थात् विश्व शान्ति पुजा सुरु भएको छ । लुम्बिनीबाट विश्व शान्तिको कामना गर्ने र सन्देश दिने उद्देश्यसहित महायानी परम्परा अनुसार मोन्लम पुजा सुरु गरिएको हो । यसले लुम्बिनीको धार्मिक, आध्यत्मिक तथा पर्यटकीय विकासमा टेवा पुग्ने विश्वा गरिएको छ ।

Advertisement

विश्व शान्तिको कामनासहित लुम्बिनीमा धार्मिक तथा आध्यत्मिकता बढाउने उद्देश्यसहित महागुरु वल्र्डपिसको समन्वयमा ५ दिनसम्मका लागि मोल्नम पुजा आयोजना गरिएको हो । मोल्नम पुजामा चिनियाँ चर्चित चलचित्रकर्मी एवं हलिउड स्टार जेट्ली समेत सहभागी छन् । उनी मोल्नम पुजा अवधिभर सहभागी हुनेछन् ।

Advertisement

भगवान् बुद्धको धर्म थेरवादी र महायानी गरी दुई मुख्य परम्परामा विकसित हुँदै आएको छ । महायानीमा हिमाली बौद्ध र नेवारी बौद्ध परम्परा चलेका छन् । हिमाली बौद्ध परम्पराअन्तर्गत सयौं पर्व, संस्कृति र रीतिथिति विकसित भएका छन् । ती सबैले बुद्धले दिएका शिक्षालाई प्रतीकात्मक रुपमा बुझ्न र दैनिक जीवनमा अभ्यास गर्न सुझाउँछन् । मोन्लम अर्थात् विश्व शान्ति पूजा हिमाली भूभागमा प्रचलित परम्परा हो । लुम्बिनीलाई बुद्ध जन्मभूमिको रुपमा महत्व दिएर मोन्लमको परम्परा आरम्भ गर्ने श्रेय भने नेपालको हिमाली भूभाग र तिब्बतमा स्थापित शाक्य सम्प्रदायलाई जान्छ ।

बिहीबारदेखि लुम्बिनीमा सुरु मोन्लम पुजा महायानी परम्पारमा सुरु भएको हो । मोन्लममा पाँच सय बढी रिम्पोछे, लामा, आनीहरु एकै ठाउँमा भेला भई मन्त्रोच्चारण र पाठ गर्दा समस्त लुम्बिनी गुञ्जायमान भएको छ । मायादेवी मन्दिर परिसरमा आयोजित पुजाले लुम्बिनीको वातावरणमा एक प्रकारको आध्यात्मिक तरंग ल्याएको छ । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन यो कोशेढुंगा हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले बताए । ‘यसका साथै विश्व शान्तिका लागि मोल्नम पूजाले सकारात्मक सन्देशसमेत दिने छ’, उनले भने ।

उनले भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरी गरिएको पुजाको महायानी परम्परामा निकै ठूलो महत्व रहेको जनाए । ‘लुम्बिनी विकास कोषले मोन्लम जस्ता पुजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको छ । यो वर्ष हामीले अझै धेरै पुजा गर्दैछौं’, उपाध्यक्ष लामाले भने ।

लुम्बिनीमा आयोजना हुने यस्ता पुजाले लुम्बिनीमा धार्मिक पर्यटकहरु आर्कषित हुने र यसले बुद्धका उपदेश र सन्देश थप फैलाउन सहयोग पुग्ने अपेक्षा निजी क्षेत्रको छ । ‘यसका साथै कोरोना पछि तंग्रिँदै गरेको लुम्बिीमा विदेशी पर्यटक आगमन थप बढ्ने अपेक्षा हाम्रो छ,’, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले भने ।

बुद्ध शिक्षाको सार गलत काम नगर्ने, कुशल कामहरु गरिरहने र पुण्य सञ्चय गर्ने हो । ‘आफूले सञ्चय गरेको पुण्य बाँड्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसले अरुलाई पनि कुशल कर्म गर्न प्रेरणा दिन्छ । मोन्लम पाठ गर्नु पुण्य वितरण गर्नु पनि हो । मोन्लम पाठ गर्दा सबै प्राणीहरुको कल्याण होस् भन्ने मैत्री कामना गर्दा आफन्त र छिमेकीको अशान्त मन समेत शान्त हुने विश्वास छ’, बौद्ध धर्मगुरु छोक्ङी रिम्पोछेले भने ।

क्रमशः यस अभियानले विश्व शान्तिमै टेवा पुर्याउन सक्ने उनले जनाए । ‘यस्ता पुजामा सहभागीहरु बुद्धको मूल शिक्षासम्म पुग्न सक्छन् । विश्व शान्ति र सौहाद्रताका लागि शान्ति पाठ गर्नुको सार्थकता बुद्धको शिक्षामा पाइन्छ । लुम्बिनीमा आयोजना गरिएको महायानी परम्पराको मोल्नम पुजाले पनि बौद्ध शिक्षाको विकाससँगै विश्व शान्ति र पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास छ’, उनले भने ।