पक्राउ पुर्जी जारी भएकै राति टोपबहादुर बेलहिया हुँदै दिल्लीतर्फ


भैरहवा– नक्कली शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी हुँदाकै राति रुपन्देहीको बेलहिया–सुनौली नाका हुँदै दिल्लीतर्फ लागको पब्लिक कुरालाई उपलब्ध एक अडियो रेकर्डमा खुलेको छ ।
सार्वजनिक नगर्ने शर्तमा गोप्त स्रोतबाट प्राप्त रेकर्डअनुसार रायमाझी उनका सहयोगीसहित बेलहियाबाट सुनौली गएर एक भारतीय नम्बर प्लेटको सानो गाडी रिजर्भ गरी दिल्लीतर्फ लागेका थिए । गत बुधबार नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएपछि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी पूर्वउपप्रधानमन्त्री हुन् भने हाल अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित बहालवाला सांसादसमेत हुन् ।
अर्घाखाँचीको एक कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै सहभागी रायमाझी पक्राउ पुर्जी जारीपछि बुटवल आएका थिए । बुटवलमा आएका उनले आफ्नो पीओसो, चालक र गाडी काठमाडौंतर्फ पठाएको बुझिएको छ । लगत्तै रायमाझीका छोरा सन्दीप बुटवलबाटै पक्राउ परे । आफ्नो छोरा बुटवलबाट पक्राउ परेपछि उनी भैरहवातर्फ आएको दावी गरिएको छ ।
भैरहवा आएका टोपबहादुर भारतीय गाडी प्रयोग गरी आफ्नो सहयोगी प्रितम केसीसँगै बेलहिया–सुनौली नाकाबाट दिल्लीतर्फ लागेको दावी अडियो रेकर्डमा छ । ‘उहाँ (टोपबहादुर) उसैदिन राति दिल्लीतर्फ लाग्नुभएको कन्फर्म हो’, अडियोमा भनिएको छ, ‘अहिले फर्किएको भए थाहा छैन । होइन् भने उहाँ दिल्लीमा रहेको आफ्नो ससुरालीमा हुनुहुन्छ ।’
रायमाझीको ससुरालीका सदस्यहरु दिल्ली बस्ने बताइएको छ । उनी दिल्लीस्थित ससुरालीमा रहेको प्राप्त अडियोमा दावी गरिएको छ । रायमाझीले आफ्ना सहयोगी केसीलाई पनि सँगै लिएर गएको जनाइएको छ । केसी अर्घाखाँचीस्थित शितगंगा नगरपालिकाको नरपानीका बासिन्दा हुन् । पछिल्लो समय टोपबहादुरसँग राम्रो हिमचिम रहेका उनी विश्वास पात्र भएको बताइएको छ । टोपबहादुर अर्घाखाँचीबाट बुटवलतर्फ आउँदा केसी पनि सँगै आएको स्रोत बताउँछ ।
‘बुटवलबाट पीओसो र चालकलाई काठमाडौं पठाएर उहाँ (टोपबहादुर) भैरहवातर्फ लाग्नुभएको थियो । त्यसपछि उसैदिन दिल्ली प्रस्तान गर्नुभयो’, अडियोमा भनिएको छ । स्रोतका अनुसार बुटवलमा छोरा सन्दीप पक्राउ हुँदा टोपबहादुर पनि सँगै थिए । तर, प्रहरीले सन्दीपलाई पक्राउ गरेर टोपबहादुरलाई छाडेको बताइएको छ । तर, बाबुछोरा सँगै थिए–थिएनन् भन्नेबारे केही पुष्टि हुन सकेको छैन ।
रायमाझीविरुद्ध नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जनासँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको साँठगाँठ गरेको आरोप छ । प्रहरीले अहिले रायमाझीलाई फरार सूचिमा राखेर खोजी कार्य जारी राखेको छ । रुपन्देही प्रहरी प्रमुख एसपी भरतबहादुर विकले रायमाझीलाई जिल्लामा खोजी कार्य जारी राखेको जनाए । रायमाझी पक्राउ पुर्जी जारी हुँदाकै दिन बेलहिया–सुनौली हुँदै दिल्लीतर्फ लाग्नुभएको थियो रे नी भन्ने प्रश्नमा एसपी विकले भने, ‘यसबारे मलाई जानकारी छैन तर जिल्लाका विभिन्न ठाउँमा खोजी भइरहेको छ ।’









लेखकको सम्वन्धमा