April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

गौतमबुद्ध विमानस्थलः निराशाबीचको आशा

व्यग्र प्रतीक्षाबीच गत जेठ दुई गते बुद्धपूर्णिमाका दिनबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । यो दिन कुर्न भैरहवाबासीलाई मात्रै होइन्, मुलकलाई साढे ६ दशक लाग्यो । किन भने यो मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यसो त विमानस्थल संचालनमा आउन आठ वर्ष लाग्यो । यो अवधि यहाँका उद्योगी–व्यवसायी, स्थानीय, सरोकारवालाका लागि निकै प्रतीक्षाको घडी थियो । निर्माण सुरु हुँदाको उत्साह जति थियो, बीचमा आएका अनेक ब्यवधानले सशंकित बनायो । यसबीच पनि विमानस्थल बनेर संचालनमा आयो, यसले अनेकन शुखीका साथ उत्साह मात्रै होइन्, सिंगो लुम्बिनी र मुलुकको आर्थिक समृद्धिको ढोको खोलेको छ ।

Advertisement

बुद्ध जन्मस्थल लुम्बिनीको काखैमा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनु साँच्चै यो हामी सबै र बौद्धमार्गीहरुलाई खुशीको कुरा हो । निजी क्षेत्र, यसमा पनि रुपन्देहीबसी यसै पनि खुशी हुने भए । विश्वका कराडौं बौद्धमार्गी लुम्बिनी आउन चाहन्छन् । विमानस्थलले यसको ढोका खोलेको छ । यही कारण भैरहवामा र यस आसपासमा लगानीको ओइरो छ । खासगरी पर्यटन क्षेत्रमा लगानी अर्बौं छ । विमानस्थलले पर्यटक अधिक आउने अपेक्षा निजी क्षेत्रको हो । यो अपेक्षा लुम्बिनीले अझै फराकिलो बनाएको छ ।

Advertisement

लुम्बिनी आउन चाहने बौद्धिष्ट मुलुकका नागरिक धेरै छन् । उनीहरुलाई यहाँ ल्याउन सरकारी मात्रै होइन्, निजी क्षेत्रको पहल आवश्यक हुन्छ । विमानस्थललाई लक्षित गरेर विभिन्न व्यवसाय थालेका लगानीकर्ता पछिल्लो पटक हर्षित थिए । स्थानीय बासिन्दा उत्साहित छन् । विमानस्थल बनाउन आफ्नो जग्गा दिएका स्थानीय सबैभन्दा हर्षित छन् । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय उडान रोकिए पछि निजी क्षेत्र झस्किएको छ । सुरुमा भएको उत्साहमा केही निराशा पैदा भएको छ । उडान रोकिँदा व्यवसायीमा आशाबीचको निराशा पैदा भएको छ ।

खासमा हामीले विमानस्थललाई समृद्धिको ढोका मान्नुपर्ने हो । यसबाट धेरै फाइदा उठान सकिन्छ । तर, सुरुवातदेखिको योजना नै शंकाको घेरामा छ । विमानस्थलका लागि आवश्यक रुट भारतले दिएको छैन । विमानस्थलका अनुसार इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम (आइएलएस) अथार्त् थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान–अवतरण गर्न सकिने उपकरण संचालनमा छैन । यसका लागि पनि भारतको सहमति आवश्यक पर्छ । यी कुरामा जिम्मेवार निकायले किन सुरुमै भारतसँग कुरा गरेनन् ? भन्ने प्रश्न अहिले उठ्नु स्वभाविक हो । अर्कातर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण्लो नै गौतमबुद्ध विमानस्थल नियमित संचालनमा त्यति तदारुकता देखाउन नसकेको हो की भन्ने प्रश्न पनि छ ।

विमानस्थल संचालन हुँदा सबैभन्दा खुशी निजी क्षेत्र थियो । विमानस्थललाई लक्षित गरेर अर्बौं लगानी गरेका व्यवसायी व्यवसाय फस्ट्याउने भयो भनेर विमानस्थल संचालनमा आउँदा खुशी भएका हुन् । तर, व्यवसायीको खुशी भने पछिल्लो समय निराशामा बदिलिँदै गएको छ । विमानस्थल संचालनमा आएको ७ महिनामै अन्तर्राष्ट्रिय उडान रोकिएपछि अहिले यस क्षेत्रका व्यवसायी चिन्तित छन् । खराब मौसमले भिजिविलिट नपुगेको भन्दै यहाँबाट उडान गर्दै आएका दुई बायुसेवा कम्पनीले सेवा नै रोकेका छन् । उडान रोकिएपछि मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अहिले विजनेशबिहीन बनेको छ । कर्मचारी फुर्सदिला भएका छन् भने निजी क्षेत्र निराश छ । विमानस्थलमा २ सय बढी कर्मचारी कार्यरत छन् । अन्तर्राष्ट्रिय उडान नहुँदा उनीहरु फुर्सदमा भएका हुन् ।

