April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

‘भारी मतान्तरले हामीले निर्वाचन जित्छौं’

नेपाली काँग्रेसका युवा नेता प्रमोदकुमार यादव छोटो समयमा राजनीतिमा फड्को मारेका नेतामा पर्छन् । २०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट अत्यधिक मतसहित उनी निर्वाचित भएका थिए । परम्परागत मधेशवादी दलहरुले जित्दै आएको यो क्षेत्रमा काँग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भए पछि यादव राष्ट्रिय रुपमा एकाएक चर्चामा आए । मुसुक्क हाँसेर मिठो बोल्ने, कामप्रति बफादार र जिम्मेवार उनी युवादेखि पाकापुस्तासम्म परिचित छन् । जति परिचित छन्, उनलाई त्यति नै सबैले माया र सद्भाव पनि राख्छन् । छोटो समयमा राजनीतिमा फड्को मारेका यादव यसपटक पनि आगामी मंसिर ४ गते हुने निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेदवार छन् । मर्चवारलाई विकसित र नमूना बनाउने आफ्नो अठोट रहेको बताउने यादवसँग पब्लिक कुराका लागि प्रकाश न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

Advertisement

मतदान मिति आउन धेरै छैन । चुनाव प्रचार–प्रसारको काम कसरी अघि बढाइरहनुभएको छ ?
मैले अहिले घरदैलोलाई अन्तिमतिर लगेको छु । भोलिसम्म घर दैलो सकिन्छ । मेरो उद्देश्य सबैको घरमा पुगौं, आशीर्वाद ल्याऔं भन्ने हो । त्यो आशीर्वाद मैले पाइसकेको छु । हामीले यही शनिबार मात्रै नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा विशाल आमसभा पनि सम्पन्न गरिरहेका छौं । त्यहाँ हजारौं जनताको सहभागिता थियो । यसबाट म र नेपाली काँग्रेसलाई उत्साह थपिएको छ । अर्कातर्फ मैले क्षेत्र नम्बर ४ बासीलाई आफ्ना एजेन्डा बताउने काम गरिरहेको छु । विगतमा मैले गरेका काम सुनाइरहेको छु । त्यसबाट धेरैजना प्रभावित पनि हुनुभएको छ । विभिन्न ठाउँमा पुग्ने, सल्लाह–सुझाव लिने, साथै संघसंस्था, अगुवाहरु, समाजसेवीहरुसँग भेटेर सहयोग गर्न आग्रह गरिरहेको छु । सबैको माया, सद्भाव र सहयोग पाएको छु । मप्रति क्षेत्रबासी आशा, भरोसा र विश्वास पाएको छु ।

Advertisement

यहाँको उम्मेदवारी किन ?
समृद्ध क्षेत्र नम्बर ४, समृद्ध मर्चवार मेरो नारा हो । यही नारालाई सार्थकता दिन, जनताको विकासप्रतिको तीव्र चाहना पूरा गर्न पनि म उम्मेदवार बनेको हुँ । अर्कातर्फ नेपाली काँग्रेस लोकतन्त्र र प्रजातन्त्र विश्वास राख्छ । नीति, विचार र सिद्धान्त राम्रो छ । यसलाई जनता समक्ष लगेर कार्यान्वयन गर्ने र जनचाहना पूरा गर्ने मेरो लक्ष्य छ । मुलुकमा शान्ति, लोकतन्त्र, प्रजातन्त्र ल्याउने काँग्रेसले विकास र समृद्धिको पनि नेतृत्वको गरिरहेको छ । अर्कातर्फ क्षेत्र र प्रदेशको विकासमा मेरा अनुभवहरुलाई प्रयोग गर्न, विकास र जनजीविकाका सवालमा काम गर्न नै मेरो उम्मेदवारी हो । विगतमा मर्चवारका जनताले विकासको अनुभूति गर्न पाएनन् । यहाँबाट निर्वाचित सांसद र पटकपटक मन्त्री भएकाहरुले मर्चवारको स्थिति बदल्न लागेनन्, आफ्नो स्थिति बदलेर बसे । जब म २०७४ सालमा निर्वाचित भए, त्यसपछि क्षेत्रबासीले परिवर्तन र विकासको महसुस गरिरहेका छन् । म मर्चवारलाई हरेक दृष्टिकोणबाट विकसित बनाउन चाहन्छु । मेरो यो चाहनालाई मूर्तरुप दिन पनि म उम्मेदवार भएको हुँ ।

कस्ता एजेण्डा लिएर मतदाता समक्ष जानुभएको छ ?
मूलतः मर्चवारको समस्या भनेको शिक्षा र स्वास्थ्य हो । त्यसपछि पूर्वाधार विकास, मानवीय विकास, सिंचाईं, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण, बालविबाह, समाजिक कुरीति तथा रितिरिवाज, बेरोजगार आदि यहाँका समस्या हुन् । यी समास्या समाधान गर्ने मेरो लक्ष्य । शिक्षा र स्वास्थ्यका लागि आउने पाँच वर्षभित्र पर्याप्त पूर्वाधार बनाइने छ । मानिसको जिविका परिवर्तनका लागि सम्भावनाहरुको खोजि गरी कार्यान्वयन गरिने छ । सचेतना, छोरी शिक्षा, रोजगारी सिर्जनामा ध्यान दिनेछु । खासगरी सिंचाईलाई व्यवस्थित गरी उत्पादन बृद्धि गरेर आत्मनिर्भर क्षेत्रबासी बनाउन पहल गर्ने छु । कृषिमा व्यवसायीकरण भयो, मलबीउ समयै उपलब्ध गराउन सकियो भने धेरैजनाले व्यवासयिक कृषि खेती गर्नुहुने छ, यसले धेरै कुराहरुमा परिवर्तन ल्याउने छ । ठूला र पूर्वाधार विकासमा क्षेत्र नम्बर ४ लाई जिल्लामै नमूना बनाउने मेरो लक्षय हो । यी कुरा पूरा गर्ने बाचासाथ मतदातासमक्षा गइरहेको छु ।

तपाईं जस्ता धेरै जना यो क्षेत्रबाट उम्मेदवार बन्नुभएको छ । तर, यहाँलाई नै मतदाताले किन चुन्ने ?
छोटो अवधिमा मैले क्षेत्रमा गरेका कामले मलाई आम मतदाताले विजयी बनाउनुहुन्छ भन्ने हो । अर्कातर्फ म युवा हुँ, हरेक दुःखसुखमा जनतासँगै छु । युवाले पाए गर्छन् भन्ने धेरै उदाहरण छन् । अब निर्वाचन पछि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्छ । देशभर उम्मेदवार समेत उठाउन नसक्ने पार्टीको सरकार बन्ने कुरै भएन । उनीहरुले सरकार बनाउँछन् र विकास गर्छन् भन्ने विश्वास मर्चवारबासीलाई पनि छैन । मेरो प्रतिस्पर्धीलाई यहाँका जनताले चिनिसकेका छन्, उहाँहरुको काम नै सत्तामा जाने र आफ्नो पेट भर्ने जनतालाई भोकभोकै राख्ने हो । मन्त्री हुँदा मर्चवारमा एउटा योजनासमेत ल्याउन नसक्नेले अब बृद्धाभत्ता खानेबेला विकास गर्छन् की भनेर आशा गर्नु नै राम्रो होइन जस्तो मलाई लाग्छ । म निर्वाचित भएपछि एमालेको नेतृत्वमा सरकार बन्यो । एमालले मर्चवारबार कुनै योजना पार्न दिएन । पछिल्लो समय काँग्रेस नेतृत्वमा गठबन्धन सरकार छ । यो सरकार बनेपछि मर्चवारले परिवर्तको महसुस गर्न थालेको छ । हामीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा केही योजना पारेका छौं । अब क्षेत्रलाई विकासको दु्रत गतिमा अघि बढाउन पनि मलाई मतदाताले चुन्नुपर्छ भन्ने लाग्छ । अर्कातर्फ बिगतका दिनमा यस क्षेत्रमा मैले गरेका सामाजिक तथा अन्य कामहरु हुन् । मलाई लाग्छ यहाँका मतदाताले मेरा कामको सही मूल्यांकन गर्नुहुनेछ । मेरा एजेण्डाको अध्ययन गर्नुहुनेछ । मेरा स्पष्ट नीति र योजनाहरु छन् । यहाँको समस्यासँग परिचित छु । मैले सकिने योजना ल्याएर अघि बढिरहेको छु । यसै कारण पनि आम क्षेत्रबासीले मलाई अत्यधिक मतले विजयी गराउनुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।