विमानस्थल उद्घाटनकै दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले व्यवसायिक उडान सुरु गरेको थियो । त्यसपछि भैरहवाबाट उडान गर्न एक दर्जन विदेशी एयरलाइन्स इच्छुक रहेको भनियो । तर, विमानस्थल संचालनमा आएको ६ महिनापछि हिमालय एयरलाइन्सले बल्ल चार्टर्ड उडान सुरु गर्यो । अरु एयरलाइन्स भने आएनन् । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नै भैरहवाबाट सेवा सुरु नगर्दा विमानस्थलप्रति सरकारी नियती नै खोट हो की भन्ने अशंका छ । व्यवसायीले फूलफेजमा विमानस्थल संचालनको माग गरिरहँदा भएका सेवा पनि बन्द हुनु आफैमा दुःखद् विषय हो ।

विमानस्थल सुरु पछि दैनिक १० हजार पर्यटक भैरहवा ओलर्ने अपेक्षा थियो । यो अपेक्षा विमानस्थल संचालनमा आएको ७ महिनासम्म पूरा हुनु त टाढाको कुरा भएका सेवा पनि अबरुद्ध भए । यसले चिन्ता बढ्नु स्वभाविक हो । यद्यपि आत्तिहाल्ने अवस्था छैन । अझै पनि केही प्राविधिक समस्या समाधान गर्ने र भारतसँग गर्नुपर्ने सम्झौता र अनुमती लिने हो भने विमानस्थलको भविष्य राम्रो छ । केही गर्नै पर्दैन्, मात्रै बौद्धिष्ट मुलुकका पर्यटकलाई यहाँ ल्याउने वातावरण बनाउनुपर्छ ।

विमानस्थलबाट कनेक्टिभिटी बढाउनुपर्छ । भारतका विभिन्न प्रान्त, चीन, म्यानमार, थाइल्याण्ड, श्रीलंका, मलेशिया लगायतका देशमा सिधा उडान गर्न सक्ने हो भने विमानस्थलको भविष्य उज्वल छ । तर, दुर्भाग्य यसमा खासै पहल हुन सको छैन । यसै कारण व्यवसायी चिन्तित छन् । भैरहवाबासी निराश छन् । कनेक्टिभिटी बढ्दावित्तिकै पर्यटक आउने क्रम बढ्छ । यसले व्यवसायी र भैरहवाबासीलाई मात्रै होइन्, मुलुकलाई नै फाइदा दिन्छ ।

उद्घाटनयता जजिरा एयरलाइन्सले एक सय ५४ वटा उडान र अवतरण गरेको थियो । यसबाट ३१ हजार ६ सय यात्रुले सेवा पाएका थिए । बीचमा केही समय दैनिक उडान पनि गरेको थियो । पछि फेरि सातामा तीन दिन उडान भर्दै आएको थियो । जजिराले आफ्नो उडान अहिले काठमाडौं केन्द्रित गरेको छ । यसको मुख्य कारण भैरहवाको मौसम मानिएको छ । मुलुकले करिब ४३ अर्ब लगानी गरिएको विमानस्थल अहिले सुनसान छ । एउटा पनि अन्तर्राष्ट्रिय उडान छैनन् । चिन्ता बढेको छ, तर यसलाई आशामा बदल्न केही पहलकदमी भने जरुरी छ । साना कुराहरु पनि सुधार गर्दै लगे विमानस्थलले भविष्य सुन्दर छ भन्नेमा दुई मत छैन ।

विमानस्थल निर्माण सुरु भएदेखि नै व्यवसायीले होटल, ट्राभल, कृषि, उद्योग लगायतका क्षेत्रमा लगानी गरेका थिए । खासगरी पर्यटन क्षेत्रमा ह्वात्तै लगानी बढेको थियो । विमानस्थललाई लक्षित गरेर भैरहवा–लुम्बिनी क्षेत्रमामात्रै ७ वटा पाँचतारे होटल निर्माण भएका छन् । बुटवल, शंकरनगर, मणिग्राम, भलवारी, नवलपरासी, कपिलबस्तुमा पनि होटल निर्माणको कार्य तिब्र गतीमा छ । धेरैजसो संचालनमा आएको छन् । जता हेर्यो उतै होटलका निर्माणका अग्ला संरचना देखिन्छ । कसैले नयाँ पुरै संरचना बनाएका छन् । कतिपयले पहिलाको संरचनामा स्तरोन्नती गरेका छन् । संगसंगै हाउजिङ व्यवसाय पनि संचालनमा छ । लुम्बिनी क्षेत्रमा हाउजिङको निर्माण र लगानी नयाँ हो ।

अग्र्यानिक तरकारी र फलफूल खेती, व्यवसायिक माछा पालन, पशुपालनका लागि पनि बैंकको ऋण लिँदै भाडामा जमिन लिएर व्यवसाय संचालनमा छन् । विमानस्थलबाट आउने जाने पर्यटकको आवतजावतका लागि पर्यटकीय बस, ट्याक्सी, रेष्टुरेन्टमा उत्तिकै लगानी भएको छ । विमानस्थल बनाउँदा लागेको लगानी मात्रै होइन्, निजी क्षेत्रको लगानीलाई सुरक्षित गर्न पनि विमानस्थल पूर्ण क्षमतामा चल्नुपर्छ । बाह्य मुलुकसँगको सिधा कनेक्सनले पक्कै पनि लुम्बिनी क्षेत्रको समृद्धिलाई टेवा पुग्छ । पछिल्लो पटकको निराशालाई आशामा बदल्ने गरी सबै क्षेत्रले काम गर्न लाग्नुपर्छ ।