घरदैलोमा जाँदा के भनिरहेका छन् मतदाता ? यहाँबाट कस्तो अपेक्षा राखेका छन् ?
तपाईं युवा हो । तपाईंबाट हामीले धेरै आशा गरेका छौं । हाम्रो आशालाई निराशा हुन् नदिनु भन्ने धेरैजनाले भन्नुभएको छ । कतिपयले आफ्नो व्यक्तिगत, सामाजिक समास्या पनि राख्नुभएको छ । मैले अघि सारेका एजेण्डाहरुलाई पूरा गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ । समग्रमा भन्दा क्षेत्रबासी मेरो उम्मेदवारीबाट उत्साहित हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताउन तयारी अवस्थामा बस्नुभएको छ । म र काँग्रेसप्रति क्षेत्रबासीले राखेको अपेक्षामा मैले कहिल्यै कमी आउन दिने छैन ।

यहाँलाई कस्तो लाग्छ, यसपटक दलीय आधारमा मतदाताले मतदान गर्लान की एजेण्डा र विगतको कामलाई मूल्यांकन गरेर ?
ठाउँ र परिवेश अनुसार फरक हुनसक्छ । तर, क्षेत्र नम्बर ४ बासीले यी तीनवटै कुरालाई हेरेर मतदान गर्नुहुने छ । दलीय आधार, एजेण्डा र विगतको कामको मूल्यांकन गर्दा पनि काँग्रेस अगाडि छ । त्यसैले सबैले रुख चिन्हमा मतदान गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु । हाम्रा एजेण्डा राम्रा छन्, हामीले विगतमा काम गरेर देखाएका पनि छौं ।

यहाँले आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई देख्नुभएको छ ?
हामीले गरेको काम, एजेण्डा, राष्ट्र र राष्ट्रियताको सवालमा मेरा कोही पनि प्रतिस्पर्धी नै छैन । तर, निर्वाचनमा उत्रिएपछि प्रतिस्पर्धा त भइहाल्छ । प्रतिस्पर्धा भए पनि ठूलो मतान्तरमा हुन्छ । हामी सबै हिसावले धेरै मतले अगाडि छौं । यसपटक हामी दोब्बर मतले निर्वाच्न जित्दै छौं । प्रतिनिधिसभामा मैले, प्रदेशसभा ४ (१) र ४ (२) मा क्रमश अष्टभुजा पाठक र वसिउद्दिन खाँनले भारी मतले जित्नुहुन्छ । यसमा कुनै शंका छैन । किनभने हाम्रो प्रतिस्पर्धी लामो समय निर्वाचन लड्दै आएका छन् । तर, उनीहरुले मर्चवारको विकासमा ध्यान नै दिएनन्, त्यसैले मर्चवार समृद्ध भएन । सबै मतदातालाई थाहा भइसक्यो की काँग्रेसले मात्रै मर्चवारको विकास गर्छ, यसका लागि हामीले हाम्रा सच्चा प्रतिनिधि प्रमोद यादव, अष्टभुजा पाठक र वसिउद्दिन खाँनलाई जिताउनै पर्छ भन्ने जनमानमा छ ।

अन्त्यमा, यहाँले मंसिर ४ पछिको परिदृश्य कस्तो देख्नुहुन्छ ?
समग्र मुलुकमा काँग्रेस बहुमतका साथ विजयी हुन्छ । क्षेत्र नम्बर ४ मा म लगायत प्रदेशसभाका दुबैजना साथीहरु विजयी हुन्छौं । काँग्रेसले संघ र प्रदेश सरकारको नेतृत्व गर्छ । मुलुकको आर्थिक विकास र समृद्धिमा ध्यान दिन्छ । जनतालाई सुखशान्ति, रोजगारी, शिक्षा, स्वास्थ्य, विकासको अनुभूत गराउँछ । मर्चवार र क्षेत्र नम्बर ४ को विकासमा हामी लाग्छौं । त्यसैले सबैजनाले रुखमा भोट हाल्नुस्, काँग्रेसलाई ढुक्क भएर जिताउनुस् भन्न चाहन्छु ।